देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी महानिरिक्षकको छिनोफानो आज

देशान्तर

काठमाडौं । लामो समयदेखिको रस्साकस्सी र अड्कलव्बाजीपछि कुनै भवितव्य र आकस्मिक कारण उत्पन्न नभएमा सरकारले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भावी आईजीपीको चयन गर्दैछ । अघिल्लै साता चयन गर्नुपर्ने भएपनि सरकारमा बसेको सत्तारूढ दलभित्रै नेपाल प्रहरीमा कसलाई आईजीपी बनाउने भन्नेमा विवाद चर्किएपछि सरकार अनिर्णित बन्यो । तर अब गृह मन्त्रालय सम्हालिरहेको दल नेपाली कांग्रेसभित्र नेपाल प्रहरीको आईजीपी कसलाई बनाउने भन्नेमा सहमति जुटिसकेकाले प्रधानमन्त्री प्रचण्डले आनाकानी नगरेमा आजै मन्त्रिपरिषद्को बैठक डाकेर निर्णय गरिने सम्भावना प्रबल रहेको गृह स्रोतले बतायो । 

सरकारले आज आईजीपी नियुक्त गर्न नसके कुनै एक वरिष्ठ प्रहरी अधिकारीलाई कामु आईजीपी बनाउनुपर्ने हुन्छ । स्रोतका अनुसार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भावी आईजीपीको नामसहित मन्त्रिपरिषद् लाने प्रस्ताव तयार पार्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिइसकेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भावी आईजीपी नियुक्तिको निर्णय आजै हुने सम्भावना रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आनाकानी नगरेमा आजै मन्त्रिपरिषद् बैठक बसी आईजीपीहरूको छिनोफानो हुने स्रोतको दाबी छ । 

गृहमन्त्री निधि नेपाल प्रहरीमा बहालवाला डीआईजीहरूमध्येबाट एक नम्बर वरीयतामा रहेका नवराज सिलवाललाई आईजीपी नियुक्त गर्ने पक्षमा रहेका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले वरियतामा तेस्रो नम्बरमा रहेका अर्का डीआईजी जयबहादुर चन्दलाई बनाउनुपर्ने अडान लिएपछि अन्त्यमा निधिले चन्दकै नाम राखेर प्रस्ताव तयार गर्न सचिवलाई निर्देशन दिएको स्रोतले बतायो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डीआईजी नवराज सिलवालको पक्षमा उभिँदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हटेका हुन् । निधि सिलवाललाई आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । तर देउवाले कुनै हालतमा चन्दलाई आईजीपी बनाउनु पर्ने नभए पदबाट राजीनामा दिन चेतावनी दिएपछि आफ्नो अडानबाट निधि पछि हटेको बताइन्छ । 
देउवाले यही माघ १९ गते बसेको नेपाली कांग्रेसका पदाधिकारी तथा मुख्य नेताहरूको अनौपचारिक बैठकमा समेत चन्दलाई आईजीपी बनाउनुपर्ने प्रस्ताव अघि सारेका थिए । त्यसमा अन्य पदाधिकारीले समर्थन जनाए पनि निधिले विरोध गरेपछि देउवा उनीसित खरो रूपमा प्रस्तुत भएका हुन् । उक्त बैठकमा कांग्रेस महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवालाई साथ दिएका थिए ।  

उता प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सिलवालकै पक्षमा उभिएपछि देउवाले उनलाई पनि गृह मन्त्रालयको प्रस्तावमा तलमाथि नगर्न सुझाव दिएको बुझिएको छ । देउवाले सशस्त्रको आईजीपीमा प्रधानमन्त्रीले आफ्नो रोजाइको व्यक्ति छाने पनि नेपाल प्रहरीमा आफूले भनेको हुनुपर्ने अडान राखेका छन् । त्यसैले आज मन्त्रिपरिषद् बैठक बसेमा नेपाल प्रहरीमा चन्द र सशस्त्रमा वरीयतामा वरिष्ठ रहेका एआईजी सिंहबहादुर श्रेष्ठलाई आईजीपी नियुक्ति गर्ने सम्भावना रहेको स्रोतले बतायो । 

कांग्रेसभित्र आईजीपी नियुक्तिको विषयलाई लिएर सभापति र गृहमन्त्रीबीच विवाद चर्किएपछि बिहीबार बिहान देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका पदाधिकारीसहित प्रभावशाली नेताहरूले निधिलाई सभापतिको खिलापमा नजान सुझाव दिएका थिए । उक्त सुझावपछि निधि पनि कन्भिन्स भएका हुन् । 

नेपाल प्रहरीको वरीयता क्रममा डीआईजी नवराज सिलवाल पहिलो, प्रकाश अर्याल दोस्रो, जयबहादुर चन्द तेस्रो र बमबहादुर भण्डारी चौथो नम्बरमा छन् । वरीयतामा जे भए पनि प्रहरी नियमावलीअनुसार सरकारले चाहेको कुनै एकलाई आईजीपी बनाउन सक्नेछ । वरिष्ठलाई नै आईजीपी बनाउनुपर्छ भन्ने बाध्यता सरकारलाई छैन ।
बरियतामा सबैभन्दा माथि रहेका सिलवाल प्रचण्ड र निधिको मात्रै भर पर्दा चन्दले बाजि मार्ने स्थिती बनेको हो । गृहमन्त्रालय निधिले सम्हालेपनि उनी कांग्रेसको तर्फबाट मन्त्री बनेको ख्याल सिलवालले गरेनन् ।

उनी निधि र प्रचण्डको आश्वासन पछि ढुक्क बने जसले गर्दा कांग्रेस सभापति देउवालाई भेट गर्न समेत उनले उचित ठानेनन् । कांग्रेस सांसद् उमेश श्रेष्ठमार्फत देउवालाई आफ्नो पक्षमा कन्भीन्स गर्ने प्रयत्न गरेपनि त्यसले काम गर्न सकेन । स्रोतका अनुसार सिलवालले आफ्नो पल्ला कमजोर भएपछि हिजो शनिबार देउवालाई भेट्ने प्रयत्न गरे । तर त्यसले मुर्त रुपमा पाउन सकेन । देउवाले सिलवाललाई फुर्सद छैन भन्दै भेट टारेको स्रोतले बतायो ।    

सर्वोच्चमा रिट
यसैबीच अधिवक्ता कपिलदेव भट्टले सरकारले वरीयतामा कनिष्ठलाई प्रहरीको आईजीपी नियुक्त गर्न लागेको भन्दै त्यसका विरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्चले उक्त रिटमाथि आज सुनुवाइ गर्दैछ । रिटमा वरिष्ठता, योग्यता र प्रचलित विधि प्रक्रिया मिचेर प्रहरी प्रमुख नियुक्त गर्न नहुने उल्लेख छ । तर सरकारले आईजीपीबारे निर्णय नै नगरिसकेको अवस्थामा सर्वोच्चले उक्त रिटले मागेबमोजिमको आदेश दिन नमिल्ने कानुनविद्हरूको भनाइ छ । 

यसैबीच सशस्त्र प्रहरीको नयाँ आईजीपीमा वरीयतामा वरिष्ठ रहेका सिंहबहादुर श्रेष्ठको नाममा विवाद नरहेकाले उनको नियुक्ति प्राय: निश्चित रहेको बताइन्छ । सशस्त्रमा एआईजीहरूमध्ये सिंहबहादुर श्रेष्ठ पहिलो, प्रेम शाही दोस्रो र प्रकाश ओझा तेस्रो वरीयतामा छन् । सशस्त्रको आईजी दुर्जकुमार राईले पनि आगामी फागुन २ गतेबाट अवकाश पाउँदैछन् ।

 

]]>