देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडेल पक्षको सहयोगमा अजय द्धवेदी पर्सा कांग्रेसको सभापति

देशान्तर

वीरगन्ज । पर्सामा नेपाली कांग्रेसको १३औं जिल्ला अधिवेशनबाट पूर्वसभासद् अजयकुमार द्विवेदी दोस्रो चरणको निर्वाचनबाट सभापतिमा निर्वाचित भएका छन् । यसअघि दुईपटक जिल्ला सभापति भएर काम गरिसकेका द्विवेदीले जिल्ला विकास समितिका पूर्वसभापति जनार्दनसिंह क्षेत्रीलाई एक सय ९५ मतले पराजित गर्दै सभापति बनेका हुन् । बिहीबार पहिलो चरणको मतदानबाट कुनै एउटा उम्मेदवारले ५१ प्रतिशत मत हासिल गर्न नसकेपछि शुक्रबार भएको देस्रो मतदानमा द्विवेदीले पाँच सय ५० मत ल्याए भने क्षेत्रीले तीन सय ५५ ल्याएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता देवेन्द्र कोइरालाले बताए । 

पहिलो चरणमा द्विवेदी र क्षेत्रीसँगै अर्का नेता वशिष्ठनारायण कुर्मीले प्रतिस्पर्धा गर्दा कसैको पनि ५१ प्रतिशत बहुमत नआएपछि पार्टीको विधानअनुसार शु्क्रबार दोस्रो मतदान गरिएको थियो । नेपाली कांग्रेसबाट अलग्गिएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिक गठन हुँदा द्विवेदी पर्सा सभापति भए । पछि पार्टी एकीकरण हुँदा पनि उनी सभापति भएका थिए । 

१२औं अधिवेशनमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद चौधरीबाट द्विवेदी पराजित भएका थिए । लगत्तै उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि पर्सा २ बाट आफूले पहिलो संविधानसभामा जितेको सभासद्को सिट गुमाएका थिए । कांग्रेस केन्द्रीय सदस्य अजय चौरसियाको साथ पाउँदै आएका द्विवेदीलाई दुई दिन अगाडि नै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता रहेका पूर्वजिल्ला पार्टी सभापति सांसद राजेन्द्रबहादुर अमात्यले समर्थन जनाइसकेका थिए भने शुक्रबार मतदान भइरहँदा निवर्तमान सभापति चौधरीले पनि समर्थन गरेका थिए । 

सचिवमा द्विवेदी पक्षकै किशोरीप्रसाद कानू विजयी भएका छन् भने वशिष्ठनारायणा कुर्मी पक्षबाट कोषाध्यक्षमा तीन सय १३ मत ल्याएर इम्तियाज आलम विजयी भएको निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए । यसैगरी, क्षेत्र नं १, २ र ३ मा विजयी भएका १५ जना सदस्यहरू द्विवेदी पक्षकै रहेका छन् । निर्वाचन क्षेत्र नं १ का महिला सदस्यमा भवानी घिमिरे, पुरुष सदस्यहरूमा महम्मद सहाबुद्दीन, दिना गुप्ता, प्रेमशंकर सिंह, रोशन लामिछाने, निर्वाचन क्षेत्र नं २ बाट ब्रह्मदेवप्रसाद कुर्मी, रामबाबुप्रसाद कुर्मी, जाकिर हुसैन, वीरेन्द्र यादव, निर्मलादेवी सिंह, क्षेत्र नं ३ बाट राजेश्वर यादव, राजेन्द्र यादव, सुकमान तमाङ, नितेन्द्र साह, मीना पाण्डे, क्षेत्र नं ४ बाट कृष्ण चौहान, ढेडी यादव, भगवती चौधरी, शैलेन्द्रकुमार यादव, लक्ष्मिनादेवी रौनीयार र क्षेत्र नं ५ बाट रामबहादुर श्रेष्ठ, वीरेन्द्र यादव, प्रेमबहादुर थापा, श्यामकिशोर कुर्मी र रामपति पासवान विजयी भएका छन् । 

 

]]>