देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी कमाण्डमा पनि कुशल ठहरिए डा. पोखरेल

देशान्तर

काठमाडौं । इतिहासमा पहिलो पटक नेपाल प्रहरीको कमान्ड कुनै प्राविधिक अफिसरको हातमा पुगेको छ । नयाँ प्रमुुख नियुक्त गर्ने सरकारको निर्णय न्यायिक परीक्षणमा पुगेपछि नेपाल प्रहरीको कमान्ड अकस्मात नेपाल प्रहरीका प्राविधिक एआईजी डा. दिनेशचन्द्र पोखरेलको हातमा पुगेको हो । गत आइतबार सरकारले डीआईजी जयबहादुर चन्दलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गर्‍यो । तर २४ घन्टा बित्न नपाउँदै सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्नू भन्ने आदेश दियो । त्यसपछि प्रहरीको नेतृत्व कसलाई दिने भन्नेमा सरकार असमञ्जस्यमा पर्‍यो । प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकाश पाएपछि सरकारले कुनै न कुनै वरिष्ठ प्रहरी अधिकृतलाई निमित्त आईजीपीको जिम्मेवारी दिनैपर्ने बाध्यता थियो । यो बाध्यताबाट उम्कने सजिलो बाटो बने प्रहरी अस्पतालका प्रमुख एआईजी डा. पोखरेल । 

डा. पोखरेललाई सरकारले प्रहरी नियमावली संशोधन गरेरै निमित्त आईजीपीको जिम्मेवारी दियो, जुन पोखरेल स्वयंले नचिताएको कुरा थियो । अब कम्तीमा पनि डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चको फैसला नआउँदासम्म नेपाल प्रहरीको कमान्ड पोखरेलकै काँधमा रहने निश्चित छ । सर्वोच्चले उक्त रिटमाथिको सुनुवाइ आजदेखि प्रारम्भ गर्दैछ । प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले कस्तो फैसला गर्ला यसै भन्न सकिने अवस्था छैन । तर यदि जयबहादुर चन्दको नियुक्ति बदर भएर वरिष्ठताको आधारमा नियुक्ति गर्नु भन्ने आदेश आएमा त्यतिबेला फेरि डा. दिनेशले नै निरन्तरता पाउने त होइनन् भन्ने अडकलवाजी सुरु भएको छ । 

प्राविधिकलाई पनि आईजीपी बनाउन मिल्ने गरी नियमावली संशोधन भइसकेको अवस्थामा सर्वोच्चले वरिष्ठलाई गर्नू भन्ने आदेश दिएमा त्यसले पोखरेललाई नै प्रहरीको कमान्ड निरन्तर सम्हाल्ने बाटो  भने खुला गर्नेछ । त्यसबेलामा सरकारले चाहेमा उनी पूरा कार्यकाल आइजिपी नहोलान भन्न सकिन्न । किनभने यतिबेला उनीभन्दा वरिष्ठ अधिकारी नेपाल प्रहरीमा अरू छैनन् । तर बिरामीको उपचारमा रमाउने पोखरेलले पूरा कार्यकाल प्रहरीको कमाण्ड सम्हाल्ने इच्छा राख्लान् भन्नेमा चाहिँ धेरैलाई विश्वास छैन । उनले आफ्नो निजी क्लिनिकबाट ९ गतेसम्मको लागिमात्रै बिदा लिएका छन् । यसबाट पनि थाहा हुन्छ उनी आफै सर्वोच्चको फैसलापछि पुरानै जिम्मेवारीमा फर्किने सुरमा छन् । तर, प्रहरीको कमान्ड सम्हालेको एक साताको अवधिमा पोखरेलले जुन कुशलता प्रदर्शन गरेका छन् त्यसबाट उनी आईजीपीको काम, कर्तव्य निर्वाह गर्न सक्षम छन् भन्ने चाहिँ साबित भइसकेको छ । 

दैनिक १६ घन्टा बिरामीको उपचारमा खटिँदै आएका पोखरेल प्रहरीको कमान्डमा पनि त्यत्तिकै दत्तचित्त भएर लागिरहेका छन् । निमित्तको जिम्मेवारी पाएलगत्तै आफू मातहतका प्रहरी अधिकारीहरुलाई उनले जसरी निर्देशन दिए त्यसबेलै उनले आफ्नो सक्षम नेतृत्वको परिचय दिएको जानकारहरु बताउछन् । विषम परिस्थितिमा अप्रत्याशित रुपमा जिम्मेवारी आइलागे पनि उनले प्रहरीको मनोबल गिर्न दिएका छैनन् भने चेन अफ कमान्ड पनि सबल बनाएर राखेका छन् । 

 

]]>