देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वका लागि आज मतदान

देशान्तर

काठमाडौं ।  राष्ट्रिय प्रजातान्त्र पार्टी राप्रपाको जारी महाधिवेशन अन्तर्गत आज अध्यक्ष पदको लागि मतदान हुदैंछ । वर्तमान अध्यक्ष कमल थापा बलिया प्रतिस्पर्धीलाई रोक्न सफल भए पनि राप्रपामा अध्यक्षको सर्वसम्मत उम्मेदवार बन्न भने सकेनन् । अध्यक्षमा दाबी गरिरहेका डा. प्रकाशचन्द्र लोहनीले अन्तिममा उम्मेदवारी दिएनन् । तर, अर्का एक जिल्ला तहका नेताका कारण थापा सर्वसम्मत उम्मेदवार बन्न भने सकेनन् ।

काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष प्रदीपविक्रम राणाले आइतबार दिउँसो सवा २ बजे अध्यक्षमा उम्मेदवारी दर्ता गराएपछि अध्यक्ष थापाले साढे ३ बजे उम्मेदवारी दर्ता गराए । तर, आइतबार रातिसम्म उम्मेदवारमाथिको दाबी–विरोधदेखि अन्तिम सूची प्रकाशनको समय सोमबारसम्मलाई सारिएकाले थापा सर्वसम्मत उम्मेदवार हुने सम्भावना भने टरेको छैन । राणालाई उम्मेदवारी फिर्ताका लागि मनाउन प्रयास भइरहेको छ । गत बुधबार लोकेन्द्रबहादुर चन्दको निवासमा थापा, लोहनी, पशुपतिशमशेर राणाबीच थापालाई नै सर्वसम्मत अध्यक्ष मान्ने सहमति भएको थियो ।  

थापाविरुद्ध उम्मेदवारी दिने राणा काठमाडौं क्षेत्र नम्बर ७ का अध्यक्ष हुन् । लोहनी, राणा पक्षका केही नेता–कार्यकर्ताको साथ र सहयोग भने उम्मेदवार राणालाई भएको बुझिएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष थापाले आदेश दिएर बन्दसत्रबाटै निकाल्न लगाएपछि प्रतिशोधमा उनले उम्मेदवारी दर्ता गराएको राप्रपाका एक नेताले बताए । तीन हजार दुई सय ८६ मतदाता सूची सार्वजनिक गरेको राप्रपामा एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि सोमबार दिउँसोबाट मतदान हुनेछ ।

सोमबार बिहान उम्मेदवारमाथि दाबी–विरोध, उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनको काम गरेर भोटिङ मेसिनमा गोलाप्रथाबाट मिलाउनेजस्ता काम गरिने बताइएको छ । त्यसपछि सोमबार दिउँसोबाट मतदान सुरु हुने श्रेष्ठको भनाइ छ । सोमवार सकिनुपर्ने महाधिवेशन भने एक दिन लम्बिने भएको छ । केन्द्रीय सदस्यका लागि सेलेब्रिटीहरू कोमल वली, रेखा थापासम्मले उम्मेदवारी दिएका छन् ।

यसअघि दुवै राप्रपामा रहेका वरिष्ठ नेताहरूले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । ९८ केन्द्रीय सदस्यका लागि तीन सय ६३ जनाले उम्मेदवारी दर्ता गराएपछि निर्वाचन समितिले गोलाप्रथाबाट उम्मेदवारको सूची टुंग्याएको छ । विद्युतीय मेसिनबाट चुनाव हुने भएकाले नाम पहिले राख्ने भन्ने विवाद नआओस् भनेर गोलाप्रथाबाट सूची तय गरिएको नेता सुरेश आचार्यले जानकारी दिए । नयाँ पत्रिका दैनिकमा समाचार छ । 

]]>