देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा महेन्द्रकालीन राष्ट्रवाद हावी : कांग्रेस महामन्त्री

देशान्तर

वीरगन्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले एमालेमा महेन्द्रकालीन राष्ट्रवादको हावी भएको बताएका छन् । उनले एमालेको महेन्द्रकालीन राष्ट्रवादका कारण मुलुकमा समस्या सिर्जना भएको बताए । वीरगन्जमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले पञ्चायतको बेलामा अधिकांश अञ्चलाधीशहरू बहुदल आएपछि एमालेमा प्रवेश गरेका कारण अहिले एमालेमा महेन्द्रकालीन राष्ट्रवाद हाबी भएको स्पष्ट पारे । उनले भने— ‘पञ्चायतकालमा नेपाली कांग्रेसलाई अराष्ट्रियतत्व भन्ने गरिन्थ्यो । अहिले एमालेमा त्यही विचारको हावी भएको छ । पञ्चायतकालका अधिकांश अञ्चलाधीशहरू अहिले एमालेमा छन् । उनीहरूको स्कुलिङका कारण एमालेमा अहिले महेन्द्रकालीन राष्ट्रवाद हावी भएको हो ।’ 

महामन्त्री कोइरालाले पञ्चायतकालमा समेत तिनै अञ्चलाधीशका कारण कम्युनिस्टहरू सुरक्षित र नेपाली कांग्रेसका नेता, कार्यकर्ता असुरक्षित हुनु परेको समेत स्मरण गरे । उनले अहिले मधेसलाई राष्ट्रियता विरोधी देखाउने कामसमेत एमालेले पञ्चायतका अञ्चलाधीशहरूको विचारबाट निर्देशित भएको भन्ने गरेको बताए । महामन्त्री कोइरालाले एमालेले नक्कली राष्ट्रवादको खोल ओढेर मधेसको समस्या चर्काउनका लागि लागेको आरोप लगाए । कोइरालाले मधेसी दलहरूले पनि यो कुरा बुझेको भन्दै मुलुकको समस्या समाधान गर्नका लागि तयार हुनुपर्ने बताए । 

जननायक बीपी कोइरालाका कान्छा सुपुत्र महामन्त्री डा.शशांकले बीपी कोइरालाले अगाडि सारेको मेलमिलापको नीति अहिले पनि उत्तिकै रहेको बताए । महामन्त्री कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नका लागि आफूले सभापतिलाई पटकपटक आग्रह गरेको बताउँदै छिट्टै पार्टीले पूर्णता पाउने बताए । नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा अजय चौरासिया, संसद राजेन्द्रबहादुर अमात्य, पूर्वसांसद अजय द्विवेदी, ओमप्रकाश शर्मालगायतको उपस्थिति थियो । 

यसैबीच, महामन्त्री कोइरालाले राष्ट्रिय मेलमिलाप दिवसका दिनमा बीपी चिन्तन प्रतिष्ठानले बनाउन लागेको बीपी आश्रमको एक कार्यक्रमका बीचमा शिलान्यास गरे । प्रतिष्ठानले देशभर बीपी आश्रम बनाउने योजना अगाडि सारेको छ । पर्साका बीपी आश्रमका लागि प्रतिष्ठानका केन्द्रीय सदस्य राजकृष्ण अमात्यले आफ्नै निवास नजिक जग्गा दान दिएका थिए । सोही जग्गामा आश्रम बनाउनका लागि महामन्त्री कोइरालाले शिलान्यास गरे । यो आश्रम बनाउनका लागि पहिलो शिलान्यास हो । 

 

]]>