देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सबै दलको सहमतिमै संशोधन प्रस्ताव पारित हुन्छ: देउवा

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक सबै दलको सहमतिमा पारित हुने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै आज सभापति देउवाले छिट्टै संसद्को गतिरोध अन्त्य हुने र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत सबै दलको सहमतिमा संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गरे ।

संसद्मा पेस भएको संशोधन विधेयक जस्ताको त्यस्तै पारित हुनेमा जोड दिँदै उनले भने, “जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्न दलहरुबीच सहमति, सहकार्य र एकता अनिवार्य छ ।”

सभापति देउवाले राजनीतिक गतिरोध अन्त्य गर्न सर्वोच्च अदालतको फैसलाले सकारात्मक भूमिका खेलेको भन्दै संसद्को आगामी बैठक सुचारु गर्न एमाले सहमत हुने आशा व्यक्त गरे । आगामी वैशाखसम्म स्थानीय तह वा स्थानीय निकाय जुन भए पनि निर्वाचन हुने दाबी गर्दै उनले २०७४ मङ्सिरसम्ममा तीनवटै निर्वाचन गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा सभापति देउवाले छिट्टै पार्टीका केन्द्रीय विभाग गठन हुने र पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने जानकारी गराए ।

उनले निर्वाचनको तयारीका लागि सबै केन्द्रीय सदस्यलाई जिल्ला पठाइसकेको बताउँदै त्यसपछि सबै भ्रातृ संस्थालाई परिचालन गरिने धारणा व्यक्त गरे ।

]]>