देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ​ आन्तरिक उडानमा संसारकै महँगो भाडा

देशान्तर

काठमाडौं । नेपालमा आन्तरिक उडान भर्ने हवाई सेवा कम्पनीहरूले यात्रुहरूलाई तल्लोस्तरको सेवा दिए  पनि भाडा भने मनलाग्दी लिइरहेका छन् । प्राय: आकस्मिक यात्राको सारथि बन्ने हवाईसेवा कतिपय विकट जिल्लाहरूको लागि अनिवार्य माध्यम पनि हो । तर यस्तो सार्वजनिक सरोकारको सवालमा सेवा सञ्चालकहरूले भने यात्रुहरूलाई सेवा र सुविधाभन्दा पनि चर्को भाडामात्र असुल्ने काम गरिरहेका छन् ।

सधैं उडान डिले
जहाजबाट यात्रा गर्नु केहीको बाध्यता, केहीको आकस्मिकता पनि हो तर हवाईसेवा सञ्चालकहरूले यसको मर्ममाथि सिधै प्रहार गरेर केवल पैसा कमाउने बाटोमा मात्र केन्द्रित भएका छन् । त्रिभुवन विमानस्थलबाट विभिन्न ठाउँमा जानको लागि आन्तरिक टर्मिनलमा सधैं यात्रुहरूको जाम हुने गर्छ । यसबाट पनि थाहा हुन्छ कि आन्तरिक उडानहरू कहिलै पनि सेड्युल अनुसार उड्दैनन् । टर्मिनलमा काम गर्ने एक अधिकारीका अनुसार समयमै आन्तरिक उडान भएको बिरलै मात्र हुन्छ । उनले औसत उडानहरू दुई घन्टा ढिला हुने गरेको जानकारी दिए । 

तर सेवा सञ्चालकहरू भने विमानस्थल प्रशासन र मौसमलाई मात्र दोष दिएर पन्छिन खोज्छन् । उनीहहरूका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने एयर ट्राफिकजामको कारण ढिला हुने गरेको छ । तर अन्तर्राष्ट्रिय उडानहरू प्राय: समयमै हुने गरे पनि आन्तरिक उडानमात्र किन ढिला ? दिउँसो २ बजेको उडान भनेर विमानस्थल पुगेका यात्रुहरू ५ बजेसम्म पनि उडान नभएर हाइ काढेर बस्ने गरेको र त्यही नियतिमात्र हेरेर बस्ने विमानस्थल वा नागरिक उड्डयन प्राधिकरणले नियमन गर्नु पर्दैन ? 

यसरी हुँदोरहेछ सधैं डिले
अधिकांश हवाईसेवा सञ्चालकहरूले माउन्टेन फ्लाइट गर्छन् जुन बिहानको समयमा मात्र हुन्छ । पहाडी क्षेत्रमा बिहानै मौसम नखुल्ने भएकाले १ देखि २ घन्टासम्म ढिला हुन्छ । जसले गर्दा दिनभरको उडान प्रभावित हुने गरेको विमानस्थलका एक अधिकारीले बताए । यस्तो किन हुने रहेछ भने एउटै जहाजबाट मााउन्टेन फ्लाइटदेखि नियमित उडानसम्म गर्नुपर्ने रहेछ । जसको कारण यस्तो हुने गरेको र माउन्टेन फ्लाइटको लागि छुट्टै जहाज नहुन्जेल यो समस्या यथावत् रहने बताइन्छ । 

तर विमानसेवा सञ्चालकहरू भने यो मान्न तयार छैनन् । उनीहरू मौसम र हवाई विमानस्थलको जामलाई कारक मान्छन् । उनीहरूका अनुसार हिउँदको समयमा तराईमा लाग्ने हुस्सु र वर्षाको समयमा पहाडमा लाग्ने कुहिरो नै मुख्य बाधक भएको उनीहरूको भनाइ छ । 

चर्को भाडा
सुविधा भने सधैं यात्रुहरूलाई कुराएर कहिल्यै समयमा नउडाउने यिनै एयरलाइन्सहरूले भाडा भने चर्को असुल्ने गरेका छन् । काठमाडौंबाट जम्मा २० मिनेटको हवाई दूरी भएको चितवनको भरतपुर जानको लागि तीन हजार पाँच सय रुपैयाँ असुल गर्ने गरेका छन् भने कैलालीको धनगढी जानको लागि दिल्ली जानुभन्दा पनि बढी भाडा लिने गरेका छन् । दिल्ली जान १० हजार रुपैयाँ भाडा लाग्छ भने धनगढी जान १२ हजार रुपैयाँ ठटाउने गरेका छन् । ससाना जहाज चलाउँदा त्यसको सञ्चालन खर्च बढी लाग्ने भएकोले भाडा पनि त्यहीअनुसार निर्धारण भएको उनीहरूले बताए पनि धनगढी, विराटनगर, भरतपुरजस्ता ठाउँमा ठूला जहाज गए पनि भाडा भने चर्को असुल्ने गरेका छन् । 

यात्रुहरूलाई सुविधा भने केही नदिने तर विभिन्न बहाना बनाएर भाडा भने जसरी पनि महँगो असुल गर्ने उनीहरूले यो काम सरकारकै अनुमतिमा गरेका छन् । यसले गर्दा एकातिर आकस्मिक यात्रा गर्नुपर्ने नेपालीहरू पनि मारमा परेका छन् भने विदेशीहरूको लागि पनि नेपाल गन्तव्य झनै महँगो हुने गरेको छ ।

 

]]>