देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अझै पूर्ण हुन सकेन तरुण दलको कार्यसमिति

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको प्रभावशाली भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशन भएको साढे दुई महिना बितिसक्यो । पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनले पदाधिकारी चयन गरे पनि केन्द्रीय समितिलाई तत्काल पूर्णता दिने नेताहरूका बीचमा सहमति भएको थियो । तर महाधिवेशन सम्पन्न भएको दुई महिनासम्म पनि चारजना पदाधिकारीबाहेक अन्य पदाधिकारी र केन्द्रीय समितिको चयन हुन सकेको छैन । 

पोखरामा सहमतिका आधारमा शीर्ष नेताको भागबन्डाका आधारमा अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ चयन गएको थियो । त्यसपछि समितिका अन्य पदमा सहमतिका आधारमा पूर्णता दिने भनिए पनि हालसम्म त्यस सम्बन्धमा कुनै काम भएको छैन । 
सहमतिका आधारमा चयन भएका पदाधिकारीमध्ये अध्यक्ष बस्नेत पार्टी सभापति शेरबहादुर देउवा, उपाध्यक्ष चापागार्इं नेता कृष्णप्रसाद सिटौला, महासचिव शाही वरिष्ठ नेता रामचन्द्र पौडेल र कोषाध्यक्ष गुरुङ नेता खुमबहादुर खड्काको भागबन्डामा परेका थिए ।  

तरुण दलको चौथो महाधिवेशन गत कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा भएको थियो । तरुण दलको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले महाधिवेशनबाट काठमाडौं फर्केलगत्तै बैठक गरी कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको थियो । कांग्रेसले तरुण दल महाधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको थियो । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसाईं सदस्य छन् । तरुण दलको महाधिवेशनयता निर्देशन समितिको कुनै बैठक त परै जाओस् छलफलसमेत हुन नसकेको सदस्य यादवले जानकारी दिए । महाधिवेशन सम्पन्न भएको एक महिनापछि सहमतिमा चयन हुनुभएका पदाधिकारीको शपथग्रहण भएको थियो । 

कार्यसमितिले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भएको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए । उनले आफू र पदाधिकारी पनि थोरै भएकाले दैनिक कार्यक्रम तथा संगठनका काम गर्न समस्या परेको गुनासो गरे । महाधिवेशनपछि तरुण दलमा कार्यसमिति कुल ९५ सदस्यीय हुने र त्यसमध्ये १६ जना अध्यक्षले मनोनीत गर्ने प्रावधान बनाइएको छ । विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बीपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए । त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनस्र्थापनाको घोषणा गरेका थिए ।

 

]]>