हरि पौडेल
“नेपाल भनेको नेपालका ती गरिब जनता हुन् जसको आङमा फाटेको र मैलो लुगा छ । टाउकोमा घेरामात्र भएको टोपी छ । बिरामी परे ओखती–मूलो पाउँदैनन् । आफ्ना छोराछोरीलाई शिक्षादीक्षाको प्रबन्ध गर्न सक्तैनन् । जसलाई बिहान खाए बेलुका के खाउँ र बेलुका खाए बिहान के खाउँ भन्ने समस्या छ । तीनै गरिब किसानको देश हो नेपाल । ठूला–ठूला महलमा बस्ने र मोटरमा हिँड्ने त यहाँ १० प्रतिशत पनि छैनन् । तिनीहरू नेपाल होइनन् ।”
यतिबेला बीपीका यी कुरालाई मनन् गरी हिंड्ने नेताको अभाव देखिन्छ । नेतागिरी गरेदेखि, झन् मन्त्री प्रधानमन्त्री भएदेखि कुन नेपालका नेता गरिब छन् ? लंगौटी लगाएर जंगलमा लुकेर बस्ने नेताहरूसम्म मन्त्री र प्रधानमन्त्री भएपछि करोडौं बैंक व्यालेन्स र महँगा–चिल्ला गाडीमा चढ्ने गर्छन् । काठमाडौंलाई हेर्दा नेपाल गरिब देखिँदैन । ठूलाठूला होटेल, महँगा रेस्टुरेन्ट र विभिन्न आधुनिक मलहरू देख्दा कतैबाट पनि गरिब देशको राजधानी लाग्दैन । विदेशका राजनीतिज्ञ र नेपालका राजनीतिज्ञहरूको रहनसहन तुलना गर्ने हो भने नेपालका राजनीतिज्ञहरूको जीवनशैलीमा बढी वैभवता देखिन्छ । नेपालका गरिब जनता अझै पनि तुइनको यात्रामा छन् । ज्वरो आउँदा सिटामोल नपाएर अकालमा मृत्युवरण गरिरहेका छन् । तर तर राजनीतिज्ञहरू बिरामी राष्ट्रको ढुकुटीबाट लाखौं, करोडौं खर्चेर विदेशका महँगा अस्पताल धाउने गर्छन् ।
कुनैबेला बीपीले भन्नुभएको थियो, “जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन । मेरो विचारमा सहरको सुविधामात्र हेर्ने, गाउँलाई वेवास्ता गर्ने विकास विकास हुनै सक्दैन । किनभने नेपाल गाउँ नै गाउँले बनेको देश हो ।”
कांग्रेसको मर्यादा
कांग्रेस कांग्रेसीहरूको मात्र नभएर समस्त नेपालीहरूको आशाको केन्द्र हो । तर अहिले कांग्रेसका नेताहरूको व्यवहार हेरेर धेरैले भन्न थालेका छन्– “पहिला कांग्रेस पब्लिक थियो, २०४६ सालपछि लिमिटेड भयो, हाल आएर प्राइभेट लिमिटेड हुँदैछ ।” कांग्रेसको चुनाव चिन्ह रूख । सबैलाई छहारी प्रदान गर्ने र फल पनि दिने रूखको गुणधर्म हो । तर भयो के त ? रूख त रूखै भयो तर ठूलो रूख, ताडको रूख जस्तो भयो जस्को छायाको आशा गर्नै सकिँदैन न त्यसले फल खान मिल्छ । आफैंमात्र ठूलो बन्ने प्रतिस्प्रर्धाले गर्दा नै अहिले कांग्रेसभित्र बाहिरबाट सबै मिलेको देखिएता पनि भित्रभित्रै टुक्रिएर गुटैगुट भएका छन् । नेताहरू र उनीहरूका पछिलाग्ने भाइ नेताहरूले बीपी कोइरालाले दिनुभएको सन्देशलाई बिर्सिएका छन् । आफंै मात्र ठूलो र शक्तिशाली बन्न खोज्ने होडमा कांग्रेसीहरूले आफ्नो आदर्श र मर्यादालाई, आफ्नो मान र मूल्यलाई बिर्सेका छन् । महामानव बीपी कोइरालाले भन्नुभएको थियो, “ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी ।”
गुटबन्दी
कांग्रेसी नेताहरू भाषण गर्ने बेलामा हाम्रा महान् नेता बीपी कोइरालाले यस्तो भन्नुभाथ्यो, उस्तो भन्न छुटाउँदैनन् । अहिलेसम्म बीपीले गरेको योगदानकै आधारमा आफ्नो राजनीतिलाई भजाइरहेका छन् । अनि मभन्दा ठूलो अरू हुनु हुँदैन भन्ने भावना बोकेका नेताहरूले एकअर्काको खुट्टा तान्ने काम गरी, आफ्नो पार्टीको योग्य व्यक्तिको मूल्यांकन नै नगरी आफूलाई समर्थन पाउन नजिकका चाप्लुसे र परिवारलाई बढी महत्व दिने प्रवृत्ति झांगिएको छ । २०४६ सालपछि बिस्तारै कांग्रेसी राजनीति व्यक्तिवादी हुँदै गयो । पार्टीमा आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली कांग्रस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो । आफ्नो स्वार्थ पूरा गर्न कांग्रेस पार्टीको विभाजन गर्नु एउटा ठूलो गल्ती थियो । आज त्यस गल्तीको परिणाम हामी सबै कांग्रेसी भन्नेहरूले भोग्नु परेको छ । कांग्रेसमा गुटबन्दी एउटा क्यान्सर रोग जस्तो भएर फैलिएको छ । नेपालमा मात्रै होइन संसारभरि छरिएर बसेका नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिमा विवाद नभएको मुस्किलले पाइन्छ । महामानव कोइरालाले ‘मन्त्री हांैला ठूलाठूला कुर्सीमा बसांैला भनेर राजनीति गरेको हैन’ भन्नुभएको कुरो अहिलेका कुनै नेताहरूलाई सम्झना छैन ।
संघीयता
संघीयता भनेको प्राय:जसो द्वन्द्व व्यवस्थापन गर्नका लागि ल्याइन्छ । तर नेपालमा संघीयता ल्याउनेबित्तिकै जातीय द्वन्द्व झन् भड्किन थालेको छ । माओवादीले हिजो आफूलाई स्थापित गराउन जातीय संघीयतालाई भर्याङ बनाएको थियो, जुन अहिले उसका लागि घाँडो भएको छ । जातीय संघीयता हाम्रो मुलुकमा सम्भव छैन । नेपालमा कुनै पनि त्यस्तो ठाउँ छैन जहाँ एकै किसिमका एकै जातका एकै भाषाका मानिसहरू मात्र छन् । सबै नेपालीहरू एकआपसमा मिलीजुली बसेको ठाउँमा यो साम्प्रदायिक सद्भाव भड्किदै आउनु मुलुकको लागि ज्यादै दुर्भाग्यको कुरा हो । अर्कोतिर मधेसकेन्द्रित दल संघीयता, राज्य पुनर्संरचनाभन्दा पनि दलीय राजनीतिको भविष्य के हुने भन्ने मै अल्मलिएका छन् । उनीहरूले वास्तविक रूपमा संघीयतालाई बुझ्नै नसकेको देखिन्छ । छिमेकी देशको इशारामा धारणा बनाउने कोसिस गरेको देखिन्छ ।
क्षेत्रीय तथा जातीय स्वरूपमा मुलुकलाई विभाजन गर्न सकिन्न किनकि यहाँ एक सय तीनभन्दा बढी जातजातिहरूको बसोबास छ । एक सय २३ भन्दा बढी भाषाभाषीहरू छन् । नेपालीको चुनौती गरिबी हो, अशिक्षा हो तथा उनीहरूको अधिकार सुनिश्चित गर्नु हो । बीपी कोइरालाले देशको भविष्य कोर्दै गर्दा नेपालीको रहनसहन, आर्थिक अवस्था, भौगोलिक क्षेत्रीयता तथा दमित अधिकारलाई हेरेर गरेको चिन्ता पनि यही नै हो । यहाँ बीपी कोइरालाले भन्नुभएको कुरो मननयोग्य छ, “हाम्रो राष्ट्र अल्पसंख्यक जातिहरूको समूह हो । कुनै पनि जाति अरू जातिहरूको दाँजोमा अल्पसंख्यक छ । त्यसो हुनाले जातीय आधारमा यहाँ राजनीति सफल हुन सक्तैन ।”
कांग्रेसको नेतृत्व
कांग्रेसको अगाडि अहिले ठूलो जिम्मेदारी आएको छ कि अब कसरी अघि बढ्ने, कसरी जनतालाई निकास दिने ? राष्ट्रका अघि ठूला चुनौती तेर्सिएका छन् । राष्ट्रलाई परेको असर हाम्रासामु छन् । संविधानको कार्यान्वयन र देशको विकास बाँकी नै छ । झन्डै ६० लाखभन्दा बढी ऊर्जाशील युवा रोजगारीका लागि बिदेसिएको अवस्था छ । भएका कमी–कमजोरीलाई अनुभवका रूपमा ग्रहण गरेर मिलेर अघि बढ्नु नै अहिलेको आवश्यकता हो ।
२००७ सालको क्रान्तिपछि नेपाली जनताले जुन सुख शान्तिको सपना देखेका थिए त्यो सपना पूरा नहुँदै श्री ५ महेन्द्रले कलिलो प्रजातन्त्र उपर सांघातिक आक्रमण गरी सबै राजनीतिक पार्टीका मुख्य नेताहरूलाई गिरफ्तार गरी संसदीय सरकार भंग गरी पार्टी खोल्न बन्देज गरे ।
नेपाली कांग्रेसले संसदीय सरकार गठन गरेपछि थोरै समयमा पनि नेपाली कांग्रेसको सरकारले जनतासँग गरेको वाचाअनुसार विभिन्न महत्वपूर्ण जनताको उद्धार गर्ने र देशलाई अघि बढाउने कार्य गरेका थिए जस्तै ( स्वतन्त्र र निष्पक्ष न्यायालयको विकास, प्रशासनिक सुधार, विकेन्द्रीकरण कार्यक्रमका लागि जिल्लाजिल्लामा विकास बोर्ड गठन, जिल्लाको कुल आम्दानीको १० प्रतिशत रकम सोही जिल्लामा खर्च गर्ने नीति, बिर्ता उन्मूलन ऐनको व्यवस्था, सम्पत्ति करको व्यवस्था, जंगलको राष्ट्रियकरण, हवाई यातायातको विस्तार र पुलहरूको निर्माण, सिँचाइ तथा कृषि विकास क्षेत्रमा मुलुकभरि अनेकौं परियोजना सुरु, देशको प्रथम विश्वविद्यालय (त्रिभुवन विश्वविद्यालयको स्थापना, त्यस्तै बालाजु औद्योगिक क्षेत्रको स्थापना, चिनी र चुरोट कारखानाहरूको स्थापना आदि आदि ।
त्यस्तै, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले नेपाली राजनीति तथा विदेशनीतिलाई भारत परिवेष्ठितबाट फराकिलो पार्न इजरायलसँग कूटनीति सम्बन्ध स्थापना गरेर यो सन्देश दिएका थिए । दिल्ली सम्झौताको एक हिस्सा नेपाली कांग्रेसका नेता बीपी कोइरालाले पनि भारत परिवेष्ठित राजनीति भत्काउन कोसिस गरेपछि भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू बीपीसँग रुष्ट भएका थिए । नेहरू वास्तबमा बीपीसँग चिढिएका थिए । जब पहिलोपल्ट बीपी संयुक्त राष्ट्रसंघको सम्मेलनमा पुग्दा संसारभरिकै डिप्लोमेटहरूले धेरै बेरसम्म थपडी मारी बीपीको स्वागत गरेका थिए । त्यसबेला नेहरूको अनुहार हेर्नेलायक थियो । दक्षिण एसियाका कुनै अरू नेताको भारतीय नेताका अगाडि भव्य रूपले सम्मान हुनु नेहरूलाई कसरी पच्थ्यो र ? केही विश्लेषकहरू भन्छन् बीपी सरकारलाई अपदस्थ गराउनमा नेहरूको पनि अप्रत्यक्ष हात थियो । नेपालमा भारत परिवेष्ठित राजनीतिको क्रम पुन: ०४६ सालको परिवर्तनको क्रमपछि फेरि झांगिँदै गएको छ र यसले राष्ट्रिय संकटमा मुलुकलाई धकेल्दै छ । भूपरिवेष्ठित नेपाललाई भारत परिवेष्ठित राजनीतिबाट समेत टाढा राखेर सबै राष्ट्रिय शक्तिलाई एक बनाएर बलियो प्रजातन्त्रिक नेपाल बनाउने योजनासाथ राष्ट्रिय मेलमिलापको नारा बोकेर भारत निर्वासनबाट बीपी कोइराला २०३३ सालमा स्वदेश फर्किएका थिए । तर बीपीको योजनाले मूर्तरूप पाउन सकेन । बीपीको निधनपछि राजाको अनुदार पञ्चायती धार र गैरजिम्मेवार बहुदलीय धारले गर्दा नेपालमा पुन: भारत परिवेष्ठित राजनीति झांगिन थालेको हो ।
नेपाली जनसम्पर्क समिति
नेपाली कांग्रेस एउटा लोकतान्त्रिक पार्टी भएकोले पार्टीमा भएका आन्तरिक प्रतिस्पर्धाको असर विदेशमा रहेका नेपाली जनसम्पर्क समितिहरूमा पनि गुट, उपगुटको असर प्रत्यक्ष देखा पर्दै गइरहेको छ । जसको कारण युरोप अमेरिका जापान र अस्ट्रेलियामा ठूलो विवाद रहेको समाचारमा पाउँदा धेरै दु:ख लाग्दछ । नेपाली जनसम्पर्क समितिमा देखा परेको कलह आन्तरिक हुँदै बाहिर छताछुल्लै हुने गरेको विगतका केही वर्षदेखि बेलायत, अस्ट्रेलिया, र जापानमा पनि त्यस्तै देखियो ।
अस्ट्रेलिया र बेलायतमा नेपाली जनसम्पर्क समितिको समानान्तर कार्यसमिति छन् जसले एकले अर्को नेतृत्व स्वीकार्न सक्दैनन् । नेता बन्न त्यस देशमा रहेका कांग्रेसी नेपालीहरूको साथ सहयोग र समर्थनभन्दा नेपालमा रहेका नेताहरूको समर्थनबाट नेता हुने होडबाजीमा दिनमा १० पटक आ–आफ्ना नेताहरूलाई फोन गर्ने गर्दछन् । जर्मनीमा २०१५ मा नेपाली जनसम्पर्क समितिको अधिवेशन हुँदा एक वषए र तीन वर्ष गरी अध्यक्षको पदलाई बाँडेर मिलाए भने भर्खरै नेदरल्यान्डमा भएको नेपाली जनसम्पर्क समितिको अधिवेशनमा अध्यक्ष र महासचिव एक—एक वर्षको लागि भनी विवादलाई मिलाए । अग्रज कांग्रेसीहरूको गुटबन्दीले गर्दा देश र विदेशमा राजनीति गर्नु लाजमर्दो भइसक्यो ।
अन्तिममा
नेपालका राजनीतिज्ञहरूले बीपीले यो भन्नुभएको कुरा मनन् गरून् । “मैले जुन किसिमको समाज निर्माण गर्न चाहेको थिएँ, जुन प्रकारको आर्थिक व्यवस्था सिर्जना गर्न खोजेको थिएँ र जुन कुरा सफल भएको भए त्यसको असर मलाईभन्दा अरूलाई बढी पर्ने थियो, त्यसमा सफलता नभएकोमा मलाई चिन्ता हुन्छ । तर जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, मलाई सफलता या असफलताको कुनै महत्व छैन । आफूले चाहेको काममा आफ्नो सम्पूर्ण क्षमताको प्रयोग गरियो र आफूले सक्ने जति सम्पूर्ण कुराको बाजी लगाइयो भन्ने कुरा आफ्नो अन्तरआत्माले इमानदारीसाथ मान्न सक्छ भने, त्यसले मानिसलाई सन्तोष दिन्छ । मलाई अनुभव भएको कुरा पनि यही हो । साधारणतया मानिसले सफलता भनेर जे कुरालाई भन्छन् त्यस अर्थमा म सफल भइनँ । तर जब म मानिसहरूले सस्तो सफलता प्राप्त गरेको देख्छु, त्यसबाट उनीहरूले आत्मिक सन्तोष प्राप्त गरे होलान् जस्तो मलाई लाग्दैन । असफल नै भए पनि सत्कार्यका लागि प्रयत्न गरिरहँदा एक प्रकारको आत्मीय आनन्द हुन्छ, मलाई यही नै भयो भन्ने लाग्छ ।”
(बीपी कोइरालाको अन्तिम अन्तर्वार्ताबाट)
देश र विदेशमा केही यस्ता राजनीतिज्ञहरू अथवा भनुँ बीपीका अनुयायीहरू पनि छन् जो इमानदार कांग्रेसी हुन् जो कुनै गुटबन्दीमा पर्न चाहँदैनन, उनीहरू कता लाग्ने भनी अन्योलमा परेका छन् । यहाँ एउटा दार्शनिकले लेखेको कुरा सम्झना आयो ‘एउटा बटुवा तिर्खा लागेर छटपटाउादै पानी खोज्दै हिँडिरहेको थियो । हिँड्दाहिँड्दा एउटा गाउँमा पुगेछ जहाँ कुँवा रहेछ र त्यस कुँवाको वरिपरि मानिसहरूको भीड रहेछ जो सबै पागल रहेछन् । अर्थात् त्यस गाउँको कुनै पनि कुँवाबाट पानी पिएमा सद्दे मानिस पनि बौलाहा हुने रैछन् । यहाँ यो तिर्खाएको व्यक्तिलाई आपत् पर्यो । अब ज्यान बचाउने हो भने त्यस कुँवाको पानी पिउनु पर्यो अनि पागल हुनु पर्यो अथवा ज्यान गए जाला पानी नपिई आफ्नो बाटो लाग्नु पर्र्यो’ ठीक त्यस्तै हालत कुनै गुटमा नलागेर हिँड्ने व्यक्तिको हुन गएको छ । यदि राजनीति गर्ने हो भने एउटा गुट समाएर हिँड्नु पर्यो होइन भने राजनीति छाडेर, जेसुकै भए पनि मुख बन्द गरी चुपो लागेर बस्नु पर्यो । आज म पनि त्यस्तै स्थितिमा छु र विचार गर्दै छु म पनि त्यस कुँवाको पानी पिउ कि नपिउ भनेर ।
(नेदरल्यान्डका बसोबास गर्दै आएका पौडेल नेपाली जनसम्पर्क समिति, नेदरल्यान्डका वरिष्ठ सल्लाहकार तथा गैरआवासीय नेपाली संघ नेदरल्यान्डका पूर्वअध्यक्ष हुन् ।)
]]>
प्रतिक्रिया