देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारी नियुक्तिको मापदण्ड बनाउन त्रिविद्वारा कार्यदल गठन

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको डिन तथा अन्य पदाधिकारीको नियुक्तिमा बारम्बार देखिएको अवरोधलाई स्थायी रूपमा समाधान गर्ने प्रयास गरिने भएको छ ।  ती पदमा नियुक्तिका विषयमा स्पष्ट आधार र मापदण्ड नहुँदा नियुक्तिलगत्तै अवरोध सिर्जना हुने गरेपछि विश्वविद्यालयले स्थायी रूपमा नै समाधान गर्ने प्रयास थालेको हो । त्यसका लागि प्रा डा रमेशराज अधिकारीको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

 सो समितिले कार्यभार सम्हालिसकेको जानकारी त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले दिए। त्रिविको चिकित्साशास्त्र अध्ययन संस्थानका साथै विश्वविद्यालयको अन्य डिन, कार्यकारी निर्देशक लगायतका पदमा नियुक्ति गर्दा बारम्बार विवाद हुने गरेको छ । विश्वविद्यालयका प्राध्यापक तथा सहप्राध्यापकमध्येबाट विश्वविद्यालयको डिन नियुक्ति गर्न सकिने प्रावधान भए पनि अन्य थप स्पष्ट आधार तय हुन सकेको छैन । कतिपय अध्ययन संस्थान र सङ्कायमा सहप्राध्यापकलाई त कतिपय स्थानमा प्राध्यापकलाई डिन बनाउने गरिएको छ । यसबाट विश्वविद्यालयमा विवादसमेत हुने गरेको छ ।

प्रवक्ता ढकालले उक्त समितिलाई समयसीमा नतोकिए पनि एक महिनाभित्र विश्वविद्यालयलाई सुझाव दिने विश्वास गरिएको बताए ।  डिन तथा अन्य पदको नियुक्तिका साथै विश्वविद्यालयको समग्र उन्नति र विकासका विषयमा गर्नुपर्ने कार्यबारे उक्त कार्यदलसँग सुझाव माग गरिएको छ । राज्यले त्रिविलाई कसरी हेर्नुपर्ने हो, विषयगत आधारमा विश्वविद्यालय खोल्ने क्रम तीव्र भइरहेको अवस्थामा विश्वविद्यालयको भावी भूमिका कस्तो हुनुपर्ने र आगामी दिनमा विश्वविद्यालय कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा समेत उक्त कार्यदललाई सुझाव दिने जिम्मेवारी रहेको त्रिविले जनाएको छ । आजको गोरखापत्रमा समाचार छापिएको छ । 

]]>