देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपेन्द्र यादवसँग मधेसी मोर्चा संशकित

देशान्तर

काठमाडौं । संविधानप्रति असन्तुष्टी जनाउँदै आन्दोलन गरिरहेका मधेसी मोर्चा आवद्ध दलहरूका बीचमा विश्वासको संकट पैदा भएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका कारण मोर्चाभित्र विश्वासको संकट पैदा भएको हो । 

बिशेषगरी उपेन्द्र यादवले तराई केन्द्रित आफ्नो पार्टी मधेसी जनअधिकार फोरमसँग अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई एकीकरण गरेपछि उनलाई मोर्चाका नेताहरूले आशंकाको दृष्टिले हेर्न थालेका छन् । अझ पछिल्लो समयमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग सहकार्य अगाडि बढाउने संकेत पाएपछि उपेन्द्र यादव मधेसी मोर्चाबाट अलग हुन लागेको भन्दै आशंका बढेको हो । 

पछिल्लो समयमा संविधान संशोधन प्रमुख माग राखेको मधेसी मोर्चाभन्दा बेग्लै यादवले गएको सोमबार नयाँ शक्तिका प्रमुख डा.बाबुराम भट्टराईसँग संयुक्त हस्ताक्षर गरेर वक्तव्य जारी गरेका थिए । यससँगै नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरमबीचको निकटत बढेको अनुमान मोर्चामा आवद्ध अन्य दलका नेताहरूले बताएका छन् । 

यादवको नयाँ शक्तिसँगको सहकार्यलाई तेस्रो धार समातेको भनी व्याख्या गर्न थालिएको छ । मधेस र जनजातिका दुई धारमा पहिलेदेखि नै हिड्न थालेको मधेसी मोर्चाको बुझाइ छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता हुनु र यससँगै उपेन्द्र–बाबुराम मोर्चाबन्दी हुनुलाई मधेसी मोर्चाका नेताहरूले अर्थपूर्ण रूपमा लिएका छन् । उनीहरूले यसलाई उपेन्द्रको दोधारे चरित्रका रूपमा व्याख्या गरेका छन् । 

तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका मोर्चाका नेताहरूले भने प्रधानमन्त्री दाहालसँग भएको एक्लाएक्लै भेटमा पनि उपेन्द्रको गतिविधि शंकास्पद भएको भन्दै आएका छन् । 

त्यो भन्दा पनि बाबुरामसँग सहकार्य गरेर संविधान संसोधनका बिषयमा संयुक्त धारणा बाहिर ल्याउनु अनि सरकारले संविधान संशोधन प्रस्ताव दर्ता भएपछि मोर्चाको धारणाभन्दा आफ्नो पार्टीको धारणा मात्र बाहिर ल्याएपछि मोर्चाका नेताहरूमा थप शंका पैदा भएको बताइएको छ । 

बाबुराम र उपेन्द्रको सहकार्यले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव टरेर जाने सम्भावना रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । यादवले संविधानसभाको दोस्रो निर्वाचनपछि मधेसकेन्द्रित आफ्नो दललाई अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर राष्ट्रिय पहिचानको दलका रूपमा परिचय दिन पहल गरेका थिए । अहिले नयाँ शक्तिसँगको सहकार्य र निकटतालाई यादवको नयाँ फड्कोका रूपमा लिइएको छ ।

 

]]>