देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस केन्द्रीय समितिको निर्णय अलपत्र

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन । पार्टीका सबै तहका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संस्थाको संगठन सुदृढीकरणका लागि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय एक महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । 

नेपाली कांग्रेसको गत कात्तिक ९ मा बसेको केन्द्रीय समिति बैठकले पार्टीको नीति र कार्यक्रम एवंम निर्वाचनका पक्षमा राजनीतिक वातावरण निर्माण गर्न, पार्टी संगठनको विस्तार एवं सुदृढीकरण गर्न सबै प्रदेश र सबै जिल्लामा एक महिने अभियान सञ्चालन गर्ने र यसका लागि केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि खटाउने निर्णय गरेको थियो ।

पार्टीले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको एक महिना बितेको छ । तर यस विषयमा अहिलेसम्म पनि केन्द्रीय कार्यालयले आन्तरिक गृहकार्यसमेत नगरेको बताइएको छ । केही समय अगाडिसम्म नेताहरू भ्रातृ संगठन नेपाल तरुण दलको महाधिवेशनमा ध्यान केन्द्रित हुँदा जिल्ला प्रतिनिधि खटाउन ढिलाइ भएको दाबी गर्दै आएका थिए । तर तरुण दलको महाधिवेशन समाप्त भएपनि पनि यो बिषय पार्टीमा छलफल भएको छैन । 

गाउँदेखि जिल्लासम्म संगठनको अवस्था के छ, जिल्ला समितिको अवस्था र बैठकहरू कत्तिको नियमित छन् र कार्यसमितिहरूले पूर्णता पाए कि पाएनन तथा भ्रातृ तथा शुभेच्छुक संगठनहरूको अवस्थाको जानकारी केन्द्रीय प्रतिनिधिले लिने भन्ने केन्द्रीय समितिको निर्णयमा थियो । त्यो मात्रै नभई केन्द्रीय प्रतिनिधिले स्थानीय तहको चुनावको पक्षमा वातावरण समेत बनाउने खालका कार्यक्रम गर्नुपर्ने भनिएको थियो । तर कांग्रेसका केन्द्रीय सदस्यहरू नै काम नपाएर बसिरहेको अवस्थामा केन्द्रीय समितिले गरेको निर्णय कार्यान्वयन गर्ने नेतृत्वले ध्यान नदिएको भन्दै असन्तुष्टि समेत सुरु भएको छ । 

केन्द्रबाट जाने प्रतिनिधिले जिल्लाको विकास निर्माणको अवस्था र स्थानीय निकाय, प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित समग्र सूचना संकलन गर्ने भन्ने थियो । यसका साथै १३औं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमसहित एक महिनाका लागि केन्द्रीय प्रतिनिधि जिल्लामा पठाउने भनिएको थियो । पार्टी महाधिवेशन सम्पन्न भएको आठ महिना वित्दासमेत कांग्रेसले पारित नीति तथा कार्यक्रमलाई अन्तिमरूप दिएर तल्लो तहसम्म पठाउन सकेको छैन । महाधिवेशन फागुनमा भएको थियो । पार्टीको नीति तथा कार्यक्रम जिल्ला जिल्लामा नपुग्दा जिल्लामा समेत अन्यौंलता छाएको छ । 

 

]]>