देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाटा नेपालले ‘हिमालयन ट्राभल मार्ट २०१७’ को आयोजना गर्ने

देशान्तर

बनेपा । नेपालको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको हिमालय ट्राभल मार्ट–२०१७ को प्रतीक चिह्न (लोगो) को आज धुलिखेलमा अनावरण भएको छ ।

आगामी जुन १ देखि ४ सम्म धुलिखेलमा हुने हिमालय ट्राभल मार्ट–२०१७ बारे जानकारी दिन आयोजना भएको पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लोगोको अनावरण गर्दै आर्थिक वृद्धिका लागि १४औँ पञ्चवर्षीय योजनामा पर्यटन उद्योगलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै पर्यटन उद्योग प्रवद्र्धनका लागि सरकारले राष्ट्रिय पर्यटन रणनीतिक योजना बनाएको बताए ।

उनले विश्वमा भ्रमणमा निक्लने पर्यटकमध्ये ०.४ प्रतिशत पर्यटक मात्रै नेपाल आएको उल्लेख गर्दै पर्यटकलाई आकर्षण गर्ने नीति अख्तियार गर्नुपर्ने बताए । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) का प्रेसिडेन्ट एण्ड्रयु जोनेशले नेपालमा अथाह पर्यटकीय सम्पदा भएकाले पर्यटन विकासको ठूलो सम्भावना भएको औँल्याउँदै नयाँ गन्तव्यको पहिचान गरी दिगो पर्यटन विकास गर्नुपर्नेमा जोड दिए ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन अफ नेपाल (पाटा) शाखाका अध्यक्ष सुमन पाण्डेले नेपाललाई हिमालयको देश भनेर उजागर गर्न हिमालय मार्ट आयोजना हुन लागेको जानकारी दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालको पर्यटकीय सम्भावना अद्वितीय भएको उल्लेख गर्दै यसको प्रचारप्रसार आवश्यक भएको बताए ।

पर्यटन उद्योगलाई व्यावसायिक रुपमा प्रवद्र्धन गर्न आयोजना हुन लागेको मार्टमा नेपाल, भारत, भुटान, बङ्गलादेश, म्यान्मार तथा पाकिस्तानका पर्यटन व्यवसायीले, युरोप, उत्तर अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सिआइएस राष्ट्र (पूर्व सोभियत) र एसिया तथा खाडी मुलुकका व्यवसायीलाई आफ्ना प्याकेज बिक्री गर्न सक्नेछन् र व्यवसायिक प्रवद्र्धनका अवसरको खोजी गर्नेछन् ।

हिमालय ट्राभल मार्ट–२०१७ सुरु हुनुअगावै पाटा नेपाल शाखाले अन्तर्राष्ट्रिय ट्राभल ब्लगर्स तथा सञ्चारकर्मीलाई नेपालको सुन्दरता र पर्यटकीय गन्तव्यबारे जानकारी दिने उद्देश्यले आगामी २०१७ को २२ मे देखि जुन १ सम्म पोखरामा इन्टरनेसनल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्सको समेत आयोजना गर्ने भएको छ ।

]]>