देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी केन्द्र ३ हजार ९ सय ९९ सदस्यीय

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३ हजार ९ सय ९९ सदस्यीय जम्बो महाधिवेशन आयोजक समिति बनाएको छ । पार्टी एकताका क्रममा घोषणा गरिएको आयोजक समिति संख्या भन्दा ३ हजार ५ सय संख्या थप भएको हो ।

माओवादी केन्द्रको मंगलबार बसेको पोलिटब्युरो बैठकले विभिन्न १० माओवादी घटकको एकताको ६ महिनापछि सांगठनिक स्वरूप टुंगो लगाएको हो । माओवादीले पोलिटब्युरो सदस्य ३ सय ९९ सय सदस्यीय पुर्याएको छ । पोलिटब्युरो सदस्य लेखनाथ न्यौपानेले आयोजक समिति ३ हजार ९ सय ९९ सदस्यीय र पोलिटब्युरो ३ सय ९९ सय सदस्यीय बनाउने निर्णय भएको जानकारी दिए । गत ६ जेठमा विभिन्न १० माओवादी घटकको एकताका क्रममा ४ सय ९९ सदस्यीय आयोजक समिति घोषणा गरिएको थियो । क्रमशः ५ सय ९९, ६ सय ९९, ९ सय ९९, १४ सय ९९ हुँदै २५ सयको हाराहारीमा पुगेको आयोजक समिति पुनः थप गर्दै ३ हजार ९ सय ९९ सदस्यीय पुयाइएको हो । विभिन्न प्रदेशबाट ६ हजारभन्दा बढीको सिफारिस भएकोमा माओवादीले ४ हजारमा आयोजक समिति गठन गरेको आजको राजधानी दैनिकमा समाचार छ ।

यस्तै, यसअघि २ सय ९९ सय सदस्यीय पोलिटब्युरो रहेकोमा १ सय संख्या थप गरेर ३ सय ९९ सदस्यीय पुर्याइएको छ । माओवादीले सचिवालय संख्या भने यसअघिको ९९ सदस्यीयलाई नै कायम गरेको छ । त्यस्तै, ३३ सदस्यीय केन्द्रीय कार्यालय (हेडक्वार्टर) टिमलाई पनि यथावत् राखिएको छ । हेडक्वार्टरमा रिक्त रहेका दसजनाको नाम भने थप गरिएको छ । जसमा लीलामणि पोखरेल, उर्मिला अर्याल, विश्वनाथ शाह, प्रभु शाह, आहूति, दिलराम आचार्य, हितराज पाण्डे, लेखराज भट्ट, श्रीराम ढकाल रहेका छन् ।

निर्वाचन तयारी

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर तीनमहिने अभियान चलाउने भएको छ । स्थानीय निकाय निर्वाचनलाई लक्षित गरेर बैठकले ‘गाउँ नगर घरघर जाऊँ ः माओवादी केन्द्रलाई विजय गराऔं’ भन्ने नारासमेत तय गरेको छ ।

पोलिटब्युरो बैठकले संविधानको कार्यदेशअनुसार आगामी २०७४ माघभित्र गरिसक्नुपर्ने तीनै तहको निर्वाचनलाई लक्षित गरेर केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म निर्वाचन तयारी समिति गठन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । माओवादीले निर्वाचनकै लागि सबै नागरिकलाई मतदाता नामावली दर्ता गर्न सहयोग गर्ने तथा संगठन सुदृढ गर्ने, जनसम्पर्क बढाउने, विकासका काममा सहयोग गर्ने नीति समेत अगाडि सारेको छ । यस्तै, उसले सबै प्रदेश तथा जिल्ला तहको बैठक प्रशिक्षण तथा सम्मेलन सम्पन्न गरेर सांगठनिक संरचना बलियो बनाउने निर्णयसमेत गरेको छ । तीनमहिने निर्वाचन कार्ययोजनाअन्तर्गत आगामी पुस मसान्तसम्ममा सदस्य नवीकरण गरिसक्ने र १० पुसभित्र सबै प्रदेशका बैठक र प्रशिक्षण सम्पन्न गर्नसमेत निर्देशन दिएको छ । त्यस्तै, १५ पुसमा जनवर्गीय संगठनको एकीकरण र माघ मसान्तसम्ममा गाविस, वडा र नगर सम्मेलन तथा फागुन मसान्तसम्म जिल्ला सम्मेलन सम्पन्न गर्नसमेत बैठकले निर्देशन दिएको छ । बैठकमा अध्यक्ष दाहालले सबै नेता तथा कार्यकर्तालाई तीन महिना गाउँ फर्कन निर्देशनसमेत दिएका छन् ।

प्रदेश इन्चार्ज र संयोजक तोकिए

माओवादीले अन्तर्राष्ट्रिय विभाग र सात प्रदेशका इन्चार्ज तथा संयोजक तोकेको छ । प्रदेश नम्बर एकमा गोपाल किराती इन्चार्ज, सावित्रीकुमार काफ्ले संयोजक, दुई नम्बरमा मातृका यादव इन्चार्ज, विश्वनाथ शाह संयोजक, तीन नम्बरमा हितमान शाक्य इन्चार्ज, झक्कुप्रसाद सुवेदी संयोजक, चार नम्बर प्रदेशमा देव गुरुङ इन्चार्ज, हरि अधिकारी संयोजक, पाँच नम्बर प्रदेशमा वर्षमान पुन इन्चार्ज, पूर्ण घर्ती संयोजक, ६ नम्बर प्रदेशमा शक्ति बस्नेत इन्चार्ज, मायाप्रसाद आचार्य संयोजक, ७ नम्बर प्रदेशमा लेखराज भट्ट इन्चार्ज, लक्ष्मण दत्त संयोजक र अन्तर्राष्ट्रिय विभागमा नारायणकाजी श्रेष्ठ इन्चार्ज र लक्ष्मण पन्त संयोजक तोकिएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सबै पक्षसँग छलफल गरेर प्रस्ताव अघि बढाउन सुझाव

पोलिटब्युरो बैठकले संविधानप्रति असन्तुष्टको माग सम्बोधन गर्न संसद्मा दर्ता भएको संशोधन विधेयक सबै पक्षसँग छलफल गरेर अघि बढाउन सुझाव दिएको छ । यस्तै, संविधानले तोकेको अवधिभित्रै तीन तहको निर्वाचन गराउनुपर्ने माग गर्दै त्यसका लागि पार्टीले सहयोग गर्ने निर्णयसमेत गरेको छ । बैठकले दुई छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित र सौहार्दपूर्ण बनाउन सरकरालाई आग्रह समेत गरेको छ । यस्तै, भूकम्पपीडितलाई राहत उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

]]>