काठमाडौं । सुन आफूसँग राख्ने रहर धेरैलाई हुन्छ । राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक र मुद्रा छपाइ गर्ने आधिकारिक निकाय हो । तर यसबाहेक यो निकायसँग सुन पनि हुन्छ ।
२०७३ असोजसम्म राष्ट्र बैंकसँग २६ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन छ । त्यसमध्ये राष्ट्र बैंकले असोज मसान्तसम्ममा ६ हजार १ सय २० किलो (६ दशमलव १२ मेट्रिक टन) सुन लगानी गरेको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ । त्यतिबेलाको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार यो लगानी २४ अर्ब ८२ करोड रुपैयाँ (२४ करोड ८२ लाख अमेरिकी डलर) बराबरको हो । लगानी गरेको बाहेक पनि राष्ट्र बैंकको ढुकुटीमा सुन हुन्छ ।
यस्तो सुन गत कात्तिक ३० गतेसम्म १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको रहेको राष्ट्र बैंकले जनाएको छ । लगानी र मौज्दातमा रहेको गरी कुल २६ अर्ब ३६ करोड रुपैयाँ बराबरको सुन राष्ट्र बैंकसँग छ । लगानीमा रहेको सुन राष्ट्र बैंकले बेलायतको केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) मा निक्षेपका रूपमा राखेको छ । उक्त सुन विभिन्न मुलुकका बैंकहरूमा लगानी गरिन्छ । जुन बैंकमा लगानी गरिन्छ त्यही बैंकको खातामा सुन हस्तान्तरण हुन्छ । लगानीको अवधि सकिएपछि पुनस् बैंक अफ इंग्ल्यान्डमा रहेको नेपाल राष्ट्र बैंकको खातामै जम्मा हुन्छ । यसरी लगानी गरेबापत राष्ट्र बैंकले निश्चित प्रतिशत ब्याजदर पाउँछ । सुनमा भएको लगानी कुल विदेशी विनिमय सञ्चिति लगानीको ३ दशमलव १ प्रतिशत छ । सुनमा लगानीबाट हाल राष्ट्र बैंकले वार्षिक औसत ० दशमलव ७५ प्रतिशतका दरले प्रतिफल प्राप्त गर्दै आएको छ । एक वर्षयता राष्ट्र बैंकले सुनमा लगानी नबढाएकाले सुन मौज्दात पनि नबढेको स्रोतले बतायो ।
गत असोजसम्म राष्ट्र बैंकसँग कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ८० अर्ब रुपैयाँ (१० अर्ब १३ करोड अमेरिकी डलर) छ । गत असारको तुलनामा यो १ दशमलव १७ प्रतिशतले बढी हो । ०७३ असोजमा यस्तो सञ्चिति ८ खर्ब ४४ अर्ब रुपैयाँ थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग साढे ८५ प्रतिशत र बाँकी साढे १४ प्रतिशत बैंक तथा वित्तीय संस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा राष्ट्र बैंकसँग ८६ दशमलव ४ प्रतिशत र बैंक तथा वित्तीय संस्थासँग १३ दशमलव ०६ प्रतिशत थियो ।
मुलुकको कुल विदेशी विनिमय सञ्चितिमध्ये परिवत्र्य विदेशी मुद्राको हिस्सा ७७ प्रतिशत, भारतीय मुद्राको हिस्सा २१ प्रतिशत, सुन सञ्चितिको अंश १ दशमलव ८ प्रतिशत र एसडीआरको ० दशमलव २ प्रतिशत छ । ०७२ असोजमा परिवत्र्य विदेशी मुद्राको हिस्सा ७६ दशमलव ४ प्रतिशत, भारतीय मुद्राको हिस्सा २० दशमलव ६ प्रतिशत, सुन सञ्चितिको अंश २ दशमलव ५ प्रतिशत र एसडीआरको ० दशमलव ४ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज) सम्म कुल विदेशी विनिमय सञ्चितिको लगानीबाट ५ अर्ब ४७ करोड रुपैयाँ ब्याज आम्दानी प्राप्त भएको छ । यो लक्ष्यभन्दा बढी हो । उक्त अवधिमा राष्ट्र बैंकले ४ अर्ब ८९ करोड रुपैयाँ ब्याज आय प्राप्त गर्ने लक्ष्य राखेको थियो । अघिल्लो वर्षको असोजसम्म यस्तो लगानीबाट ४ अर्ब ६४ करोड ब्याज आय प्राप्त भएको थियो ।
गत असोजसम्म समग्र विदेशी विनिमयको भारित औसत प्रतिफल दर २ दशमलव ५२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो दर २ दशमलव ४९ प्रतिशत थियो । कुल लगानीमध्ये परिवत्र्य विदेशी मुद्रामा रहेको लगानीको प्रतिफल दर १ दशमलव ३१ प्रतिशत, चिनियाँ युआनको ३ दशमलव ५१ प्रतिशत र भारतीय मुद्राको ६ दशमलव ५३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । मुद्रागत संरचना हेर्दा कुल लगानीमा अमेरिकी डलरको हिस्सा ५९ दशमलव ३ प्रतिशत, भारुको २३ दशमलव १ प्रतिशत र चिनियाँ युआनको हिस्सा ९ दशमलव ६ प्रतिशत रहेको छ । लगानी निर्देशिका ०६६ अनुसार अमेरिकी डलरमा ४० देखि ६० प्रतिशतसम्म, भारतीय मुद्रामा २५ प्रतिशतसम्म र चिनियाँ युआनमा १५ प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था छ ।
विभिन्न विदेशी मुद्रा र सुनमा गरेको लगानीबाट आर्थिक वर्ष ०७२/७३ मा सरकारले १९ अर्ब ६२ करोड रुपैयाँ कमाएको छ । आफूसँग रहेको विदेशी मुद्रा विभिन्न राष्ट्रका मुद्रा, ट्रेजरी बिल्स र सुनमा रहेको लगानीको ब्याज आयबापत राष्ट्र बैंकले उक्त रकम प्राप्त गरेको हो । चालु आर्थिक वर्षमा २० अर्ब ९१ करोड रुपैयाँ ब्याज आय आर्जन गर्ने लक्ष्य राष्ट्र बैंकले तय गरेको छ । आर्थिक वर्ष ०७१/७२ मा यस्तो आम्दानी १६ अर्ब ४९ करोड रुपैयाँ थियो ।
]]>
प्रतिक्रिया