देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सडक हैन संसद्लाई उपयोग गरौँ– पूर्वमन्त्री रिजाल

देशान्तर

भक्तपुर । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले वर्तमान समयमा संविधान संशोधनका विषयमा संसद्मा छलफल अगाडि बढाए समस्याको समाधान निस्कने बताएका छन् । 

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेकपा एमाले संविधान संशोधनको पक्षमा नरहे पनि संसद्को प्रक्रियालाई अवरुद्ध नगरी संशोधनको छलफलमा गए संविधान कार्यान्वयनको कामले तीव्रता पाउने बताए । 

पूर्व सूचना तथा सञ्चारमन्त्री रिजालले सहकार्य र सम्झौता नै संविधान कार्यान्वयनको सफल पक्ष रहेको औँल्याउँदै संविधान संशोधनको प्रक्रियाले पूर्णता पाउन नसके तोकिएको मितिमा निर्वाचन सम्भव नहुने बताए । 

मधेसी नेताले बोल्दा विदेशीले बोले भन्ने भ्रमलाई त्यागेर मधेसका नागरिकको जायज मागलाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्दै उनले भने– “संसद्मा छलफल गर्दै गए अझ राम्रा संशोधन आउने र त्यसले नेपाललाई समृद्धितर्फ लैजान मद्दत पुग्छ ।” 

उनले एमालेकै कारण भूकम्पपीडितलाई अनुदान वितरण र सरकार सञ्चालनमा कठिनाइ आएको आरोप लगाए । 

काँग्रेस र माओवादीबीच सरकार समीकरणका विषयमा पहिला नै सम्झौता भइसकेकाले आवश्यकताअनुसार समीकरण परिवर्तन हुने भएपनि तत्कालै सरकारको समीकरणमा कुनै परिवर्तन नहुने उनले स्पष्ट पारे । 

कार्यक्रममा पूर्व पर्यटनमन्त्री एवम् एमालेका नेता आनन्द पोखरेलले सीमाङ्कनका नाममा ७० वर्षअघिदेखि लुम्बिनीलाई आफूभित्र पार्ने भारतको नियत रहेको देखिएको सन्दर्भमा अहिलेको सरकारले त्यसलाई मद्दत पुग्ने नीति अँगालेको बताए । 

नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा ५ नं प्रदेशलाई टुक्र्याउन सरकारले चाहेको उनको आरोप थियो । 

प्रतिपक्षलाई जानकारी नै नदिई संविधान संशोधनको प्रक्रिया संसद्मा ल्याएको जिकिर गर्दै उनले यो प्रस्ताव कुनै हालतमा संसद्बाट पारित नहुने दाबी गरे ।

]]>