काठमाडौं । भारतीय योगगुरु रामदेव कर्पोरेट बाबाको रूपमा परिचित छन् । उनी विशुद्ध रूपमा न त योगगुरु हुन् न त बाबा नै । उनी योगको नाममा प्रकट भएका ठूला व्यापारी हुन् र शक्तिका पुजारी पनि । भारतमा शक्ति र सत्तालाई प्रभावमा पारेर ठूलो व्यापारिक साम्राज्य खडा गरेका तिनै बाबाले नेपालमा पनि हात हालेका छन् ।नेपालमा खासै चर्चामा नआउने तर सधंै पर्दा पछाडि बसेर ठूलाठूला घोटालाहरूको षड्यन्त्रको योजना बनाउन माहिर एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोलाई व्यापारिक साझेदार बनाएर नेपाल प्रवेश गरेका रामदेवको आर्युवेदिकको व्यापार सुरुमै विवादास्पद भएको छ ।
स्वदेशी लगानी र कम्पनीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सरकारले रामदेवको कम्पनीलाई यति धेरै प्राथमिकता दिएको छ कि खर्बांै लगानी तथा दीर्घकालीनरूपमा अति महत्वपूर्ण मानिएका उद्योगहरुलाई भने वावास्ता गरिएको छ । रामदेवको धन्दालाई भने सरकारबाटै रातो कार्पेट बिछ्याइएको छ । उनको लगानी नियम र कानुनविपरीत भए पनि त्यस्तो लगानीको संरक्षण गर्न सरकार आफंै लागिपरेको छ । योगको नाममा सत्ता र शक्तिलाई सजिलै प्रभावमा पार्न सक्ने रामदेवको योग शिविरमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि भूतपूर्व प्रधानमन्त्रीसम्मको लाइन देख्दा पनि त्यो प्रष्ट हुन्छ ।
गैरकानुनी लगानी
लाखांैलाई रोजगारी दिने र खर्बौंको लगानी गर्ने भन्दै रामदेवले त्रिभुवन विमानस्थलमै घोषणा गरे । उनले अहिले पनि एक अर्ब लगानी गरिसकेको घोषणा गरेका थिए । पतञ्जली योग प्रालि नामको कम्पनीको नाममा खोलिएको उद्योगमा लगानी गरेको र भविष्यमा उक्त लगानी अझै बढाउँदै जाने उद्घोष गरेका थिए । एनआरएन संस्थापक अध्यक्ष महतोको उक्त कम्पनीमार्फत रामदेवले लगानी गरेको घोषणा गरे पनि सरकारबाट भने त्यसको लागि अनुमति नलिएको पाइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ ऐनअनुसार कुनै पनि विदेशी लगानी ल्याउनको लागि सरकारबाट अनुमति लिनुपर्छ तर उद्योग विभागका अनुसार उक्त अनुमति नलिएको खुलेको छ ।
भलै उक्त खबर बाहिर आएपछि उनले लगानी नगरेको र गर्ने घोषणामात्र गरेको सबै कानुनी प्रक्रिया पुर्याएरमात्र लगानी गर्ने बताए । तर लगानी नै नगरिकन त्यस्तो घोषणा उनले त्यसै गरेका थिएनन् । उनले गैरकानुनी च्यानलबाट नेपालमा लगानी गरिसकेको र त्यसको सहजकर्ता तथा नेपाली खेलाडीको भूमिकामा महतो रहेको खुल्न आएको छ । महतो तथा रामदेवले सरकारलाई छलेर वा सरकारी अधिकारीलाई प्रभावमा पारेर उक्त लगानी भित्र्याएको प्रष्ट भएको छ । कुनै पनि कम्पनीमा कसको लगानी कति छ ? त्यो लगानीको स्रोत के हो ? कहाँबाट आएको हो भनेर छानबिन गर्नुपर्ने सरकारी निकायको दायित्व भए पनि रामदेव तथा महतो सत्ता तथा शक्तिको निकटताले छायामा पारेको छ ।
उनले हाल लगानी नगरेको पछि गर्ने योजना बनाएको भनेर स्पष्टीकरण दिएको भए पनि जुन कम्पनीमार्फत लगानी गर्ने भनेका छन् त्यसबाट षड्यन्त्रको गन्ध आएको किन छ भने उक्त कम्पनी नै गैरकानुनीरूपमा दर्ता भएको बुझिएको छ । गैरनाफमूलक कम्पनी विदेशीको नाममा दर्ता गर्न नपाउने कानुनी व्यवस्थाविपरीत पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनी नेपाल दर्ता गरिएको पाइएको छ । उद्योग तथा वाणिज्यमन्त्री राजेन्द्र महतो भएको समयमा २०६४ सालमा मन्त्रीकै दबावमा उक्त कम्पनी दर्ता गरिएको पाइएको छ । यसबाट रामदेवको लगानी नेपालमा संशयको घेरामा परेको छ ।
रामदेवलाई विश्वविद्यालयकै जग्गा दान !
नेपालमा ठूलो मात्रामा लगानी गर्ने र ठूला उद्योग खोल्न खुट्टा उचालेर बसेका विदेशी लगानीकर्ताहरू जग्गा अभावमा पाखा लागिरहेको अहिलेको समयमा नेपालमा गैरकानुनी रूपमा व्यापारको साम्राज्य विस्तार गर्न खोजिरहेका रामदेवलाई भने दाइजोजस्तै गरी जग्गादान गर्न स्वयम् प्रधानमन्त्री नै लागिपरेको खुल्न आएको छ ।
आर्युवेद अस्पताल, गौशाला, जडीबुटी उद्यान र आचार्य गुरुकुल सञ्चालन गर्न भन्दै रामदेवले माग गरेअनुसारको नेपाल संस्कृत विश्वविद्यालयको जग्गा दिनको लागि प्रधानमन्त्री आफंै अग्रसर भएर लागेको रहस्य खुल्न आएको छ । विश्वविद्यालयको सिनेट सभामा त्यसको विरोध भएपछि कुलपति तथा प्रधानमन्त्री आफैंले उक्त प्रस्ताव ल्याएका छन् । ४० वर्षको लागि रामदेवलाई व्यापारको साम्राज्य विस्तारको लागि कौडीको भाउमा दुई सय बिघा जमिन दिनको लागि प्रधानमन्त्री नै लागिपरेपछि कसको के लाग्यो र ?
देशमा सिमेन्ट उद्योग तथा अन्य ठूला उद्योग खोल्नको लागि जग्गाको अभाव भएको भन्दै उद्योगीहरू लगानी गर्न रोकिराखेको अहिलेको सन्दर्भमा रामदेवको लागि भने उच्पदस्थ नै सती जान लागेबाट पुष्टि हुन्छ कि देशको औद्योगिकीकरणभन्दा पनि रामदेवको सती जान सबै तत्पर देखिन्छन् ।
रामदेव ज्वाइँ हुन् ?
रामदेवको लागि नियम कानुनलाई धोती लगाएर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म लाइन लागे पनि उनीहरू वास्तविक रूपमा देशमा आयुर्वेदिक औषधिप्रति भने खासै चिन्तित देखिँदैनन् । यसको ज्वलन्त उदाहरण हो सरकारी आयुर्वेद औषधि उद्योग सिंहदरबार वैद्यखाना विकास समितिप्रतिको बेवास्ता हो । दुई वर्षदेखि उत्पादन गर्न नसकेको वैद्यखानाको स्थितिमा सुधार ल्याउन भने अहिलेसम्म कसैले पहल गरेका छैनन् । रामदेवको औषधि उद्योगको उद्घाटन गर्नका लागि देशका नेताहरू लाम लाग्दै गर्दा यता सरकारी आयुर्वेद औषधि उद्योग भने उचित व्यवस्थापनको अभावमा छट्पटाइरहेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका औषधि तथा अन्य उत्पादनको माग ठूलो भए पनि बजारमा यसका उत्पादन उपलब्ध छैनन् । ग्राहकले वैद्यखानाले उत्पादन गरेका औषधिहरू खोजिरहेका छन् तर पाइरहेका छैनन् ।
]]>
प्रतिक्रिया