देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

योमह्री पूर्णिमा, धान्य पूर्णिमा तथा उधौली पर्व मनाइँदै

देशान्तर

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पुन्हिः अर्थात् योमह्री पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । उपत्यकाको नेवार समुदायले ४०० वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमह्री पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ । जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो ।

यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ । आजका दिन किरात समुदायले उधौली पर्व पनि मनाउँदै छन् ।

यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । पूजापछि साकेला नाचिन्छ । नाचमा प्रकृतिमा भएका पशुपक्षी मानव समुदायलाई आवश्यक पर्छ भनी नक्कल गरिन्छ । 

]]>