देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोकिएन मझुवागढीबाट ढुङ्गागिट्टी निकासी

देशान्तर

खोटाङ ।  जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा अवैध रुपमा निकासी गरिएको ढुङ्गागिट्टी खानी अझै रोकिएको छैन । अवैधरुपमा खानी सञ्चालन गर्नाले मझुवागढी आसपासका कालिका भगवती मन्दिर, बुढेश्वर गुफा, त्रिमुक्तेश्वर बद्री–केदार मन्दिर र शिद्धेश्वर गुफा जोखिममा परेका छन् ।  यस बारेमा दिक्तेल नगरपालिका, जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइए पनि सुनुवाइ नभएको स्थानीयवासीले बताएका छन् ।

त्रिमुक्तेश्वर बद्री–केदार मन्दिर र सिद्धेश्वर गुफाआसपास ढुङ्गा खानी सञ्चालन गर्ने र ब्रेकर चालकलाई शुक्रबार स्थानीय प्रशासनले प्रहरीमार्फत झिकाए पनि खानी सञ्चालकले निजी जग्गाको ढुङ्गा निकालेको जनाएपछि त्यत्तिकै छाडिएपछि स्थानीयवासीले आक्रोश पोखेका छन् ।  सहायक प्रमुख जिल्ला अधिकारी दिनेशकुमार कुमालले निजी जग्गामा ढुङ्गा निकालेकाले सोधपुछपछि छाडिएको बताए ।  मङ्सिर १५ गतेपछि खानी सञ्चालक रामबहादुर बुढाथोकी, कर्णबहादुर बुढाथोकी, रत्नबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, कृष्णबहादुर बुढाथोकी, विष्णुकुमार श्रेष्ठ, विशाल मगर र दुर्गाप्रसाद घिमिरे लगायतलाई अवैध खानी सञ्चालन नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । खानी बन्द गर्न निर्देशन गरिए पनि ब्रेकर लगाएर ढुङ्गा निकालिरहेको स्थानीयवासीले बताएका छन् ।

गढीक्षेत्रदेखि मुनिबाट ढुङ्गागिट्टी खानी सञ्चालन गरेको पानीको मुहान सुक्नुका साथै खानी सञ्चालन गरेको ठाउँबाट ढुङ्गा झरिरहने भएकाले दिक्तेल–खानीडाँडा, दिक्तेल–मेघेचौतारा क्षेत्रमा यात्रा गर्न जोखिम बढेको छ । जिविसले प्राकृतिक स्रोतसाधन, धार्मिक पर्यटकीय क्षेत्र, वातावरणीय असर लगायतको उल्लेख गर्दै जिल्ला प्रशासनमा प्रतिवेदन पठाइसकेको स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले बताए । स्थानीयवासीले प्रशासन, जिविस र दिक्तेल नगरपालिकालाई अवैध ढुङ्गागिट्टी खानी सञ्चालन रोक्न निवेदन दिएका थिए । त्यसको लगत्तै दिक्तेल नगरपालिकाले पनि स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को २१० (ख) विपरीत देखिएको औँल्याउँदै जिविस खोटाङलाई मङ्सिर २ गते अनुरोध पत्र लेखेको थियो ।

ढुङ्गागिट्टी खानी सञ्चालनमा बेक्रर प्रयोग गरिएकाले दर्जनभन्दा बढी पानीको मुहानसमेत सुकिसकेको स्थानीयवासीले बताएका छन् । स्थानीय नेत्र कटुवालका अनुसार स्थानीय कालीमाटी खोला, जुकेपानी लगायतको मुहान सुकेको हो ।  दिक्तेल–खानीडाँडा सडकखण्डदेखि गढीसम्मको क्षेत्रसम्म ठेकेदारले जग्गा खरिद गरेर खानी सञ्चालन गरेपनि स्थानीय प्रशासनले चासो नदेखाएको गुनासो छ । सडक आसपासबाट निकालिएको ढुङ्गागिट्टी दिक्तेलमा निर्माणाधीन सरकारी भवन तथा व्यक्तिको घरमा प्रयोग हुने गरेको छ ।  अवैध रुपमा सञ्चालन गरिएको ढुङ्गा खानीबाट प्रहरी–प्रशासनले पनि कमिसन लिएको अनुमान गरिएको स्थानीयवासीले बताएका छन् । 

]]>