देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूगर्भविद्को प्रतिवेदनपछि तातोपानी नाका टुंगो लाग्ने

देशान्तर

काठमाडौं । महाभूकम्पपछि अवरुद्ध तातोपानी नाकाको भौगर्भिक अध्ययन गर्न चीन सरकारले टोली खटाएको छ। टोलीले दिने प्रतिवेदनको आधारमा यो नाकालाई निरन्तरता दिने वा नदिने विषयमा चीन सरकारले निर्णय गर्ने चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जानकारी दिएका छन्। महाभूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन।

चिनिँया पक्ष पनि जति सक्दो चाँडो नाका खुलाउन इच्छुक रहेको र अब बस्ने सीमा सुरक्षा बैठकमा त्यसबारेमा थप कुरा राखिने उनले बताए। भूकम्पले क्षतविक्षत पारेर लामो समयसम्म अवरुद्ध बाह्रबिसेदेखि तातोपानीको सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो। तर गएको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो।

बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ। कोठेलगायतका विभिन्न स्थानमा गएको पहिरोको काम दोलखास्थित सडक डिभिजन कार्यालयले मर्मत सम्भार गरिरहेको छ। जुरेको पहिरोदेखि बाह्रबिसे माथि पर्ने घट्टेखोला, ¥यालेभिर, लिपिङलगायतका पाँच ठूला पहिरोसहित २६ किलोमिटर सडकखण्ड पुनःनिर्माणको काम चिनियाँ रेलबे कम्पनीले पूरा गरेको इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए। अरनिको राजमार्गको ९२ किलोमा पर्ने जम्बोदेखि लिपिङसम्मको सडकलाई पक्की रुपमा निर्माण गर्न चिनियाँ कम्पनीलाई प्रस्ताव गरे पनि निर्णय भइनसकेको इन्जिनियर पन्थीको भनाइ छ।

सडक पुनःनिर्माण भएसँगै राजधानीबाट यात्रुबस चल्न थालेपछि तातोपानी धारामा स्नान गर्नेको सङ्ख्यामा वृद्धि हुन थालेको तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठले बताए। भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्कन थालेको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए। 

]]>