देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्प गएको २ वर्षमा पनि बनेनन् राष्ट्र बैंकका भवन

देशान्तर

काठमाडौं । मुलुकको बहुमूल्य सम्पत्ति, सुन र पैसाको ढुकुटी रहने केन्द्रीय बैंकको भवन भूकम्प गएको झन्डै २ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन। ०७२ साल वैशाखको भूकम्पले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार, बैंकिङ कार्यालय थापाथली र टक्सार विभाग सुन्धाराका भवनहरू भत्किएका थिए। भत्किएको २० महिनासम्म पनि पुनर्निर्माण हुने सुरसार छैन। भवन बन्न नसक्नुले मुलुकको केन्द्रिय बैंक दयनीय देखिएको छ।  

यसले मुलुकको ढुकुटी नै असुरक्षित बन्दै गएकोमा विज्ञहरूको चासो छ।  हालसम्म भत्किएका संरचनाहरू हटाउने कामसमेत भएको छैन। ‘माघदेखि घर भत्काउने काम सुरु हुन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि भवन निर्माणको काम सुरु गछौं।’ भूकम्प गएको २० महिनासम्म भवनको लागत मूल्यांकन र डिजाइनसमेत तयार भएको छैन।

परामर्शदाता छनोटकै लागि झन्डै २ महिना समय खर्चिएको छ। भूकम्पले भत्काएका सर्वसाधारणका करिब ६ लाख घरहरू बन्न नसकेको विद्यमान अवस्थामा राष्ट्र बैंकको भवन पनि बन्न नसक्नु स्वाभाविक नै मानिएला। तर, सर्वसाधारण जस्तै अनुदान पर्खनु नपर्ने र ढुकुटि समेत सुरक्षा दिनुपर्ने निकायको लाचारी टिढलाग्दो छ।

‘राष्ट्र बैंक मुलुकको धन सम्पत्ति व्यवस्थापन र सुरक्षण गर्ने निकाय हो,’ राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भास्करमणि ज्ञवालीले भने, ‘त्यसैले ढुकुटी थन्क्याउने घर पनि बलियो र सुरक्षित हुनुपर्छ।’ भत्किएको जीर्ण घरमा लामो समयसम्म ढुकुटी राख्दा जोखिम बढी हुने उनको तर्क छ। ‘टहरा र जीर्ण घरबाट सेवा दिने काम छिट्टै रोक्नुपर्छ,’ उनले भने।  कान्तिपुर दैनिकमा समाचार छ । 

]]>