देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस कोषाध्यक्षहरूको ११ बुँदे घोषणा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको दुईदिने प्रथम राष्ट्रिय सम्मेलन ११ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन सकिएको छ । संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्तीका अवसरमा आयोजना गरेको सम्मेलनको समापन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए । पार्टी सञ्चालनका लागि लेबीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा बृहत् छलफल भएको थियो । यसका साथै पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दादातालाई दिइएको दबाब, त्यसको दुरुपयोग र अपारदर्शिताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका उपायका बारेमा पनि छलफल भएको सम्मेलन आयोजक समितिका संयोजक गोविन्द पुडासैनीले बताए । भेलाले आगामी चुनावमा पार्टीलाई अझ सशक्त र बलियो बनाउन व्यवस्थित र पारदर्शी बनाउने बारेमा पनि बृहत् छलफल भएको थियो । 

घोषणापत्रमा कांग्रेसको विधान र नियमावलीमा उल्लेख भएको कोषाध्यक्षहरूको काम, कर्तव्य र अधिकार तत्काल कार्यान्वयनमा आउनुपर्ने उल्लेख गरिएको छ । कोषाध्यक्षहरूको चयन केन्द्रदेखि जिल्लासम्म नै सभापतिजस्तै निर्वाचनका माध्यमबाट हुने भएकाले संगठन सञ्चालनका लागि आर्थिक संकलन गर्नेदेखि संगठन सुदृढीकरणमा समेत कोषाध्यक्षहरूलाई वैधानिक भूमिका दिनुपर्ने माग गरिएको छ । 

सम्मेलनले २०७४ साल माघ ७ गतेसम्म स्थानीय प्रदेश र संघीय संसद्को निर्वाचन गराउनुपर्ने भएकाले नेपाली कांग्रेसको नेतृत्वमा अभिलम्ब तराई मधेसमा देखिएको समस्या समाधान गर्ने माग गरेको छ । पार्टीको निर्वाचित जिल्लासचिव र कोषाध्यक्षलाई पदेन महाधिवेशन प्रतिनिधि बनाउनसमेत सम्मेलनले माग गरेको  छ । साथै सम्मेलनले पार्टीमा मौलाउँदै गएको गुटबन्दीलाई केन्द्रबाट तत्काल अन्त्यका लागि पहल गरिनुपर्ने तथा पार्टीका विभिन्न तहमा जिम्मेवारी दिँदा आफू निकटहरूलाई भन्दा कार्यक्षमता तथा योग्यता हेरिनुपर्ने समेत घोषणापत्रमा उल्लेख गरेको छ । 
घोषणापत्रमा पार्टीको क्रियाशील सदस्यता वितरण प्रणालीलाई वैज्ञानिक बनाइनुपर्ने भन्दै पार्टी संगठन सृदृढीकरणका लागि केन्द्रबाट तत्काल प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि माग गरिएको छ । सबै तहबाट संकलन गरिने लेबीलाई व्यवस्थित बनाउनका लागि केन्द्रबाट स्पष्ट निर्देशनसहितको परिपत्र पठाउनसमेत सम्मेलनले माग गरेको छ । 

साथै राजनीतिलाई मर्यादित सम्मानित बनाई राजनीतिप्रति आम नागरिकमा रहेको घृणा हटाएर आकर्षण वृद्धि गर्न जरुरी रहेको ठहर गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिले तत्काल यो विषयलाई गम्भीरताका साथ छलफल गरी निचोडमा पुग्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । यसका साथै अब जिल्ला कोषाध्यक्षहरूको गोष्ठी २०७४ साल वैशाखमा मोरङमा गर्ने तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७४ चैत्रमा चितवनमा गर्ने निर्णयसमेत गरेको छ । 

 

]]>