देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीपीको दृष्टिमा चीन

देशान्तर

शिवकुमार बस्नेत
नेपाल र चीन प्राचीनकालदेखि नै अस्तित्वमा रहँदै आएका देशहरू हुन् । बौद्ध अनुश्रुतिअनुसार मञ्जुश्रीले बाग्द्वारदेखि बागमतीको प्रवाह मार्ग खोलेर नागदहनामक सरोवरको जल निकालेर बस्न योग्य बनाएको भन्ने अनुश्रुति पाइन्छ । नेपालको प्राचीन समयमा गोपाल वंशी, किरात वंशी, लिच्छवि वंश आदिले शासन गरेका थिए । लिच्छविकालमा अंशुबर्माको शासनकाललाई स्वर्णकाल भनिन्छ । यिनका पालामा कैलाशकुट भवनको निर्माण, आफ्नी छोरी मञ्जुश्रीको तिब्बती सम्राट् स्रङचङ गम्पोसँग विवाह गरिदिएका थिए । यिनैको पालामा जसले बौद्ध धर्मलाई तिब्बतमा पुर्‍याएकी थिइन् । तिब्बतबाट नै चीनसम्म बौद्ध धर्मको विस्तार भएको पाइन्छ । ताङ राजवंशको शासनकालमा बौद्ध धर्मको अध्ययन भारत हुँदै हुयन–त्साङ तीर्थयात्री नेपाल आएका थिए र उनले मुक्तकण्ठले नेपाल खाल्डोको प्रशंसा गरेका थिए । उनी नेपाल टेक्ने पहिलो चिनियाँ हुन् । 

प्राचीनकालमा चीनमा हावाङ्गो र यात्से छियाङ नदीकिनारमा उन्नत मानव सभ्यताको विकास भएको थियो । तेस्रो ईशापूर्वमा सम्राट् चीन सिंह ती भन्ने अत्यन्त शक्तिशाली सम्राट्को उदय भएको थियो जसले १८०० वर्ग माइलको पर्खाल चीनको सुरक्षाका लागि बनाएका थिए । ईशा पूर्व छैटांै शताब्दीमा कन्फ्युसियस विचारकको प्रार्दुभाव भएको थियो । साथै लागोत्से भन्ने विचारक पनि थिए । मानिसले भोग र विलासको जीवनबाट बचेर पवित्र र सादा जीवन बिताउनु भन्थे । प्रसिद्ध सम्राट् बुतीका पालामा चीनको शासन प्रशान्त महासागरदेखि क्यासपियन महासागरसम्म एकछत्र फैलिएको थियो । छापाखाना, बारुद र बन्दुकको आविष्कार भएको थियो । 

मंगोल वंशका चंगेज खाको साम्राज्य रुस, टर्की, सिरिया, वग्दाद, पोल्यान्डसम्म फैलिएको थियो । मञ्चु वंशको उत्तरार्धमा चीन अत्यन्त कमजोर थियो । इसाई मिसिनरी, विदेशी व्यापारी आदिले विस्तारै आफ्नो प्रभाव बढाउन थालेका थिए । बेलायत, अमेरिका, फ्रान्सले एक्सट्रा टेरिटोरियालिटीको अभ्यास गर्न सफल भएका थिए । जापान, रुसलगायतको अधीनता एकैचोटी भएको पाइन्छ । 

सनयात्सेनले चीनलाई विदेशीहरूको पञ्जाबाट मुक्त गर्न कोमिताङ पार्टीको स्थापना गरे जसलाई रुसको समर्थन थियो । जसको उद्देश्य जनतामा राष्ट्रियताको भावना विकास गर्ने र बाहिरियासँग लड्ने र शासनलाई सुव्यवस्थित गर्नका लागि लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने थियो । सन् १९२६ मा सनयात्सेनको मृत्युपछि कोमिन्ताङले आफ्नो प्रधानसेनापति चयाङ काई सेकलाई बनाएको थियो । 

कोमीताङ दललाई परास्त गरेपछि चीनमा १९४९ कम्युनिस्ट सरकारको स्थापना भएको थियो र माओत्सुङ त्यसका अध्यक्ष भएका थिए । चीन र नेपालको सम्बन्ध ऐतिहासिक कालदेखि रहँदै आएको छ । बेला बखतमा चीनसँग नेपालको युद्ध नभएको भने पनि होइन । तिब्बतसँगको लडाइमा कतिपय समयमा चीन युद्धमा तानिएको पनि थियो र उसँगको लडाइमा नेपाल बेत्रावती सन्धि गर्न बाध्य भएको थियो । 

माओत्सेतुङ माक्र्सवादी, लेनिनवादी विचारधाराका कट्टर अनुयायी थिए । उनकै नेतृत्वमा कम्युनिस्ट शासन व्यवस्थाको स्थापना गरेका थिए । खासगरी उनी स्टालिनको शासन पद्धतिको समर्थक थिए । जापानसँगको युद्धमा चाङकाई सेनसँग मिलेर लडेका थिए । र पछि चाङकाई सेकलाई परास्त गरेर कम्युनिस्ट शासन स्थापना गरेका थिए । ख्रुस्चेव रुसको राष्ट्रपति भएपछि रुससँग उनको सम्बन्ध बिग्रेको थियो र ख्रुस्चेवलाई संशोधनवादी भन्दथे । माओ शक्ति बन्दुकको नालबाट जन्मन्छ भन्दथे । किसान वर्ग चिनियाँ क्रान्तिका लागि आवश्यक वर्ग हो । सर्वहारा वर्गको क्रान्ति र उसको अधिनायकत्वले मात्र बुर्जुवा वर्गको विचारधारालाई हटाउन सकिँदैन तसर्थ वर्ग संघर्षलाई तीव्र बनाएरमात्र समाजवाद स्थापना गर्न सकिन्छ । त्यसकारण वर्ग संघर्ष बुर्जुवा विचारधारा र तिनको सामाजिक जरा माथिको संघर्षको हो । सांस्कृतिक क्रान्ति परम्परावादका विरुद्ध छ । 

अर्कोतिर बीपी कोइराला राष्ट्रभित्रैको जहानियाँ राणाशासनका विरुद्धमा सशस्त्र क्रान्तिबाट नेतृत्वमा पुगेका थिए । केही समय माक्र्सवादतिर आकर्षित भएता पनि उनी प्रजातन्त्रका महासेनानी भएर अगाडि बढेका थिए राणाशासनको अन्त्यको संघर्षमा घनघोर कष्ट र पीडा बेहोर्न बाध्य भएका थिए । बीपी कोइरालाको शिक्षा भारतमा नै भएको थियो । कृष्णप्रसाद कोइरालालाई राणाहरूले देश निकाला गरेपछि बाल्यकाल कष्टका साथ बितेको थियो । युवा बीपी कोइराला महात्मा गान्धीले चलाएको इस्ट इन्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनमा सक्रिय भई जेलजीवन पनि बिताउन बाध्य भएका थिए । यदि भारतबाट ब्रिटिसलाई भगाउन सकियो भने ब्रिटिसको संरक्षण रहेको राणाशासनलाई सजिलै हटाउन सकिन्छ भन्ने थियो । स्वतन्त्रताका कट्टर हिमायती बीपी कोइराला थिए । राष्ट्रियताको प्रेरक थिए । प्रजातन्त्रको योद्धा थिए । निरंकुशताका कट्टर आलोचक थिए । प्रजातन्त्र बिना देश रहँदैन भन्थे । प्रजातन्त्र उनको आस्था थियो । समाजवादप्रति गहिरो रुचि थियो । भारतमा रहँदा उनको वैचारिक संगठन र वैचारिक सहयात्री समाजवादीहरू थिए । जयप्रकाश नारायण, डा.राममनोहर लोहिया, आचार्य कृपालजी, बिनो भावेजस्ता मूर्धन्य समाजवादीसँग रहेको थियो । यस पृष्ठभूमिबाट राजनीतिको यात्रा तय गरेका बीपी कोइराला २०१५ सालमा दुई तिहाइ मत ल्याई नेपाल कांग्रेसको तर्फबाट मुलुकको प्रधानमन्त्री बन्न पुग्नु भएको थियो । 

माओ र बीपी कोइराला अलगअलग मान्यता र राजनीतिक शिक्षाबाट आएका व्यक्तित्व थिए । उनीहरू दुवैको पुग्ने ठाउँ फरक थियो । संस्कृति र सभ्यता फरकफरक थियो । सोच फरक थियो । चीन विशाल थियो भने नेपाल सानो । जुनबेला बीपी प्रधानमन्त्री हुनुभएकै बेलामा चीनले आफ्नो अधीनमा लिएको थियो । चीन र भारतबीच सीमा समस्या उत्कर्षमा पुगेको थियो । भारतसँग हाम्रो अनेकौं सम्बन्धहरू थिए । बीपीले भारतीय भूमिमै आफ्नो राजनीति जीवन सुरु गरेका  थिए । दुवै ठूला देशको चेपुवामा रहेको नेपाल अत्यन्त पेचिलो राजनीतिक परिस्थितिमा थियो । साहस, धैर्य, चातुर्यता अनि विलक्षणताले काम गर्न नसकेको खण्डमा मुलुक धेरै ठूलो अप्ठेरोमा पर्न सक्तथ्यो । 

२०१६ साल फागुन २३ गते बीपीले प्रधानमन्त्रीको हैसियतमा चीनको औपचारिक भ्रमण गर्नुभएको थियो । चैत्र ८ गतेका दिन नेपाल र चीनबीच आर्थिक सहयोगसम्बन्धी सम्झौता र नेपाल र चीनका बीच सीमासम्बन्धी सम्झौता गरी दुईवटा बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर गरेका थिए । 

यसैगरी चीनका प्रधानमन्त्री चाउ एनलाई नेपालको भ्रमणमा २०१७ वैशाख १४ गते नेपाल आए । वि.सं. २०१७ वैशाख १६ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा दुवै देशका प्रधानमन्त्रीहरूले हस्ताक्षर गरेका थिए । 

१.    दुवै सरकार एकअर्काको स्वतन्त्र सार्वभौमिकता तथा प्रादेशिक अक्षुष्णतालाई मान्दछन् र सम्मान गर्दछन् । 

२.    दुवै सरकारले नेपाल अधिराज्य तथा गणतन्त्र चीनबीचको शान्ति तथा मैत्रीपूर्ण सम्बन्ध कायम राख्नेछन् र त्यसलाई बढाउने छन् । दुवैथरी आफ्ना झगडाहरू शान्तिपूर्ण कुराकानीद्वारा समाधान गर्न राजी छन् । 

३.    दुवैथरी समानता तथा पारस्परिक हितको सिद्धान्तअनुसार एकअर्काका घरेलु मामिलामा हस्तक्षेप नगरी दुवै देशका बीचको आर्थिक तथा सांस्कृतिक सम्बन्ध मैत्री तथा सहयोगको भावनामा विकास गर्न तथा अरू मजबुत तुल्याउन सहमत छन् । 

४.    यस सन्धिका अर्थ लगाउँदा या यसलाई कार्यान्वयन गर्दा कुनै मतभेद वा झगडा हुन आयो भने सो साधारण कूटनीतिक मध्यमबाट कुराकानीबाट सुल्झाइनेछ । 

५.    यस सन्धिको तुरुन्त अनुमोदन गरिनेछ र यो १० वर्षका लागि हुनेछ । 

२०१७ असोज १४ गते संयुक्त राष्ट्रसंघको साधारणसभामा चीनका सम्बन्धमा अत्यन्त महत्वपूर्ण भाषण गर्नुभएको थियो । “संयुक्त राष्ट्रसंघले यस संस्थामा गणतन्त्र चीनलाई उसको यथोचित स्थान नदिएसम्म यो संख्या न विश्वव्यापी हुन सक्छन्, बाहिरको संसारको राजनीतिक वास्तविकतालाई प्रतिविम्बित गर्न सक्छ । गणतन्त्र चीनलाई सदस्यता प्रदान नगरेसम्म संयुक्त राष्ट्रसंघले आफ्नो केही महत्वपूर्ण कारबाही पूरा गर्न सक्दैन ।”  

नेपाल र चीनको सम्बन्ध कति महत्वपूर्ण र न्यानो थियो भन्ने उहााको आत्मवृत्तान्तमा व्यक्त गर्नुले नेपालको राष्ट्रिय हितका लागि कति अपरिहार्य छ भन्ने कुरा चित्रण गरेको छ । 

सगरमाथामा चीनले आफ्नो दाबा प्रस्तुत गरिरहेको थियो । प्रधानमन्त्रीको भ्रमणका दौरानमा यो विवाद उठाएका थिए । चीनले प्रस्तुत गरेको नक्सामा चीन क्षेत्रभित्र चोमोलुङमाको नामले र नेपालको नासामा सिमानाको रूपमा सगरमाथाको नामले विद्यमान थियो । भ्रमणका दौरानमा “माओत्सेतुङले एभरेस्टलाई साझा चुचुरो मानौं किनभने नेपालमा यसको नाम छैन, मैले भने यसको नाम नेपालमा सगरमाथा छ । उसले फेरि भन्यो “न सगरमाथा न चमोलुङमा मितेरी प्रस्ताव गरेको थियो ।” पछि नेपालद्वारा प्रस्तुत नक्सालाई नै चीनले मान्यता दियो । 

एक अलग सम्बन्धमा बीपीले “सगरमाथा हाम्रो हो र हाम्रै रहेको छ जबसम्म म यस पदमा रहनेछु नेपाल एक इन्चमुनि पनि विदेशमा जान दिन्न । ”

नेपाल र चीनबीचको सगरमाथा समस्या रहँदै मुस्ताङ घटना घट्यो । २०१७ साल असार १६ गते नेपाली सीमाभित्र पसी नेपालका कर्मचारीहरूमाथि चिनियाँ फौजले गोली चलाई मालसामान लुट्ने र एकजनाको मृत्यु भयो । यस विषयलाई लिएर दुवै प्रधानमन्त्रीबीच चिठीहरू आदानप्रदान भए । नेपालका प्रधानमन्त्रीको प्रत्युत्तरमा चीनका प्रधानमन्त्रीले चिनियाँ सरकारले यस घटनाप्रति गहिरो खेद प्रकट गर्दछ । श्री ५ को सरकार समक्ष क्षमायाचना गर्दछु र त्यस दुर्भाग्यपूर्ण मृत्युप्रति समवेदना प्रकट गर्दै नेपालका तर्फबाट पेस गरिएको क्षतिपूर्तिको माग स्वीकार गर्न चीन सरकार राजी छ । यसरी मुस्ताङ घटनाको समाधान भएको थियो । चीनसँग अन्य सानातिना सिमानाका समस्याका सन्दर्भमा चिनियाँ प्रधानमन्त्रीले पत्रकार सम्मेलनमै नेपालसँग हाम्रो कुनै समस्या छैन । नेपाल त एउटा सानो मुलुक, हामीहरूको यत्रो ठूलो क्षेत्रफल, त्यसमा नेपालले जे भन्छ हामी मान्न तयार छौं केही सय वर्ग माइल नेपालले लियो भने हामी कम हुँदैनांै । जमिनका टुक्रा यताउति पर्नुभन्दा उसको मित्रता महत्वपूर्ण हो । 

बीपीको प्रधानमन्त्रीत्वकालमा चीनसँग र चिनियाँ नेताहरूको अनुभव र अनुभूति आफ्ना आत्मवृत्तान्तमा व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ– चु एनलाई साग मेरो अन्तिम बैठक पेकिङमा भयो । मैले चुएनलाई के भने मलाई तिमीहरूको आर्थिक सहायता चाहिन्छ, मैले देश बनाउन खोजिरहेको छु, तिमीहरूको आर्थिक सहायता, त्यसो हुनाले हामीलाई केही चाहिन्छ । भारतले १८ करोड सहायता गरेको थियो मैले शायद त्यही उल्लेख गरेको थिएँ । उसले भन्यो, त्यसभन्दा अलिकति कम्ती गरौंला । 

मैले भने भारतकै बराबरी किन सहायता गर्दैनौं । उसले भन्यो, होइन यो तिम्रा लागि पनि नराम्रो होला । हाम्रा लागि पनि राम्रो नहोला । तिमीलाई राम्रो किन हुँदैन भने हामीले धेरै सहायता दियांै भने भारत तिमीहरूसँग सतर्क हुन्छ र हामीहरूलाई किन उपयुक्त हुँदैन भने हामी अन्तर्राष्ट्रियस्तरमा भारतसँग प्रतिस्पर्धा गर्दछौं भन्ने अन्तर्राष्ट्रियस्तरमा पर्न जान्छ । हामीहरू तिमीहरूसँग मित्रता गर्न खोजिरहेका छौं त्यसो हुनाले हामीहरू कम्ती दिन्छौं यसमा नराम्रो नमान्नू ।

माओत्सेतुङ्ग भेटमा बीपीलाई माओले आफ्नो राष्ट्रिय अनुभवको उल्लेख गर्दा घटना र मिति उल्लेख गरी के भन्यौ भने त्यसभन्दा पहिलेसम्म ठूल्दाजु सम्झेर उसको अनुभवहरू बेसी छन्, लेनिन र क्रान्तिहरू भनेर जहिले पनि हामीहरू रुसको कुराबाट निर्देशित हुन्थ्यौं, त्यस घटनापछि हामीले के निश्चय गर्‍र्यौं भने अब हामी उनीहरूको कुरा मान्दैनौं । त्यसको केही वर्षपछि हामी सत्तामा पुग्यौं । अर्काको लहैलहैमा काम गर्दा अर्कोलाई फाइदा हुने काम बेसी हुँदो रहेछ, आफूलाई फाइदा हुन काम कम हुँदा हाम्रो त्यो अनुभव हो तिमीहरूले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ अर्काको निर्देशमा जानु हुँदैन । माउन्ट एभरेस्टका बारेमा सानो र ठूलो मुलुकहरूको सम्बन्धका बारेमा र अर्को पुँजी कम भए पनि प्रविधि पनि हाम्रो आफ्नै किसिमको हुनुपर्छ भन्ने बारे । 

“मलाई असाध्यै राम्रो लाग्यो माओसेतुङको, धेरै थिच्न नखोज्ने तर एउटा बुर्जुक व्यक्तिको जस्तो व्यवहार गर्‍यौं ।” उसले यो भनेको मलाई ज्यादै घत लाग्यो हाम्रो अनुभव छ जुन दिनदेखि हामी रुसी प्रभावबाट अलग भयौं, त्यसको केही वर्षभित्रैमा सत्तामा आयौं ।
चुएनलाईले भन्यो यहाँ जाडो छ बढी इन्तजाम गर्नुपर्छ । 

“मैले भने मसँग छँदैछ नि ओभरकोट । उसले भन्यो होइन यसले हुँदैन भनेर उसले मलाई एउटा ओभरकोट दियो । अझसम्म मसँग छ चुएनलाई ले दिएको त्यो ओभरकोट ।” 

कसरी आफ्नै प्रयत्नबाट ठूलो मेसिन प्रयोग नगरिकन हामीले बाघ बाँधिरहेका छौं त्यो तपार्इंले जान्न जरुरी छ । मलाई त्यहाँ दुई तीनवटा कुराले प्रभावित गरेका छन् । त्यत्रात्यत्रा ठूला बाघहरू, उनीहरूले बिना बुल्डोजर बिना मेसिन बनाएका थिए त्यो सम्भव थियो । चुएनलाई भ्रमणमा आएको बेलामा मैले उनलाई पोखरामा लगेको थिए । पोखरामा सिमेन्टको बाँध बन्दै थियो । त्यो हेरेर चु एनलाईले के भन्यो भने, तपाईंहरूलाई सिमेन्ट बाहिरबाट ल्याउनुपर्छ, ढुवानी गर्ने बाटो छैन । यत्रो खर्च हुन्छ । माटोले नै किन बनाउनु हुन्न त्यसले बढ्दा समात्छ । पहाडमा माटोको बाघ बनाउँदा पहाडको माटोसँग मिल्ने किसिमको हुँदा त्यसको पकड ज्यादा हुन्छ । सिमेन्टको भयो भन्ने ठूलो बाढी आउँदा टुट्छ । त्यो त प्रमाणित नै भयो ठूलो बाढी आयो र टुट्यो । 

चुएनलाई जस्तो साभ्य र सुसंस्कृत मान्छे मैले कम्ती देखेको छु । जवाहरलाल नेहरूलाई देखेको छु । मलाई लाग्छ दुईवटै तुलना गर्नुपर्‍र्यो भने चुएनलाई ज्यादा परिष्कृत मानिस लाग्छ । 

चीन भ्रमणबाट फर्केपछि बीपी भन्नुहुन्छ यी भ्रमण निकै सफल भएको थियो, म पनि प्रभावित भएको थिएँ, मलाई लाग्यो हामीहरूको बारेमा उनीहरूको धारणा हुँदो हो हामी पूरा भारततर्फ ढल्केका छौ । यो पनि बदलियो होला जस्तो लाग्छ ।

भारत र चीनको सम्बन्ध बिग्रेकै बेलामा चुएनलाई मैले बोलाएको थिए । चुएनलाईले कहिल्यै पनि मसँग भारत विरोधी कुरा गरेनन् । चीनसँगको मित्रता जसले गर्दा भारतसँगको मातहातबाला कुरा कम भयो । 

चीन र नेपालका बीचमा बीपीले निर्वाह गर्नुभएको कूटनीतिक सम्बन्धमा आवेग उत्तेजना र कुनै निश्चित आस्थाले प्रभावित देखिँदैन । सर्वप्रथम मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता अक्षण्डता र नेपाली स्वाभिमान अनि स्वतन्त्रताबाट डगमगाएको देखिँदैन । नेपालको राष्ट्रिय हित छिमेकीहरूसँगको मित्रवत् सम्बन्ध पारस्परिक सहयोग, सम्मानको पूरा ख्याल गरेर राष्ट्रिय स्वाभिमानको रक्षामा भूमिका निर्वाह भएको पाइन्छ । 

 

]]>