देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय राष्ट्रपतिको भ्रमण : पहिलो दिन नेताहरुसँगको छलफलमै व्यस्त

देशान्तर

काठमाडौं । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जीको पहिलो दिन निकै व्यस्त रह्यो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न आइपुगेका राष्ट्रपति मुखर्जी नेपालका उच्च नेतृत्वसँगको भेटवार्ता व्यस्त रहे । 

भारतीय राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । विमानस्थलमा राष्ट्रपति मुखर्जीको स्वागतार्थ उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र सवारीमन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही उपस्थित थिए। 

एउटै कारमा दुवै राष्ट्रपति 

विमानस्थलको स्वागतपछि दुवै देशका राष्ट्रपति एउटै कारमा सवार भई राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए ।    मुखर्जीको सवारी हुने रुटमा सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको हेलिकप्टरले हवाई गस्ती गरेको थियो । कारमा दुवै देशको झन्डा फहराइएको थियो । 

शीतल निवासमा उनीहरुबीच करिब एक घन्टा वार्ता भयो । 

नेपालमा संविधान जारी भएकामा बधाई 

दुबै राष्ट्रपतिबीचको वार्ता पारस्परिक हितमा केन्द्रित रहेर भएको परराष्ट्र स्रोतले जनाएको छ । भारतका राष्ट्रपति मुखर्जीले नेपालको संविधान जारी भएकामा राष्ट्रपति भण्डारी, नेपाली जनता र संविधानसभाप्रति बधाई ज्ञापन गर्नु वार्ताको उल्लेख्य पक्ष रह्यो । 

भेटवार्तापछि राष्ट्रपति मुखर्जी लैनचौरस्थित भारतीय राजदूतावासको स्वागत कार्यक्रममा सरिक भए । दूतावास परिसरमा उनले उपराष्ट्रपति पुन, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग भेट गरे । नेपालीसँगको उनको आधा घण्टाको भेटघाटले दुई देशबीच जनस्तरमा रहेको सम्बन्धलाई समेत प्रतिबिम्बित गरेको झल्को पाइन्थ्यो । 

त्यसपछि बौद्धस्थित हायात रिजेन्सी होटलमा उनले उपराष्ट्रपति पुन र त्यस लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरे । सौहार्दपूर्ण वातावरणमा भएका ती छलफलमा द्विपक्षीय हित र चासाका विषयमा विचारविमर्श भएको बुझिएको छ । 

भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा राष्ट्रपति भण्डारीले बुधबार बेलुकी सोल्टीमोडस्थित होटल सोल्टीमा आयोजना गरेको रात्रिभोजमा सरिक भए । 

त्यस अवसरमा दुवै राष्ट्रपतिले व्यक्त गरेको सारगर्भित र महत्वपूर्ण विचारले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ । विगत सात दशकमा अनेक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भारतसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने नेपाली जनताको इच्छालाई राष्ट्रपति भण्डारीले मुखरित गरे । भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उद्गार राष्ट्रपति मुखर्जीबाट व्यक्त भयो । समारोहमा नेपालका विभिन्न संस्कृति झल्कने गीत, सङ्गीत र नृत्य प्रदर्शन गरिएको थियो । 

अठार वर्षपछि भारतीय पक्षबाट भएको उच्चस्तरीय यो भ्रमणबाट नेपाली जनता हर्षित छन् । 

]]>