देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पशुपतिमा मुखर्जीले छाडेको सन्देश

देशान्तर

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जीले पशुपति क्षेत्रका घाटको पुनःनिर्माणमा सहयोग गर्ने चाहना व्यक्त गरेका छन् ।

पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेक र सवा लाख दीप प्रज्वलनसहितको विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्– “पशुपतिनाथ मन्दिर नेपाल र भारतका जनताका लागि समान श्रद्धाको केन्द्र हो ।”

नेपालको राजकीय भ्रमणको दोस्रो दिन आज बिहान पशुपतिनाथको दर्शनार्थ पुगेका राष्ट्रपति मुखर्जीले मन्दिरमा पुनः आउन पाएकामा आफू प्रसन्न रहेको उल्लेख गरे । “पशुपतिनाथ मन्दिर सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वको स्थान हो” आगन्तुक पुस्तिकामा उनले लेखेका छन् ।

पुरातात्विक महत्वको पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पाउँदा आनन्दको अनुभूति गरेको राष्ट्रपति मुखर्जीले पुस्तिकामा उल्लेख गरेका छन् ।

“नेपाल–भारत मैत्री पशुपतिनाथ धर्मशाला परियोजनाको स्थापनामा सहयोग गर्न पाउँदा भारत सरकारलाई खुसी लागेको छ, यो योजनाको अहिले कार्यान्वयन भइरहेको छ”– उनको मन्तव्यमा उल्लेख छ ।

अद्वितीय पशुपतिनाथ क्षेत्रको संरक्षण र सम्बद्र्धनमा सफलताको कामना पनि उनले गरेका छन् । सात वर्षअघि आएका बेलामा भन्दा अहिले बागमती नदी सफा भएकामा राष्ट्रपति मुखर्जीले खुसी व्यक्त गरे ।

पशुपति परिसरमा पुगेका राष्ट्रपति मुखर्जीलाई दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै नेपाल वेद विद्याश्रमका ब्राह्मण वटुकले वैदिक मन्त्रोच्चारणले स्वागत गरेको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।

“राष्ट्रपति मुखर्जीले विशेष पूजापछि भूकम्पले पशुपति प्राङ्गणमा के कति क्षति पुर्यायो भनी जिज्ञासा राख्नुभयो, आर्यघाट क्षेत्रको संरक्षण सम्बद्र्धनमा पनि उहाँले विशेष रुचि देखाउनुभएको छ” – उनले भने ।

राष्ट्रपति मुखर्जीले सबै मठमन्दिरमा खाममा राखेर दक्षिणा चढाएका थिए ।
कोषका तर्फबाट राष्ट्रपति मुखर्जीलाई काठले बनेको नृत्यनाथ, नटराज एवम् अन्य देवीदेवताका तीन फिट अग्लो मन्दिर उपहारस्वरुप प्रदान गरिएको थियो ।

 

]]>