देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुखर्जीको नेपाल भ्रमणको अन्तिम दिन आज अधिकांश उडान प्रभावित

देशान्तर

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणले शुक्रबार आन्तरिकतर्फका अधिकांश उडान प्रभावित हुने भएका छन् । अति विशिष्ठ भीभीआईपी उडानका कारण आन्तरिकतर्फका प्रायजसो उडानहरू प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । पोखरातर्फ भने बिहानका केही उडानबाहेक सबैजसो उडानहरू रद्द हुने भएका छन् ।

काठमाडौं–पोखरा तथा पोखरा–काठमाडौं दैनिक झन्डै ३८ वटा उडान हुँदै आएको छ । मुखर्जी भ्रमणले पोखरा–जोमसोमका केही उडानसमेत प्रभावित हुने छन् । काठमाडौंबाट जनकपुर र पोखराबाट काठमाडौं आउने समयमा भने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तरराष्ट्रिय दुवै तर्फका उडानहरू बन्द हुने छन् । ‘शुक्रबारका लागि आन्तरिकतर्फका धेरै उडानहरू प्रभावित हुने भएका छन्, हामीले नियमित उडानहरू कटौती नै गरेका छौं,’ सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले भने ।

सिम्रिकले शुक्रबार पोखरातर्फका अधिकांश उडान रद्द गरेको थापाले जानकारी दिए । काठमाडौं–पोखरा दैनिक सिम्रिक एयरलाइन्सले ६ वटा उडान गर्दै आएको छ । त्यस्तैगरी बुद्ध एयरले ६ वटा र यती एयरलाइन्सले ८ वटा उडान गर्दै आएका छन् । ताराले पोखरा–जोमसोम नियमित उडान गर्दै आएको छ ।

पोखरातर्फको नियमित उडानमा प्रभावित भए पनि काठमाडौंबाट अन्यत्र हुने उडानमा भने खासै धेरै असर नपार्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलअन्तर्गत रहेको आन्तरिक टर्निनलका प्रमुख उत्सव खरेल बताउँछन् । ‘भीभीआईपी उडानमा केही समय मिलाउनु पर्छ, तर धेरै असर नपर्ने गरी काम गरिरहेका छौं,’ खरेलले भने । भारतीय राष्ट्रपति मुखर्जी शुक्रबार बिहान १०ः२० मा जनकपुर जाने कार्यक्रम रहेको छ । त्यस्तैगरी जनकपुरबाट १२ः३० मा पोखरा र पोखराबाट ३ः४५ मा काठमाडौं आएर पुनः काठमाडौंबाट ५ः१५ बजे दिल्ली जाने कार्यक्रम छ । जसका कारण शुक्रबार दिनभरजसो आन्तरिक र बेलुका अन्तरराष्ट्रियतर्फको उडान र अवतरण प्रभावित हुने भएका छन् ।

]]>