देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ– राष्ट्रपति मुखर्जी

देशान्तर

पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको विकास र शान्तिको यात्रामा भारत सँगसँगै सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

नेपाली भारतीय भूतपूर्व सैनिकलाई आज सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै मजबुत बनाउनुपर्ने धारणा राखे ।

पोखराको सुन्दर नगरीमा आउन पाएर भूतपूर्व गोरखा सैनिकलाई भेट्न पाउँदा आफू हर्षित बनेको उनले बताए ।

पछिल्लो वर्षमा नेपालमा आएको विनाशकारी भूकम्पका कारण नेपाल तथा नेपाली जनताले जीवन तथा सम्पत्तिको दुर्भाग्यपूर्ण क्षति बेहोर्नु परेकोप्रति उनले भारतीय जनता र आफ्नो व्यक्तिगततर्फबाट दुःख एवम् समवेदना व्यक्त गरे ।

भारत सरकार गत वर्षको विनाशकारी भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि पूर्णरुपमा वचनबद्ध रहेको र यसका लागि नेपाल सरकारका साथमा काम गरिरहेको बताउँदै उनले भूकम्प प्रभावित छ हजार ८३२ पूर्वसैनिकको सहायताका लागि प्रति पेन्सनर रु ३२ हजार वितरण गरिएको जानकारी दिए ।

पछिल्लो २०० वर्षदेखि गोर्खा वीर भारतमा सेवा गरिरहेको बताउँदै राष्ट्रपति मुखर्जीले गोर्खा सैनिकले भारतीय सेनामा असाधारण वीरता तथा कर्तव्य निष्ठाका साथ सेवा गरेको स्मरण गरे ।

भारतमा ३२ हजार गोर्खा सैनिक सेवारत रहेको र अरु लगभग एक लाख २६ हजार पूर्वसैनिक र तिनका आश्रित नेपालमा पेन्सनको लाभ लिएको उनले उल्लेख गरे । पूर्वगोर्खा सैनिकले भारतको सीमा रक्षाका लागि दृढता र साहसका साथ काम गरेको चर्चा गर्दै उनले भूतपूर्व गोर्खा सैनिक नेपाल र भारतको मित्रताको आधारस्तम्भ भएको धारणा राखे ।

प्राचीनकालदेखि नेपाल र भारतबीच घनिष्ठ र बहुमुखी सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको र खुला सिमाना र मैत्री सन्धिका कारण सबै नागरिक एकअर्का देशमा आवतजावत गर्न सकेको र नेपाली नागरिक भारतमा बसेर व्यवसाय गर्न सकेका राष्ट्रपति मुखर्जीको भनाइ छ ।

“हाम्रा वीर सेवानिवृत्त सैनिकले दुई देशको सुरक्षा र विकासमा महत्वपूर्ण योगदान गरेका छन्”– उनले भने, “भारतीय सेनाका वीर पूर्वसैनिक र उनका आश्रित जनप्रति हामी आभारी छौँ, भारत सरकारकातर्फबाट तपाईंहरुको कुशलताका लागि कल्याणकारी योजना चलाइरहेका छौँ ।” प्रतिवर्ष लगभग तीन हजार एक सय करोड रुपैयाँ नेपालमा पेन्सन वितरण भइरहेको र चालु आर्थिक वर्षमा लगभग चार हजार करोड नेपाली रुपैयाँ वितरण गर्ने योजना रहेको उनले जानकारी गराए ।

वृद्ध अवस्थामा भूतपूर्व गोर्खा सैनिकको स्वास्थ्यको ख्याल राख्नका लागि नेपालमा पूर्वसेवारत योगदान स्वास्थ्य योजना लागू गर्नका लागि लगभग एक करोड रुपैयाँ गत वर्ष उपचार सहायताका रुपमा वितरण गरिएको उनले बताए ।

भारतीय सेनाको सर्वोच्च कमान्डर भएको नाताले पूर्वसैनिकका लागि कल्याणकारी योजना नेपालमा पनि लागू भइरहेको जानकारी दिँदै राष्ट्रपति मुखर्जीले ‘वन रेन्क वन पेन्सन’ अनुसार ३१ डिसेम्बर २०१५ मा पाउने वेसिक पेन्सनको २.५७ गुनाले भारतीय सेनाले पनि पाउने जानकारी दिए ।

एक जनवरी २०१६ बाट लागू हुनेगरी प्रदान गरिने उक्त सुविधाबाट भूतपूर्व भारतीय सैनिक पनि लाभान्वित हुनेछन् । “निवृत्त भइसकेका पूर्वसैनिकको योगदानलाई भुल्न नसकेर तपाईंहरुको हित र कल्याणका लागि सधैँ तयार छौँ”– उनले भने ।

भारतीय राजदूत रणजित रायले गोर्खा भूतपूर्व सैनिकलाई सम्बोधन गर्न भारतका राष्ट्रपतिलाई पोखरामा पाउनु सबैका लागि गौरवको विषय भएको बताए ।

]]>