देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुण दलमा समानान्तर कमिटी गठन गर्ने चेतावनी

देशान्तर

काठमाडौं । नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कात्तिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै असन्तुष्ट पक्षले आफूहरूले उठाएका कुराहरू सम्बोधन नभए समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षहरूले ७५ वटै जिल्लाहरूको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै तरुण दलका वरिष्ठ केन्द्रीय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणहरूको भावनालाई समेट्ने गरी महाधिवेशन गर्नुपर्ने माग गरे । उनले अघि भने, ‘महाधिवेशन पाँच पटक मिति तोक्दै स्थगित गर्ने काम गरिएको छ, एकलौटी ढंगले महाधिवेशन गर्ने चेष्टा गरिए त्यो हामी कुनै हालतमा मान्दैनौं ।’ 

उनले वर्तमान अध्यक्ष उदयशमशेर राणाले पोखरामा लुकेर पत्रकार सम्मेलन गर्दै महाधिवेशनको नयाँ मिति तोकेकोमा कडा आक्रोश पोख्दै एकलौटी ढंगले महाधिवेशन गरेर आफूहरू त्यसलाई बहिष्कार गर्दै देशव्यापी रूपमा समानान्तर कमिटी गठन गर्ने चेतावनी दिएका हुन् । 

त्यस्तै कार्यक्रममा विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौलाले वर्तमान नेतृत्वले आफूहरूलाई महाधिवेशन नै नचाहेको जसरी चित्रण गरेको उल्लेख गर्दै भने, ‘हामी विधिवत् महाधिवशेनको पक्षपाती हौं, तर यहाँ वर्तमान नेतृत्वले हामीलाई विरोधी जसरी चित्रण गरिरहेको छ, यसमा हाम्रो घोर आपत्ति छ ।’ 

सिटौलाले संस्थापन पक्षले ६८ जिल्लाको अधिवेशन भएको दाबी गरे पनि अहिलेसम्म ६५ वटा जिल्लाको मात्रै अधिवेशन भएको बताए । उनले अघि भने, ‘अझै पनि १५ वटा जिल्लामा विधिवत् अधिवेशन हुन सकेको छैन ।’ उनले संस्थापन पक्षले जबर्जस्ती पेलेरै महाधिवेशन गर्ने हो भने आफूहरू त्यसको विरोध गर्दै जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए । सिटौलाले आफूहरू शरीरमा एक थोपा रगत हुन्जेलसम्म पनि विधिको लागि लडिरहने बताए । कार्यक्रममा वरिष्ठ नेता एवम् पूर्व अध्यक्ष विनोद कायस्थले तरुण दल अहिले पनि जनताको आस्थाको केन्द्र भएको भन्दै निरंकुशता हावी भए त्यसलाई कुनै हालतमा नमान्ने बताए । उनले एउटा पक्षले अर्को पक्षलाई पेलेर जाने हो भने त्यसले संगठनलाई दीर्घकालीन असर पर्ने बताए । 

त्यस्तै कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले पनि आफूहरू विधिवत् महाधिवेशनको पक्षमा रहेको भन्दै विधि र प्रक्रियालाई मिचेर संस्थापन पक्ष एकलौटी ढंगले अघि बढे सशक्त प्रतिकार गर्ने र देशव्यापी रूपमा समानान्तर समिति बनाउने चेतावनी दिइन् । 

असन्तुष्ट पक्षहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न जिल्लामा चरम विवाद रहेको, हालसम्म दलको विधानको टुंगो नलागेको र महाधिवेशन पोखरामै सम्पन्न गर्ने कुरासमेत आफूहरूसँग सरसल्लाह नगरी पार्टीको निर्देशन समितिको बैठकसमेत नबसी एकपक्षीय ढंगले वर्तमान अध्यक्षले पत्रकार सम्मेलन गरेको बुझिन आएकोले हाम्रो ध्यान आकृष्ट भई गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं ।’ 

विज्ञप्तिमा थप भनिएको छ, ‘नेपाल तरुण दल अध्यक्षले भक्तपुर, धनुषा र सप्तरीमा एकपक्षीय ढंगबाट सदस्यता वितरण गरेको, धादिङ, उदयपुर, बाँके, बझाङ, रूपन्देही, सुर्खेत, पर्सा, सर्लाही जबर्जस्ती एकपक्षीय ढंगले सदस्यता वितरण गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण छ ।’ करिब एक दशकपछि हुन लागेको यस महाधिवेशनमा सम्पूर्ण तरुण साथीहरूको सक्रिय सहभागिता बिना ७५ जिल्लाको अधिवेशन विधानसम्मत् नगराई १५ वटा जिल्लालाई र २ नम्बर प्रदेशका अधिकांश जिल्लालाई महाधिवेशनमा सहभागी हुन पाउने अधिकारबाट वञ्चित गरेर संगठन कब्जा गर्ने नियत संस्थापन पक्षले देखाएकोमा समेत असन्तुष्टहरूले आरोप लगाएका छन् । 

विज्ञप्तिमा थप भनिएको छ, ‘समस्यालाई यथावत् राखी पटकपटक महाधिवेशनको नाटक मञ्चन गरिएकोले वर्तमान नेतृत्व महाधिवेशन नगराउने तिर उद्यत् रहेको हाम्रो ठहर छ । गत भदौ २४, २५, २६ र असोज ३, ४, ५ मा जुन कारणले महाधिवेशन स्थगित भएको थियो तिनै कारणहरू ज्युँका त्युँ राखेर यथास्थितिमा एकपक्षीय महाधिवेशन गर्न खोजिए हामी कठोर कदम उठाउन बाध्य हुनेछौं । त्यसको सम्पूर्ण जिम्मेवारी वर्तमान तरुण अध्यक्ष र निर्देशन समिति साथै पार्टी सभापतिले लिनु पर्नेछ ।’

 

]]>