पोखरा । नेपाली कांग्रेसका नेताहरूले पार्टीलाई एक ढिक्का बनाएर अब हुने स्थानीय, प्रदेश र संघीय संसद्का तीनवटा चुनावका कांग्रेसलाई बहुमत दिलाउने उद्घोष गरेका छन् । तरुण दलको चौथो महाधिवेशनको उद्घाटन गर्दै कांग्रेसका शीर्ष नेताहरूले अब सम्पूर्ण रूपमा पार्टीको ध्यान चुनावमा केन्द्रित गर्ने उद्घोष गरे ।
उनीहरूले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले कस्तो अभियान सञ्चालन गर्छ भनेर सिंगो नेपालले मात्र नभएर सिंगो विश्वले नेपाली कांग्रेसलाई हेरिरहेकाले संविधान कार्यान्वयनका लागि कांग्रेसले चुनावसँगै ध्यान केन्द्रित गर्ने घोषणा गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब तीनवटै चुनाव कांग्रेसले जित्नुपर्ने भन्दै गाउँ पस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । सभापति देउवाले भने– ‘जनतालाई भ्रम फैलाउने काम एमालेले गरेको छ, कुनै पनि हालतमा हामीले तीनैवटा निकायको चुनाव जित्नैपर्छ, यो नेपाली कांग्रेसको अन्तिम मौका हो । त्यसैले तपार्इंहरू सबै गाउँगाउँ जानुस् ।’
सबैभन्दा गतिशील शक्ति तरुण दल र नेविसंघ भएको भन्दै उनले अब जिल्ला दौडाहामा लाग्न निर्देशनसमेत दिए । साथै तरुण दलको नेतृत्व सर्वसम्मत चयन गर्न पनि सभापति देउवाले तरुण दलका नेता कार्यकतालाई निर्देशन दिए । सबैलाई समेटेर सन्तुलित ढंगले नयाँ कार्यसमिति चयन गर्न उनले सुझाव दिए । तरुण दलमा महत्वपूर्ण भूमिका खेलेका युवाहरूलाई कांग्रेसले उचित जिम्मेवारी दिइने देउवाले बताएका छन् ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट दलहरूलाई शान्त पारी चुनावको बाटो खुलाउनुपर्ने बताए । साथै उनले उनले मधेसी मोर्चा तथा संघीय गठबन्धनमा आबद्ध दलहरूलाई संविधान संशोधनका लागि लचिलो हुन आग्रह गरेका छन् । उनले सबै पक्षलाई एकै मोर्चामा ल्याउने शक्ति कांग्रेस भएको भन्दै कांग्रेस विभाजित भएर जाँदा मुलुक र प्रजातन्त्र संकटमा परेको इतिहास स्मरण गरे । वरिष्ठ नेता पौडेलले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले असन्तुष्ट दलहरूलाई राष्ट्रिय एकता र अखण्डता कायम हुनेगरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले सभापति देउवाप्रति संकेत गर्दै एक्लै पार्टी चलाउने प्रयास गरे सफल नहुने भन्दै तरुण दलको महाधिवेशनबाट नेपाली कांग्रेस एक ढिक्का भएको सन्देश लिएर चुनावमा होमिनुपर्ने बताए ।
उनले आफू पार्टी सभापतिलाई सधैं सहयोग गर्ने पक्षमा रहेका बताए । कांग्रेस महामन्त्री शशांक कोइरालाले देश र पार्टीमा युवा पुस्तालाई उचित स्थान दिएर देश विकासमा अग्रसर बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले युवा शक्तिले नै अब मुलुकलाई कता लाने भन्ने स्पष्ट धारणा तय गर्नुपर्ने भएकाले युवाहरूले पार्टीलाई एकताबद्ध बनाउने सन्देश लिएर महाधिवेशनपछि जिल्लाजिल्ला फर्कनुपर्ने बताए । यस्तै कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रदेश सीमांकन, नागरिकता, राष्ट्रिय सभा र भाषाबारे संविधान संशोधनको तयारी भइरहेको जानकारी दिए । उनले हिन्दी भाषा पहिल्यैदेखि तराई क्षेत्रमा सम्पर्क भाषाको रूपमा रहेको भन्दै यसलाई विवादमा ल्याउनु उचित नहुने बताए । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सबै दलको सहमतिमा संविधान संशोधन गरिनुपर्ने बताए ।
]]>
प्रतिक्रिया