देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस नेतृत्वविरुद्ध सुनियोजित प्रचारवाजी

देशान्तर

काठमाडौं । सभापति शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिसँग भेट गरेको भन्दै सुनियोजित तवरले झुठो हल्ला भिजाइएपछि नेपाली कांग्रेसले त्यसको जोडदार खण्डन गरेको छ । एमाले समर्थित केही अनलाइन मिडियाहरुले सभापति देउवाले भारतको गोवामा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी भएको बखत तिब्बती धार्मिक नेता दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै झुठो समाचार सम्प्रेशित गरेका थिए ।

स्वयम् सभापति देउवा स्वदेश फर्कने क्रममा आफूले कुनै पनि तिब्बतीसँग भेट नगरेको स्पष्ट पारिसक्दा समेत यो अनावश्यक हल्लालाई अझ चर्को बनाइएपछि शुक्रबार पार्टीले विज्ञप्ती नै प्रकाशित गरेर त्यसको खण्डन गरेको हो । अझ मुख्य विपक्षी दल नेकपा एमालेले यो विषयका बारेमा सरकारले जवाफ दिनुपर्ने भन्दै संसद्मा समेत प्रश्न गरेको छ । एमालेका नेताहरू काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान जस्तो गरी कांग्रेस सभापति देउवाको भारत भ्रमणलाई विवादित बनाएर आफ्नो पार्टीलाई कथित राष्ट्रवादी पार्टी भएको देखाउन यो अभियानमा लागेको स्पष्ट भएको छ ।

यो विषयमा मुख्य विपक्षी दलले समेत संसद्को विषय उठाएपछि नेपाली कांग्रेसले एक चीन नीतिप्रति पार्टीको स्पष्ट दृष्टिकोण रहेको जनाएको छ । मुख्य विपक्षी दल नेकपा एमाले नेताहरूले अहिले देउवा सहभागी भएको कार्यक्रममा प्रमुख अतिथि दलाई लामा रहेको कार्यक्रमका मुख्य वक्ताको रूपमा एमालेका अहिलेका पार्टी सचिव प्रदीप ज्ञवालीले एउटै मञ्चमा सहभागी भएको भन्ने तथ्य बिर्सेर कांग्रेस सभापति देउवाको भारत भ्रमण विवादित बनाउने योजना बनाएको बताइएको छ । सन् २००७ मा इन्डिया फाउन्डेसनले गरेको अहिलेको जस्तै कार्यक्रममा दलाई लामा प्रमुख अतिथि थिए र एमालेका अहिले पार्टी सचिव रहेका नेता प्रदीप ज्ञवाली एउटै मञ्चमा सहभागी भएर भाषण गरेका थिए । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी पार्टी पञ्चशीलको सिद्धान्तमा दृढ रहेको जनाउँदै कांग्रेसको चीन सरकारसँगको सम्बन्धका विषयमा भ्रम सिर्जना गर्ने दुष्प्रयास गर्नु दुर्भाग्यपूर्ण हो भनी उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको एक चीन नीतिप्रतिको दृष्टिकोण कांग्रेस पार्टी र सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई कसैले सिकाइरहनु पर्दैन ।’ 

यस्तै, सभापति देउवाको भारत भ्रमणका सम्बन्धमा केही छापा माध्यममा भ्रामक र कपोलकल्पित प्रचार भएको भन्दै कांग्रेसले त्यसको निन्दा गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयले गोवाको कार्यक्रमको उद्घाटनसत्र सकिनेबित्तिकै सभापति देउवा कार्यक्रम स्थलबाट बाहिरिएको र तर यो यथार्थलाई बिर्सेर केही नेपाली सञ्चारमाध्यमले पटकपटक सभापति देउवाले दलाई लामाका प्रतिनिधिलाई भेटेको भन्दै नियोजित रूपमा र अनर्गल प्रचारको शैलीमा समाचार सम्प्रेषण गरिरहेको प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो कार्यक्रमको उद्घाटनसत्रको प्रमुख अतिथिका रूपमा सभापति देउवाले सम्बोधन गर्नुभएको र कार्यक्रममा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतका रेलमन्त्री सुरेश प्रभु र आध्यात्मिक चिन्तक स्वामी तेजोनन्द सहभागी वक्ताका रूपमा मञ्चमा रहनुभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कहाँ कहाँको तस्बिर जोडी उहाँसँगै बसेको र अन्तक्र्रियासमेत गरेको तथा सभापति देउवा एक चीन नीतिप्रति संवेदनशील नभएको भनी दुष्प्रचार गर्नु दुर्भाग्यपूर्ण हो ।’ कांग्रेसले सभापति प्रमुख अतिथि रहेको कार्यक्रमको दर्शकदीर्घामा को, कहाँ बसेका थिए भन्ने कुनै जानकारी उहाँलाई नभएको र त्यो चियोचर्चा गर्ने विषय पनि नभएको विज्ञप्तिमा जनाइएको छ ।

 

]]>