देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुण दलमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

देशान्तर

काठमाडौं  । नेपाली कांग्रेस र तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिका बीचमा एकीकरण भएपछि एक दशकसम्म हुन नसकेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनको पोखरामा शनिबार उद्घाटन भएको छ । महाधिवेशन उद्घाटनसँगै आन्तरिक विवाद कायम रहे पनि तरुणको भावि नेतृत्व भने सर्वसम्मत रूपमा चयन गर्ने तयारीमा नेताहरु जुटेका छन् । यदी कुनै उथल पुथल भएन भने सम्भवत नेपाल तरुण दलको नेतृत्व सर्वसम्मत रुपमा चयन हुने बलियो सम्भावना रहेको एक नेताले बताए । झन्डै एक दर्जन जिल्लामा विवाद कायमै रहेको अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा दलको चौथो महाधिवेशन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्ने सबै पार्टी नेताहरूले सर्वसम्मतिले तरुण दलको नेतृत्व चयन गर्ने घोषणा गरेका छन् । अहिलेको संकटपूर्ण अवस्थामा पार्टी एक ढिक्का भएको सन्देश दिनका लागि पनि तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आवश्यकता शीर्ष नेताहरूले औंल्याएका थिए  । तरुण दलमा निर्वाचन भएको अवस्थामा वर्तमान कार्यसमितिमा रहेकाहरू प्रतिस्पर्धामा उत्रन नपाउने, कतिपय तरुण दलका नेताहरूको विधानमा व्यवस्था भएअनुसार ४५ वर्षको उमेरहद नाघेको तथा कतिपय तरुण दलको नेतृत्वका लागि योग्य नेताहरू प्रतिनिधि नभएको अवस्था नेताहरूले इच्छाएको तथा वर्तमान अवस्थामा तरुण दललाई नेतृत्व दिन सक्ने मान्छे नेतृत्वमा आउने सम्भावना नभएको भन्दै सबै नेताहरू सर्वसम्मत नेतृत्व चयन गर्ने अभियानमा जुटेका हुन् । 

पार्टीका शीर्ष नेताहरू तरुण दलको पदाधिकारीमा सर्वसम्मत बनाउने कसरतमा जुटेका छन् भने पार्टीले गठन गरेको बालकृष्ण खाँड नेतृत्वको निर्देशक समिति केन्द्रीय समिति र प्रदेश समितिमा रहनेहरूको नामावली तयार पार्न जुटेको छ । नेताहरूले उद्घाटन सत्रमा दिएको मन्तव्य र महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूको भावनालाई बुझ्दा तरुण दलको नेतृत्व सर्वसम्मत चयन हुने निर्देशक समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जानकारी दिइन् । 

पार्टीको १३ औं महाधिवेशनपछि भएका नेपाल विद्यार्थी संघ तथा महिला संघको आन्तरिक निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुँदै आएका छन् । तर तरुण दलमा भने सहमति जुटाउन सबै पक्षका नेताहरु जुट्नुलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । विशेष स्रोतका अनुसार तरुण दलको अध्यक्ष सभापति शेरबहादुर देउवा पक्षबाट, उपसभापति बीपी कोइरालाका नाति सिद्धार्थ कोइराला, महासचिवमा वरिष्ठ नेता पौडेल पक्षको र कृष्ण सिटौला पक्षलाई कोषाध्यक्ष दिने गरी सर्वसम्मतिको प्रयास भइरहेको छ । तर सिटौला पक्षले आफूहरूले उपाध्यक्ष पाउनुपर्ने दाबी गरिरहेकाले सर्वसम्मतिको प्रयास लम्बिन पुगेको स्रोतले बतायो ।

सिटौला पक्षले उपाध्यक्षको संख्या बढाएर भए पनि आफूहरूलाई उपाध्यक्ष पद चाहिने दाबी गरेका कारण सर्वसम्मतिका लागि केही ढिला भएको बताइएको छ । सर्वसम्मत नेतृत्व चयन गर्दा तरुण दलको अध्यक्षमा नेपाल विद्यार्थी संघको अध्यक्षको दाबी गर्दै आएका जितजंग बस्तेतलाई बनाउने सम्भावना रहेको बताइएको छ । जितजंगका नाममा सर्वसम्मति हुन नसकेमा खोटाङका नेता सुवास पोखरेल वा कास्कीका गुरु बराललाई अध्यक्ष बनाउने सम्भावना रहेको निर्देशक समितिका एक सदस्यले जानकारी दिए । त्यसैगरी महासचिवमा टेकराज पौडेल, लक्ष्मी खतिवडा तथा दामोदर कोइरालामध्ये एकजनालाई बनाउने सम्भावना रहेको छ । सिटौला पक्ष सहमतिमा आए उनीहरूले सिफारिस गरेका नारायण भट्टराईलाई कोषाध्यक्ष बनाइने सम्भावना रहेको बताइएको छ । 

महाधिवेशनमा ७१ जिल्लाका करिब १४ सय प्रतिनिधि सहभागी हुनेछन् । तरुण दलको विधानअनुसार महाधिवेशनमा महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट नौ जना सहभागी हुने विधानमा छ । त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन/तीनजना सहभागी हुने व्यवस्था छ । तरुण दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ । केन्द्रीय समितिका ४५ जना पनि स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यसअघि ६१ जनाको कार्यसमिति हुनेमा अब बढाएर ७५ पुग्न सक्ने पदाधिकारी बताउँछन् ।
तरुण दलको चौथो महाधिवेशन अन्तर्गत आइतवार बन्द सत्र सुरु हुनेछ भने मंगलबार नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

 

]]>