देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पारवहन सन्धिको प्रोटोकल बारे नेपाल र चीनबीच छलफल सुरु

देशान्तर

काठमाडौं । नेपाल र चीनबीच गत वर्ष भएको पारवहन सन्धि कार्यान्वयन गर्न सन्धिको प्रोटोकलका लागि द्विपक्षीय छलफल सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा द्विपक्षीय बैठक सुरु भएको हो । नेपालले प्रोटोकलको मस्यौदा चिनियाँ पक्षसमक्ष राखेको र त्यसमा छलफल चलिरहेको ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले  बताए ।

सन्धिको प्रोटोकल तय गर्ने पहिलो बैठक भएकाले कुन बन्दरगाह प्रयोग गर्ने, कुन रेलमार्ग तथा सडकमार्ग हुँदै सामग्री ल्याउनेजस्ता विषयमा छलफल प्रवेश नै नभएको कार्कीले बताए । ‘त्यति विस्तृतमा छलफल पुगेकै छैन । प्रोटोकलमा के–के शीर्षक रहने भन्ने संरचनाको विषयमा नेपालले प्रस्ताव राखेको छ,’ महावाणिज्यदूत कार्कीले भने, ‘प्रोटोकल बनाउने विषय जटिल हो । हामीले मस्यौदा राखेका छौँ । भोलि पनि छलफल हुनेछ ।’ पारवहनको प्रोटोकलको मस्यौदा नेपाली पक्षले चिनियाँ पक्षसमक्ष प्रस्तुत गरे पनि कुन बन्दरगाह प्रयोग गर्नु नेपालका लागि नजिक र मितव्ययी हुन्छ भन्ने अध्ययन भने नगरेको टिमका एक सदस्यले बताए ।

गत वर्ष मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको पारवहन सन्धिपछि नेपाल र चीनबीच प्रोटोकलको विषयमा भएको यो पहिलो बैठक हो । यसअघि तय भएका दुई बैठक स्थगित भएका थिए । १ देखि ४ मंसिरसम्म तय बैठकमा औपचारिक छलफल भने बिहीबारबाट मात्र सुरु भएको हो । नेपालका तर्फबाट बैठकको नेतृत्व वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजूले गरेका छन् । टोलीले नेपालबाट चीन हुँदै नेपालमा सामान ढुवानी गर्ने सुविधासम्बन्धी प्रोटोकलको विषयमा पनि छलफल गरेको छ । चीनसँग सन् १९९४ मा नेपालबाट चीन हुँदै नेपाल सामग्री ढुवानी गर्नेसम्बन्धी सम्झौता भएको थियो । नयाँ पत्रिकामा समाचार छ ।

]]>