देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा : कोइराला महामन्त्री

देशान्तर

पोखरा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले राष्ट्र बचाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताएका छन् । प्रजातान्त्रिक विचार समाज कास्कीद्वारा शनिबार आयोजित ‘नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै उनले प्रमुख तीन दलले असन्तुष्ट मधेसी मोर्चालाई पनि संविधान संशोधनमार्फत विश्वासमा लिएर तीनवटै निर्वाचन सम्पन्न गर्ने गरी संविधान कार्यान्वयनमा अग्रसर हुनु वर्तमानको प्रमुख आवश्यकता भएकामा जोड दिए ।

‘काग्रेस एकताबद्ध हुन सकेमात्र देशमा आइपर्ने चुनौतीको सामना गर्न सकिन्छ’, उनले भने– ‘२०७४ माघ ७ गतेभित्र तीनवटै निर्वाचन नभए संविधान हराएर जान्छ । ’उनले नेपाली कांग्रेस गुटउपगुटमा रुमलिएमा सबै तहका निर्वाचन कांग्रेसका लागि अत्यन्तै जटिल बन्नेतर्फ गम्भीर बन्नु आवश्यक भएको बताए । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले देश अहिले जटिल अवस्थामा रहेको उल्लेख गर्दै मधेसी मोर्चालाई पनि समेटेर अघि बढ्नुपर्ने कांग्रेसको बाध्यता एवम् जिम्मेवारी भएको धारणा राखे ।

राष्ट्रिय समाचार समितिका अध्यक्ष तथा समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले संविधान कार्यान्वयनको अहिलेको चुनौती सामना गर्न कांग्रेस गुट, उपगुटबाट माथि उठ्न आवश्यक भएको बताए ।सांसदद्वय शारदा पौडेल र बिन्दा रानाले संविधान कार्यान्वयनको चुनौतीलाई कांग्रेसले अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

बुद्धिजीवी डा. विपिन अधिकारीले नयाँ संविधान संशोधनका वर्तमान र त्यससँग सम्बन्धित चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्दै मधेसी मोर्चाको मागअनुसार संविधान संशोधनको विषय चुनौतीपूर्ण भएको बताउनुभयो ।
समाजका केन्द्रीय महासचिव तथा गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक गोकर्ण अर्यालले देश अहिले पनि संक्रमणकालमा रहेकाले लोकतान्त्रिक पद्धतिको संस्थागत विकासका लागि समाज पहरेदारका रूपमा रहने विचार व्यक्त गर्नुभयो ।

समाजका जिल्ला अध्यक्ष डा. गिरिधारी शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राजनीतिक विश्लेषक देवराज चालिसे, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष किशोरदत्त बराल, नेपाली कांग्रेस कास्कीका उपाध्यक्ष हरि आचार्यलगायतले संविधानको कार्यान्वयनका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । सो अवसरमा महामन्त्री डा.कोइरालाले समाजद्वारा प्रकाशित विचार प्रवाह पाँचौं अंकको लोकार्पण गरे ।

 

]]>