देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसका शीर्ष नेता मधेस यात्रामा

देशान्तर

काठमाडौं । संविधान संशोधनमार्फत मधेसको असन्तुष्टि सम्बोधनको तयारी भइरहेका बेला नेपाली कांग्रेसले तराई मधेस अभियानको सुरुवात गरेको छ । यो अभियानअन्तर्गत कांग्रेसका शीर्ष नेता तराई यात्रामा निस्किएका छन् । मधेसकेन्द्रित दलहरूले संविधान संशोधनका लागि १५ दिनको समय दिएपछि कांग्रेसका शीर्ष नेताहरू संविधान संशोधनको बारेमा स्थानीय जनता, बुद्धिजीवी तथा आन्दोलनरत मधेसी दलहरूका स्थानीय नेताहरूसँग छलफल गर्न तराई झरेका हुन् ।

२७ कात्तिकदेखि चार दिन तरुण दलको महाधिवेशनमा व्यस्त कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल केही दिनको कार्यक्रम लिएर तराईका जिल्ला दौडाहामा निस्किएका छन् । बिहीबारदेखि देउवाले पश्चिम तराई र वरिष्ठ नेता पौडेल मध्यतराईको यात्रामा छन् । केही समयअघि जिल्ला दौडाहाबाट फर्किएका महामन्त्री डा.शशांक कोइराला पनि फेरि जिल्ला दौडाहामा निस्कँदैछन् ।

देउवा चार दिनको कार्यक्रम लिएर बिहीबार कैलाली पुगेका हुन् । कैलालीबाट देउवा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको क्षेत्रीय महोत्सव उद्घाटन गर्न पुगे । डँडेलधुराको कार्यक्रम सकेर उनी शनिबार जोगबुढामा पुलको उद्घाटन गरे । उनी कञ्चनपुर फर्केर त्यहाँ उनले आज कार्यकर्ता भेटघाट गर्दैछन् । आजै उनी काठमाडौं फर्कंदैछन् । 

संविधानमा तराई मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गर्न भन्दै नेता रामचन्द्र पौडेल एक साता लामो तराई यात्रामा निस्किएका छन् । २ मंसिरदेखि वीरगन्जबाट तराईयात्रा थालेका पौडेल बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमणपछि ७ मंसिरमा काठमाडौं फर्कने कार्यक्रम रहेको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेर पोखराबाट फर्केको भोलिपल्टै पौडेल तराई यात्रामा निस्केका हुन् । उनले संविधान संशोधनमा के कस्ता विषय समेट्न आवश्यक छ भनेर तराईका बुद्धिजीवीहरूसँग समेत छलफल गर्नेछन् । ‘संविधान संशोधनका बारेमा तराई मधेसका जनतासँग साक्षात्कार गर्ने उद्देश्यले २ नम्बर प्रदेशका सबै जिल्लामा जान लाग्नुभएको हो’, अधिकारीले भने ।

पौडेलले ३ मंसिरमा बारा पुगे, ४ मंसिरमा रौतहटको आमसभालाई सम्बोधन गरे । र आज (५ मंसिर) सर्लाहीमा आमसभा सहभागी हुने तथा कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीहरूसँग छलफल गर्ने कार्यक्रम छ । ६ मंसिरमा महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र ७ मंसिरमा धनुषा कांग्रेसले आयोजना गर्ने कार्यकर्ता भेटघाट सकेर पौडेल काठमाडौं फर्कनेछन् ।

तिहारपछि महोत्तरी, सर्लाही र सुनसरीमा भएका पार्टीका कार्यक्रममा सहभागिता जनाएका महामन्त्री डा.शशांक कोइराला शनिबार पोखरा पुगे । त्यसपछि आज बुटवलमा हुने कार्यक्रममा सहभागिता जनाएपछि कोइराला काठमाडौं फर्कनेछन् । लगत्तै नवलपरासीमा हुने कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए । कांग्रेस कोषाध्यक्ष एवं शान्तिमन्त्री सीतादेवी यादव पनि ६ मंसिरमा महोत्तरी जाँदैछिन् ।

 

]]>