देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मागको ८ प्रतिशतमात्र कफी उत्पादन

देशान्तर

काठमाडौं । नेपाल व्यापार एकीकृत रणनीति एनटीआईएस २०१६ अन्तर्गत निर्यातयोग्य उपजको सूचीमा रहेको कफी उत्पादन मागको करिब ८ प्रतिशतमात्र रहेको पाइएको छ ।अन्तरराष्ट्रिय बजारमा वार्षिक ७ देखि ८ टन माग भएको तर उत्पादन भने ४ सय ३४ टनमात्र भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । बोर्डका अनुसार नेपालबाट गत आर्थिक वर्षमा १ लाख १२ हजार ३७८ किलो कफी निर्यात भएको थियो।

अघिल्लो आवमा यो परिमाण ९९ हजार ८४७ किलो थियो। नेपालबाट प्रांगारिक कफी निर्यात हुँदै आएको छ भने नेपालकै माग पूरा गर्न तयारी कफी आयातसमेत हुने गरेको छ। गत वर्ष साढे ५ करोड मूल्यबराबरको कफी आयात भएको थियो, जुन कुल निर्यातको करिब ५० प्रतिशत हो। आन्तरिक बजारमा पनि बर्सेनि माग बढ्दै गएको बोर्डको ठम्याइ छ । कफीको अन्तरराष्ट्रिय बजारमा माग बढ्दो रहेकाले बजारको समस्या नहुने बोर्डको भनाइ छ ।

‘निर्यात गरेर विदेशी मुद्रा आर्जन गरी आयात प्रतिस्थापनमा सहयोग गर्न कफीको भूमिका पनि महत्वपूर्ण छ । तर, उत्पादन भने वृद्धि हुनुपर्छ,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने, उत्पादकलाई उत्पादन वृद्धि गर्न मेरो आग्रह छ । जति उत्पादन गरे पनि बजारको ग्यारेन्टी हामी लिन्छौं।’ कृषकको हितलाई मध्यनजर गरी बर्सेनि बजारमा चलेको मूल्यअनुसार कफीको न्यूनतम समर्थन मूल्य तय गर्दै आएको उनले जनाए। कोरियामा साढे १९ हजार किलो, चीनमा साढे १४ हजार किलो, स्वीट्जरल्याण्डमा साढे १० हजार किलो र इटलीमा २ हजार किलो कफी निर्यात भएको थियो । कफी निर्यात हुने अन्य मुलुकहरुमा ताइवान, क्यानडा, बेलायत, अष्टे«लिया, यूएई, मलेसिया, डेनमार्क, न्युजिल्याण्ड, भारतलगायत छन्।

नेपालको कफी प्रांगारिक रूपमा उत्पादन हुने र भौगोलिक हिसाबले पनि उच्च स्थानमा खेती हुने भएकाले माग उच्च रहेको कफी उत्पादक तथा व्यवसायीको भनाइ छ। ‘नेपालको कफी निर्यात हुने विश्वका अधिकांश देशमा मन पराइएको छ,’ कफी व्यवसायी फूलकुमार लामाले भने, ‘थप बजार विस्तार सम्भव छ । तर, उत्पादन नै कम भएकाले थप बजार विस्तार गर्न सकिएको छैन।’ हालको उत्पादन पनि भारत हुँदै तेस्रो मुलुकमा पठाउने गरिएकोमा भारतको भन्सारले विभिन्न समयमा अवरोध सिर्जना गर्दा आफूहरू हतोत्साहित भएको उनको गुनासो छ।

कफी उत्पादन वृद्धिका लागि उत्पादकलाई प्रोत्साहन गर्न यो वर्ष थप ५ हजार क्षेत्रमा कफी खेती विस्तार गर्न १० लाख बिरुवा रोप्ने तयारी गरिएको बोर्डले जानकारी दिएको छ। गत वर्ष कफी नर्सरी विस्तारको नारा लिएर बिरुवा उत्पादन कार्यक्रम लागू गरेको बोर्डले चालू आवमा उत्पादित १० लाख बिरुवा वितरण गर्न लागेको हो। संसद्ले हालैमात्र अन्तरराष्ट्रिय कफी सम्झौता २००७ अनुमोदन गरेकाले इन्टरनेसनल कफी अर्गनाइजेसनको सदस्यता लिने बाटो खुलेको छ । कफी विकासको ५ वर्षे रणनीति पनि अन्तिम चरणमा पुगेको बोर्डले जानकारी दिएको छ। कारोवार दैनिकमा समाचार छ । 

]]>