देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान संसोधनमा एमालेलाई फकाउँदै कांग्रेस

देशान्तर

काठमाडौं ।  सत्तारूढ कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ । संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो ।  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार एमाले अध्यक्ष केपी ओलीलाई भेटी संविधानले निर्दिष्ट गरेको समयभित्रै निर्वाचन गर्नका लागि मधेसको माग सम्बोधन गर्न आवश्यक रहेको बताएका छन् । पौडेलले संविधान संशोधनबाट मधेसको माग सम्बोधन गरी निर्वाचनमा जानुको विकल्प नरहेको बताउँदै ओलीलाई संशोधन प्रक्रियामा आउन आग्रह गरे ।

उनले राष्ट्रहित हुने गरी नै संशोधन गर्न सकिने बताएका थिए ।  भेटमा ओलीले राष्ट्रहितविपरीत हुने कुनै पनि संशोधन प्रक्रियामा एमाले आउन नसक्ने जवाफ पौडेललाई दिएको स्रोतले बतायो । उनले अहिले ल्याउन लागिएको संशोधन प्रस्ताव राष्ट्रहितविपरीत रहेको पटक–पटक दोहोर्‍याएका थिए ।  गत सोमबार प्रमुख तीन दलको बैठकमा एमालेले अहिले प्रस्तावित संविधान संशोधनको विधेयक राष्ट्रहित अनुकूल नरहेको भन्दै नल्याउन चेतावनी दिएको थियो । प्रमुख प्रतिपक्षलाई साथमा नलिई अघि बढ्दा द्वन्द्व चर्कन सक्ने भन्दै कांग्रेसभित्रै एमाले र संघीय प्रदेशको सीमांकन परिवर्तन हुने क्षेत्रका जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेर अघि बढ्नुपर्ने दबाब परेपछि सभापति शेरबहादुर देउवाले ओलीसँग छलफल गर्न पौडेललाई पठाएका हुन् ।  

पौडेलले ओलीसँग लामो छलफल भएको बताउँदै निष्कर्ष भने ननिस्केको बताए । ‘एमाले र सरोकारवालालाई चित्त बुझाएर मात्रै संविधान संशोधनको विधेयक दर्ता गर्नुपर्छ भन्ने कांग्रेसको भनाइ छ । त्यसैका लागि ओलीजीसँग कुराकानी भएको हो ।  ओलीले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन लागेको र अंगीकृत नागरिकता पाउने व्यक्ति पनि राज्यशक्तिका प्रमुख पदमा पुग्न योग्य हुने गरी संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएका थिए । पौडेलले यी दुवै विषय संशोधनमा नआउने बताएका थिए ।

संघीय प्रदेशको सीमांकन मिलाउन अझै पनि बसेर छलफल गर्न सकिने धारणा आफूले ओलीसमक्षा राखेको पौडेलले बताए ।  कांग्रेसले प्रदेश नम्बर ५ बाट प्रतिनिधित्व गर्ने पार्टीका सांसद, जिल्ला सभापतिसँग पनि सीमांकन परिवर्तनका विषयमा छलफल गर्ने भएको छ । असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न सरकारले संशोधनमार्फत प्रदेश नं ५ को सीमा हेरफेर गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ । 

 

]]>