देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भीएलएनको ठगी रोक्न संसदीय समितिको कडा निर्देशन

देशान्तर

काठमाडौं । लामो समयदेखि मलेसिया जाने नेपाली कामदारहरूबाट भिसा स्ट्याम्पिङ र बायोमेट्रिक जाँचको नाममा दैनिक करोडौं ठगी भए पनि सरकार कानमा तेल हालेर बसेपछि अन्तत: संसदीय समितिले नै यसलाई रोक्ने कदम चालेको छ । गत साता बसेको व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने नेपालीमाथि भइरहेको ठगी रोक्न तथा छानबिन गरी कारबाही गर्न गत साता निर्देशन दिएर यस्तो कदम चालेको हो ।

गत साता समितिले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई डाकेरै मलेसिया जाने नेपालीसँग ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’, ‘वान स्टप सेन्टर’ लगायतका नाममा मलेसियास्थित विमानस्थल र मलेसियन कम्पनीको नेपाली एजेन्टका नामबाट भइरहेको ठगीलाई कूटनीतिक पहलबाट रोक्न पनि निर्देशन दिएको छ । समितिका सभापति प्रभु साहको अध्यक्षतामा बसेको बैठकले मलेसियाको सरकारसँग कूटनीतिक वार्ता र संवाद गरी त्यस्ता प्रणालीका नाममा नेपाली कामदारले अनाहकमा पाइरहेको दु:ख निवारणका लागि आवश्यक पहल लिन परराष्ट्र मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

यस्तै ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ का नाममा हुने ठगी रोकी, छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको छ भने सम्बन्धित मन्त्रालयसँग सहमति नलिई ‘इमिग्रेसन सेक्युरिटी क्लियरेन्स’ को नेपालमा कम्पनी खोल्न अनुमति दिने कार्यमा संलग्न कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीमाथि पनि कारबाही गर्न समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

रोजगारीका लागि मलेसिया जाने कामदारहरूबाट भिसा स्ट्याम्पिङ र बायोमेट्रिक गर्ने नाममा दैनिक दुई करोड रुपैयाँ ठगी भइरहेको छ । देखादेखी मलेसिया जाने कामदारबाट ठगी भइरहँदा पनि यसलाई रोक्न सरकारले कुनै पहल नगरेपछि समितिले यस्तो निर्देशन दिनु परेको समतिका सभापति प्रभु साहले बताए । भीएलएन, वान स्टप सेन्टर (ओएससी) सञ्चालन गर्नेहरूले मलेसिया जाने एकजना नेपालीबाट ६ हजार रुपैयाँ गैरकानुनी रूपमा असुल गरिरहेका छन् । 

हाल मलेसिया भीएलएन नेपाल प्रालि र त्यसअन्तगर्तको वान स्टप सेन्टरले मलेसियाको भिसा प्रोसेसिङमा सिन्डिकेट धन्दा चलाइरहेको छ । म्यानपावर व्यवसायीमध्येकै एकजना रामप्रसाद श्रेष्ठले मलेसियाका माफियाहरूसँग मिलेर यस्तो लुट मच्चाइएको हो । करिब आठवटा म्यानपावर कम्पनी र ट्राभल एजेन्सीका सञ्चालक श्रेष्ठले भीएलएनको नाममा लुट मच्चाउँदै आएका छन् । 

हाल (१५ नोभेम्बर २०१६ देखि) मलेसिया जाने नेपालीले भीएलएन, वान स्टप सेन्टरमार्फत भिसा स्ट्याम्पिङका ६ हजार सात सय रुपैयाँ शुल्क तिरिरहेका छन् । यसमध्ये सात सय रुपैयाँ मलेसिया दूतावासले लिने भिसा स्ट्याम्पिङ शुल्क हो भने बाँकी ६ हजार रुपैयाँ भीएलएन नेपाल प्रालिले सेवा शुल्कबापत गैरकानुनी रूपमा असुल्दै आएको छ । 

जबकि १५ नोभेम्बर २०१६ भन्दा पहिले भीएलएनको नामबाट मलेसियाको भिसा शुल्क सात सयसहित जम्मा ३२ सय रुपैयाँ  लिएर भिसा जारी गर्ने गरेको थियो । तर १५ नोभेम्बरबाट खुलेको वान स्टप सेन्टरको नाममा पासपोर्ट संकलन केन्द्र खुलेपछि यही कामको लागि एकैचोटी तीन हजार पाँच सय रुपैयाँ वृद्धि गरियो । कुनै म्यानपावर व्यवसायीले सञ्चालन गरेको वान स्टप सेन्टरमा अन्य म्यानपावर व्यवसायीले आफूले पठाउने कामदारको सम्पूर्ण विवरणसहित पासपोर्ट बुझाउनुपर्ने बाध्यता आइपरेपछि उनीहरूले आफूहरूको व्यावसायिक गोप्यता भंग भइरहेको प्रति पनि चिन्ता व्यक्त गरिरहेका छन् । उक्त सेन्टरले पासपोर्ट संकलन गरेर मलेसिया दूतावासमा पुर्‍याएको शुल्क ६ हजार लिएर भिसा दिनलाई १५,१६ दिन कुराउने गरेको छ । 

ठगीको सिलसिलामा यत्तिमा मात्रै सीमित छैन । मलेसिया जाने कामदारलाई बायोमेट्रिक टेस्टको नाममा पनि मोटै रकम असुल्ने गरिएको छ । अध्यागमन सुरक्षा जाँच (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) (आईएससी) अन्तर्गत बायोमेट्रिक जाँचको लागि भन्दै प्रतिव्यक्ति तीन हजार दुई सय रुपैयाँ शुल्क लिइने गरिएको छ । उक्त जाँचको रिपोर्ट २४ घन्टापछि उपलब्ध गराइन्छ र यदि व्यक्ति त्यसमा फेल भएमा तिरेको शुल्क फिर्ता दिइँदैन । यो जाँचका लागि सम्बन्धित नेपालको रोजगारदाता कम्पनीमार्फत मलेसियाको मे बैंकको खातामा ३० अमेरिकी डलर भुक्तान गर्नुपर्छ । तर रकम पठाउने तरिका भने वैद्य होइन ।

माइग्राम शुल्क भनेर लिइने ३० डलर जम्मा गरेपछि बायोमेट्रिक मेडिकल (अनलाइन) मलेसियास्थित बेस्टनेट एसडीएन बीएचडीले नेपालमा छनोट गरेका ३९ वटा मेडिकल सेन्टरमा गएर कामदारले बायोमेट्र्रिक (औंलाको छाप) गरेर रगत, एक्सरे र शारीरिक जाँच गर्नुपर्छ । यदि स्वास्थ्य परीक्षण फेल भएमा ३० डलर र रु. ४५ सय फिर्ता हुँदैन । यति गरेर गएको कामदारले फेरि मलेसिया पुगेको एक महिनाभित्र पुन: फोमेमा ए.बी. नामक संस्थामा एक सय ८० रिंगिट बुझाएर मेडिकल जाँच गर्नुपर्छ । यदि उक्त जाँचमा फेल भएमा उक्त कामदारलाई तुरुन्तै स्वदेश फिर्ता पठाइन्छ । जानकारहरूका अनुसार बायोमेट्रिक गर्ने जिम्मेवारी पाएमा बेस्टनेट र फोमेमा दुवै सफ्टवेयर कम्पनी भएको र एक आपसमा प्रतिशोध रहेकोले कामदार बढी मारमा परिरहेका छन् ।

यसरी हाल मलेसिया जाने एकजना कामदारले वान स्टप सेन्टरलाई ६ हजार सात सय रुपैयाँ, आईएससीलाई तीन हजार दुई सय रुपैयाँ, मइग्रामलाई तीन हजार तीन सय रुपैयाँ, बायोमेट्रिक मेडिकललाई चार हजार पाँच सय रुपैयाँ गरी जम्मा १७ हजार सात सय बुझाउँदै आएका छन् । जबकि पहिला मेडिकल जाँचको लागि दुई हजार ६ सय ५० र भिसा स्ट्म्याप शुल्क रु. सात सय गरेर जम्मा तीन हजार तीन सय ५० रुपैयाँ बुझाए पुग्थ्यो । भिसा शुल्क रु. सात सय र स्वास्थ्य परीक्षण शुल्क रु. २६ सय ५० गरी जम्मा शुल्क रु. ३३ सय ५० बाहेक अन्य रकम कामदारले अनाहकमा खर्च गर्नु परिरहेको छ । यसले गर्दा नेपालको सबैभन्दा ठूलो श्रम गन्तव्य मलेसिया माफियाको चंगुलमा गई वैदेशिक रोजगार व्यवसाय नै धराशायी हुने चिन्ता सरोकारवालाहरूले व्यक्त गर्दै आएका छन् । 

 

]]>