देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तस्करीको यस्तो नमुना

देशान्तर

दीपेन्द्र चौहान
वीरगन्ज । कुनै समय वीरगन्जबाट बैरिङ, धागो, घडीको मोमेन्टको तस्करी गर्ने राजु दारुका अहिले राजधानीमा सुन तस्करीको साम्राज्य खडा गरेर बसेका छन् । वीरगन्जमा बदनाम भएका दारुका विगत केही वर्षदेखि काठमाडौंमा बसेर तराईको सीमावर्ती सहर र भारतमा सुन सप्लाई गर्ने काम गरिरहेका छन् भने भारतको कोलकाताबाट चाँदी निर्मित गहनाहरू ल्याएर नेपालको बजारमा बिक्री गर्ने कामलाई निरन्तरता दिएका छन् । राजु दारुकालाई काठमाडौंमा बसेर उनका कान्छो छोरा अंकित दारुका र जेठो छोरा अमित दारुका वीरगन्जमा बसेर कारोबारलाई सघाइरहेका छन् । 

सुन तस्करीको धन्दा महिनामा लगभग १५ दिन हुने गरेको र दारुकाले  हरेक दिन लगभग ५ किलोका दरले सुन बिक्री गर्ने गरेका छन् । सुन बिक्री गरेबापत चेकबाट भुक्तानी लिने नीति अख्तियार गरेका दारुकाले काठमाडौंको गल्लीमा हिँड्दाहिँड्दै, ग्राहकलाई चाहिने सुन दिने र चेक लिने मोबाइल दस्ता तयार गरी कारोबार गर्ने गरेका छन् । कारोबारमा आफ्नो प्रत्यक्ष संलग्नता नदेखियोस् भनेर नै उनले मोबाइल दस्ता परिचालन गरेका हुन् ।

काठमाडौंको बाफलमा तस्करीद्वारा आर्जित रकमले हालै दुईवटा घरघडेरी जोड्न सफल दारुका कलंकीमा ३ करोड ५० लाख भन्दा बढी मूल्य पर्ने जग्गा खरिद गरेका छन् । चाइनिज मुद्रा आरएमबीको कारोबारमा समेत प्रत्यक्ष संलग्न रहेका दारुका नेपाल भएर भारतमा सुन तस्करीको मुख्य नाइके भएको बुझिएको छ ।    आसन्न दसैं, तिहार, छठजस्ता ठूला चाडपर्बमा सुन र चाँदीको अत्यधिक माग बढ्ने गरेकोले दारुकाले मोबाइल दस्तामा हालै केही नयाँ अनुहार भर्ना गरिएको छ । 

यसअघि १ सेप्टेम्बर २०१० मा बा.७ च ६३४४ नम्बरको कारमा ४ किलो सुनका गहना बोकी वीरगन्जबाट रक्सौलतर्फ जाँदै गर्दा राजुका छोरा अमितलाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सारमा पक्राउ गरेको थियो । स्मरणीय छ, वीरगन्जका तत्कालीन एसपी धीरजप्रताप सिंहले सुन तस्करीकै क्रममा राजु दारुकालाई २२ अक्टुबर २०१३ मा पक्राउ गरी मुद्दा चलाएका थिए । सुन तस्करीका कारण वीरगन्जमा बदनाम भएपछि दारुका बाबुछोराले अहिले काठमाडौंमा बसेर धन्दाको विस्तार गरेका हुन् ।

 

]]>