देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुकेटार विमानस्थल चार महिनादेखि अवरुद्ध,यात्रुहरु मारमा

देशान्तर

ताप्लेजुङ । ताप्लेजुङस्थित सुकेटार विमानस्थलमा विगत चार महिनादेखि उडान अवरुद्ध हुँदा यात्रुहरु मारमा परेका छन् । विमानस्थल कालोपत्रे भएपछि नियमित उडान हुने यात्रुले आशा गरेपनि चार महिना लामो समयसम्म उडान हुन सकेको छैन् । कहिले खराब मौसम त कहिले विमान विग्रिएको कारण देखाउँदै अवरुद्ध बनेको उडान अझै कहिलेबाट सञ्चालनमा आउँछ भन्ने अन्योल रहेको छ ।

यसअघि सुकेटार विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने कार्यका कारण दुई वर्षसम्म पूर्ण रुपमा उडान अवरुद्ध बनेको थियो । कालोपत्रेको काम सम्पन्न भएपछि गत वर्षको पुस महिनाबाट उडान सञ्चालनमा आएको र पाँच महिनापछि पुनः खराब मौसमको कारण देखाउँदै गत जेठको तेस्रो साताबाट उडान अवरुद्ध बनेको छ ।

विमानस्थलको धावनमार्ग कालोपत्रे भएपछि ताप्लेजुङ(काठमाडौं सीधा उडान सञ्चालनमा आएपछि ताप्लेजुङ भित्रने बाहृय तथा आन्तरिक पर्यटक लगायतका यात्रुलाई सुविधा पुगेको थियो । तर, हाल उडान अवरुद्ध बनेको चार महिना बितिसक्दा पनि पुनः सञ्चालनमा नआउँदा विषेश गरी दशैमा आवत जावत गर्ने यात्रुहरु बढि मारमा परेका छन् ।

ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेशन इन्चार्ज विकास राईले भने यस अवधिमा धेरै यात्रु सम्पर्कमा आएको भए पनि विमान विग्रिएका कारण उडान हुन नसकेको बताए । दशैं तिहार जस्तो चाडपर्वमा अरु समयमा भन्दा यात्रुको चाप पनि बढी हुने भएकाले विमान पठाउन आग्रह गरे पनि केन्द्रबाटनै नपठाएको राईको भनाइ छ ।

विमानस्थल कालोपत्रे भएपछि साताको तीन दिन आइतबार, बुधबार र बिहीबार नेपाल बायु सेवा निगमले ताप्लेजुङ काठमाडौं सीधा उडान सञ्चालन गर्दै आएको थियो । यस्तै विमानस्थल कालोपत्रे भएपछि नेपाल वायु सेवा निगम बाहेक निजी कम्पनीहरु गोमा र तारा एयरले पनि उडान सञ्चालनमा ल्याएका थिए । साताको मङ्गलबार र शुक्रबार गोमा एयर तथा शुक्रबार तारा एयरले उडान भर्दै आएकोमा हाल ती उडानहरु पनि बन्द रहेका छन् ।

कञ्चनजंघा क्षेत्र जाने विदेशी पर्यटक, पाथीभरा जाने तिर्थयात्रीका कारण हवाईसेवा नियमित भए यात्रुहरू वर्षैभरि हुने पर्यटन व्यवसायी बताउँछन् । हवाईसेवा नियमित भए कञ्चनजंघा जाने विदेशीलाई छिटो हुने भएकाले उनीहरूले यसैलाई रोज्ने गरेका छन् । उडानबाट भए एकै दिनमा काठमाडौंबाट सुकेटार हुँदै पर्यटकहरू पहिलो बेसक्याम्पसम्म पुग्न पाउँछन् ।

]]>