काठमाडौं । बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुनका लागि सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी. ल्याटिन अमेरिकी मुलुक इक्वेडरको राजधानी क्वेटो जाँदैछन् । १७–२० अक्टोवर सम्म २०१६ मा हुने बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केसी आज राती ९.२० वजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरूका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा मन्त्रीहरू सहभागी हुने यस सम्मेलनमा दिगो विकास लक्ष्यमा आधारित एजेण्डाहरूका अतिरिक्त सहरी पूर्वाधार, बसोबास, सुरक्षित खानेपानी, सरसफाई, सहरी कानुन तथा नीतिगत पक्ष, जलवायु परिवर्तन, हरियाली, वातावरण विकास, प्राकृतिक प्रकोप व्यवस्थापन तथा पुनर्निर्माण, नगरपालिकाहरूको वित्तीय व्यवस्था, यातायात तथा गतिशिलता, सहरी संस्कृति तथा ऐतिहासिक सम्पदा संरक्षण, बसाईँ–सराई तथा सुकुम्वासी समस्या व्यवस्थापन आदि सहरी विकासका एजेण्डाहरुमा यस सम्मेलनले व्यापक छलफल गरी स्पष्ट मार्गदर्शन दिनेछ ।
प्रतिनिधिमण्डलमा सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त डा.भाईकाजी तिवारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सचिव कमलशाली घिमिरे, सहरी विकास मन्त्रालयका सहसचिव शिवहरि शर्मा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक डा. रमेशप्रसाद सिंह, उपमहानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक रवि शाह, उपसचिव सुमन शालिके, मन्त्रीका निजी सचिव उपसचिव माधवप्रसाद शर्मा र राष्ट्रसंघीय नियोगका नेपाल प्रतिनिधी लोकबहादुर पौडेल क्षेत्री सरिक मन्त्रीको नीजि सचिवालले जनाएको छ ।
यस अतिरिक्त सहरी विकास, बसोबास, खानेपानी तथा पूर्वाधार विकासमा कार्यरत निजी क्षेत्रका प्रतिनिधिहरू समेत आफ्नै प्रबन्धमा प्रतिनिधिमण्डलमा सम्मिलित हुने बताइएको छ ।
सन् १९७६ मा क्यानाडाको भान्कुबर सहरमा पहिलोपटक सम्पन्न भएको र प्रत्येक दुई दशकको अन्तरालमा हुने यो राष्ट्रसंघीय सम्मेलन यसअघि दोस्रोपटक सन् १९९६ मा टर्कीको इस्तान्बुलमा सम्पन्न भएको थियो । उक्त दोस्रो विश्व वसोवास सम्मेलनको नारा सबैका लागि आवास भन्ने थियो भने अहिले क्वेटोमा हुन गईरहेको तेस्रो विश्व वसोवास सम्मेलनमा नयाँ सहरी एजेण्डाका साथ नेपालका लागि समेत २० वर्षे कार्ययोजना घोषणा हुनेछ । सम्मेलनको विशेष सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । साथै पानी आपूर्ती तथा सरसफाई सहकार्य परिषदको बैठकमा समेत केसीले सहभागिता जनाउने कार्यक्रम रहेको मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
]]>
प्रतिक्रिया