देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा

देशान्तर

काठमाडौं । विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ । गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, सङ्ग्रहालय लगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

गुरुयोजनाको काम सम्पन्न गर्न छ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको कोषका सदस्यसचिव अजितमान तामाङले बताए । उनले कोषले माग गरेअनुसार सरकारले रकम विनियोजन गर्दै गए पाँच वर्षभित्र गुरुयोजना पूरा गर्न कुनै समस्या नआउने बताए ।

जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गर्नुभएको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ । पछिल्ला वर्षमा लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण संरचनाको निर्माणकार्य धमाधम हुन थालेको लुम्बिनी विकास कोषका  उपाध्यक्ष सिद्धार्थ महर्जनले बताए। चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणको काम करिब सकिएको छ । 

पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने ससाना रूख रोप्ने काम सकिएको छ । पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भएको छ । शान्तिदीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी र त्यसको छेउमा आकर्षक मिनी पर्यटक सूचना केन्द्र बन्दैछ । यसलाई सिम्बोलिक पेभिलियन नाम दिइएको छ । 

पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रको व्यवस्था यो पेभिलियनमा गरिनेछ । लुम्बिनीभित्र यस्ता पेभिलियन आठ जोडी बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि दुई करोड रुपियाँ खर्च लाग्ने अनुमान छ । पूर्वी बिहार क्षेत्रमा १३ वटा थेरवाद बुद्ध धर्म मान्ने मुलुकहरूले आकर्षक बिहारको निर्माण कार्य हुँदैछ भने अधिकांश पूरा भएका छन् ।

पश्चिमी बिहार क्षेत्रमा बिहार निर्माणको काम जारी छ । २९ मध्ये २६ वटा मुलुकले बिहार निर्माण गरिरहेका छन् । गुरुयोजनाअनुसार लुम्बिनीमा बन्न लागेका अन्य केही ठूला आयोजनामा शान्ति स्तूपाको दुवैतिर विशाल खानेपानी ट्याङ्की, फोहोरबाट सञ्चालित बायोग्यास प्लान्ट, सङ्ग्रहालय शैलीमा आठवटा भवन, अन्तर्राष्ट्रिय मापदण्डका अत्याधुनिक शौचालय आदिको निर्माण हुने कोषले जनाएको छ । लुम्बिनी ग्राममा अहिले प्रशासनिक भवन तथा पर्यटक सूचना केन्द्रको निर्माण गरिएको छ । आजको गोरखापत्रमा समाचार छ ।   

]]>