देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री दाहाल र भारतिय समकक्षी मोदीबीच भेटवार्ता

देशान्तर

गोवा ।  प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय हितका विषयमा भेटवार्ता गरेका छन्। ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा आएका प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार साँझ गोवास्थित लीला होटलमा भेटवार्ता भएको हो। 

ब्रिक्स–बिम्स्टेक आउटरिच सम्मेलन लम्बिएका कारण निर्धारित समयभन्दा केही अबेर सुरु भएको भेटमा उनीहरुबीच राजकीय भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिए।  उनका अनुसार द्विपक्षीय वार्तामा परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सक्रिय बनाउने र विगतमा भएका सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको थियो।  

सो अवसरमा प्रधानमन्त्री दाहालले एन्टी डम्पिङ डयूटीका समस्यालाई हल गर्नुपर्नेमा जोड दिएको मन्त्री  महतले बताए। त्यसैगरी, प्रधानमन्त्रीले संविधानमा असन्तुष्ट पक्षलाई मिलाएर लैजाने कार्यलाई आफूले अगाडि बढाएको पनि बताए।  प्रधानमन्त्री मोदीले विगतमा भएका द्विपक्षीय सम्झौतालाई अगाडि बढाउने र संविधानमा सबैलाई समेटेर लैजान नेपाल सफल हुने विश्वास व्यक्त गरेका थिए। भारतीय राष्ट्रपतिले गर्न लागेको आगामी नेपाल भ्रमणबारे पनि उनीहरुबीच छलफल भएको थियो।

 भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री महत, परराष्ट्र सचिव शङ्करदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्मा, शिष्टाचार महापाल दीपक अधिकारी, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल सहभागी थिए।  त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराज, नेपालका लागि भारतीय राजदूत रणजीत राय एवम् विदेश मन्त्रालयका उच्च अधिकारीको सहभागीता थियो। 

]]>