देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधको राजनीतिले विद्रोह निम्तने पूर्व राजा ज्ञानेन्द्रको चेतावनी

देशान्तर

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले असन्तुलन निम्तने र त्यसले विद्रोहको रुप लिने चेतावनी दिएका छन् । राजधानीको पशुपतिनाथस्थित बनकालीमा बिहीबारबाट सुरु भएको अन्तर्राष्ट्रिय विराट हिन्दु महासम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्दछ, तर यदि निषेधको राजनीति अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ, असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरुमा विद्रोह जन्मिन सक्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले हिन्दू भएका स्थानमा शान्ति हुने दाबी गर्दै हाम्रा साझा एकताबद्ध प्रयासले मात्र शान्ति र सुव्यवस्था कायम हुने बताए । उनले तराई, हिमाल र पहाडबीच पृथक भूगोल भएपनि हिन्दु धर्मले कसैलाई विभेद नगरेको बरु फरक फरक स्थानका संस्कृति आदान प्रदानमा योगदान दिएको प्रष्ट पारे । उनले धर्मले सबैलाई एउटै सूत्रमा बाँधेको उल्लेख गर्दै हिमालका बासिन्दा तराईमा धर्म कर्म गर्न पुग्ने र तराईका पनि पहाड तथा हिमाल पुग्ने गरेको बताए ।

उनले नेपाली जनताको धर्म, संस्कृतिमाथि कालो बादल मडारिएकोमा चिन्ता व्यक्त गर्दै भने, ‘आज हाम्रो धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको छ, तसर्थ हाम्रो परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनर्जागृत र सुसंस्कृत बनाउन एकबद्ध गर्नु पर्ने खाँचो देखापरेको छ ।’ पूर्वराजा ज्ञानेन्द्रले देशमा बाह्य हस्तक्षेप बढ्दै गइरहेको आरोपसमेत लगाएका छन् । राजनीतिक अस्थिरताका कारण देशमा पछिल्ले समय बाह्य हस्तक्षेप बढेको र जनतामा चरम निराशा छाएको बताउँदै उनले यसको कारणबारे जनताले प्रश्न गर्नुपर्ने बेला आएको उल्लेख गरे ।

‘हामी कुन अवस्थामा छौँ भनेर सोच्ने बेला आएको छ, चरम बाह्य हस्तक्षेप र गन्तव्यहीन यात्राले जनतामा निराशा छाएको छ,’ पुर्व राजाले भने, ‘यसको कारण के हो रु कारक तत्व के के हुन्, जनताले प्रश्न गर्नुपर्ने बेला भएको छ ।’ गणतन्त्र स्थापनापछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदंगम गरी अघि बढ्न जोड दिए । ‘मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदयंगम गरेर अगाडि बढ्ने हो भने देशमा पुनः दिगो शान्ति स्थापना गर्न सकिन्छ,’ उनले थपे । उनले दिगो शान्ति र समृद्धिका लागि नयाँ सोंचको आवश्यकता औंल्याए । ‘नयाँ सोचको आवश्यकता छ, नयाँ दायित्व होइन,’ उनले भने, ‘जसले भइरहेकोलाई फैलाउन सकोस् ।’

पूर्वराजा ज्ञानेन्द्रले भाषा, इतिहास, धर्म, दर्शन देशका धरोहर, वैभव र प्राण भएको भन्दै यिनीहरुको समुचित संरक्षण गरेर ओजश्वी, तेजस्वी बनाउनुपर्नेमा जोड दिए । हिन्दु धर्म एवं दर्शन विश्वकै महान र उदार रहेको उल्लेख गर्दै उनले अध्यात्म जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय भएको प्रष्ट पारे । उनले विश्वको यो प्राचिन ऐतिहासिक पाशुपत क्षेत्रमा विश्वकै अग्रगन्य आचार्य, गुरु, सन्त, महात्मा, पिठाधिश एवम् विद्वान विवेचकहरुको भेला हुनु ठूलो उपलब्धि भएको बताए ।

महासम्मेलनमा सम्बोधन गर्दै जगत गुरु शंकराचार्य बासुदेवानन्द सरस्वतीले भारत र नेपाल दुबै मिलेर हिन्दुराष्ट्र बनाउनुपर्नेमा जोड दिए । पीठाधीश योगी आदीत्यनाथजी महाराजले नेपालको पहिचान बचाउनका निम्ती हिन्दु राज्य हुनुपर्ने बताए । भारतीय लोकसाभा सांसद समेत रहेका उनले धर्मका विषयमा सांसदहरु मौन बस्नु खतरनाक हुने टिप्पणी गरे ।

विराट हिन्दू महासम्मेलनको बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा बिहीबारै सुरु भएको छ । भारतसँगै श्रीलंका, बंगलादेश, पाकिस्तान, इन्डोनेसिया, थाइल्याण्ड, मौरिसस, अमेरिका, क्यानडा, बेलायत लगायतका देशका प्रतिनिधि सहभागी महासम्मेलन शनिबारसम्म चल्नेछ ।

]]>