देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल वायुसेवा निगमको छलाङ

देशान्तर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम केही वर्ष अघिसम्म दयनीय अवस्थामा थियो । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा न्यून हिस्सा ओगट्ने मात्र होइन कर्मचारीहरूलाई पाल्न पनि निगमलाई धौ धौ परिरहेको थियो । आन्तरिक उडानमा निजी क्षेत्रका एयरलाइन्सहरूको अधिपत्य एकातिर थियो भने त्रिभुवन विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानमा पनि विदेशी एयरलाइन्सहरूको अधिपत्य थियो । तर जब सुगतरत्न कंसाकार निगमको महाप्रबन्धक भएर आए, उनको एकमात्र मूलमन्त्र बन्यो नयाँ जहाज खरिद गर्ने । जहाज अभावलाई निगमको अधोगतिको एकमात्र कारण ठानेर जसरी पनि जहाज ल्याउनुपर्छ भनेर मूलमन्त्र बनाएर हिँडेका कंसाकारले नभन्दै दुईवटा न्यारोबडी जहाज अन्तर्राष्ट्रिय उडानका लागि खडा गरे । दुईवटा जहाज थपिएपछि एक वर्षभित्र निगमले अन्तर्राष्ट्रिय उडानमा फड्को मारेको छ । 

सन् २०१६ को पहिलो ६ महिनामा काठमाडौंलाई उद्गम/गन्तव्य बनाएर अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्समध्ये सबैभन्दा धेरै यात्रु बोक्ने दोस्रो एयरलाइन्स नेपाल वायुसेवा निगम बन्न सफल भएको छ । अघिल्लो वर्षको पहिलो ६ महिनाको तुलनामा यो वर्ष निगमको त्यस्तो ‘प्याक्स अकुपाई’ ९० प्रतिशतले वृद्धि’ भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारीअनुसार सन् २०१६ को पहिलो ६ महिनामा नेपाल वायुसेवा निगमले कुल एक लाख ७८ हजार सात सय ९९ यात्रुलाई सेवा दिएको छ । निगमले अघिल्लो वर्षको यही अवधिमा जम्मा ९४ हजारमात्र यात्रु बोकेको थियो । 

पहिलो नम्बरमा भने कतार एयरवेज रहेको छ । जसको अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले वृद्धि भएको यात्रुहरू १ लाख ८७ हजार बोक्न सफल भएको छ । नेपाल वायुसेवा निगमको ११ प्रतिशत उडान हिस्सा रहेको छ भने यात्रु हिस्सा १० प्रतिशत रहेको छ । जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य बढी हो । 

निगमले दुईवटा एयरबस किनेर ल्याएपछि अन्तर्राष्ट्रिय गन्तव्य थप गरेकोले यो परिणाम  हात पार्न सफल भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । सन् २०१५ मा दुईवटा एयरबसका वाइड बडी विमान खरिद गरेको निगमले विभिन्न आठ स्थानमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । यसले हाल भारतका तीनवटा सहर, कतारको दोहा, दुबई, मलेसिया, बैंककमा उडान गर्दै आइरहेको छ । 

व्यवस्थापनमा पनि निरन्तर सुधार आइरहेको र कर्मचारीहरू जसरी पनि परिणाममूलक काम गरेर देखाउने गरी खटेकोले अब जहाज थपिनेबित्तिकै छिट्टै नेपालमा विदेशी एयरलाइन्सहरूलाई उछिन्ने बताउँछन् निगमका महाप्रबन्धक कंसाकार । जहाज हुने हो भने नेपाल एयरलाइन्स छोटो समयमै दक्षिण एसियाको उत्कृष्ट एयरलाइन्सको पुरानो छवि पुनर्ताजगी गर्न सक्षम हुन्छ भन्ने यो संकेत भएको उनले बताए । अहिले निगमले सातामा भारतका तीन सहर गरेर १७ वटा उडान गर्छ, त्यस्तै दुबई चार, दोहा तीन  बैंकक तीन, मलेसिया तीन र हङकङ चार वटागरी जम्मा ३४ अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ । छिट्टै चीनको ग्वान्जाउको लागि उडान भर्ने योजना बनाएको निगमले उक्त उडान हुनेबित्तिकै सबै विदेशी एयरलाइन्सहरूलाई उछिन्नेमा कंसाकार विश्वस्त छन् । अझै दुईवटा वाइड बडी जहाज खरिदको लागि टेन्डर जारी गरिसकेको निगमले नयाँ जहाज आउनेबित्तिकै व्यापारमात्र नभई नेपालको पर्यटनलाई पनि टेवा पुर्‍याउने बताउँछन् कंसाकार । अरूभन्दा सस्तो शुल्क र उत्कृष्ट सेवा दिने प्रयासमा सबै व्यवस्थापकीय सुधार गर्न उत्तिकै लागिपरेकोले निगमका राम्रा दिन सुरु भएको कंसाकारले बताए ।

करिब तीन दशकदेखि जहाज नकिनेर टाउकोमा हात राखेर राजनीतिक भर्तीको केन्द्र बनाउँदा थिलथलो बनेको निगमले दुईवटा जहाज किन्नेबित्तिकै आफ्नो एक नम्बरको छवि फर्काउने प्रयासमा रहेको छ । जहाज किन्ने कुरो आउनेबित्तिकै खाली व्यवस्थापनको कुरामात्र निकाल्ने र घुमाउरो पारामा निगमलाई नै धराशायी बनाउने नियत बोकेका केही मान्छेको कारण उठ्नै नसक्ने गरी गिरेको निगम अब दुईवटा जहाज आउनेबित्तिकै क्षेत्रीय स्तरको प्रतिस्पर्धी बन्ने र अन्तत: देशको पर्यटनलाई टेवा पुर्‍याउनेमा निगमको व्यवस्थापन विश्वस्त रहेको छ । 

 

]]>