देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन गर्न मिलेर अगाडि बढ्नुपर्छ– परराष्ट्रमन्त्री

देशान्तर

काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले विशिष्ट राजनीतिक अवस्थामा संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

नुवाकोट–काठमाडौँ पत्रकार समाजले आज आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुख्य तीन राजनीतिक दलको सहमतिका आधारमा निर्वाचनका प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे । 

मन्त्री महतले भने– “लोकतन्त्रमा सबैले विधिको शासनलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ, त्यसका लागि सबै राजनीतिक दलले राजनीतिक सद्भाव र सहयोग गर्नुपर्छ । 

द्विपक्षीय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मञ्चमा नेपालको स्वार्थ र आवश्यकता सम्बोधन गर्न आफू लागिपरेको बताउँदै उनले मुलुकको हितमा विदेशी सहयोग तथा लगानी कसरी गर्न सकिन्छ भन्ने विषयमा दिनरात खटिरहेको बताए । 

नेपाली काँग्रेसका नेतासमेत रहेका डा महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विषयमा निर्णय गर्ने दिन आइनसकेकाले त्यो दिन पर्खन आग्रह गरे । 

नुवाकोट मुलुकको राजधानी नजिक भएर पनि विकास नभएको भन्दै उनले शिक्षा, स्वास्थ्य एवम् विकासका विषयमा अग्रसरता लिनुपर्नेमा जोड दिए । 

कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङले नुवाकोटको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको भन्दै त्यसका लागि मिलेर अगाडि बढ्नुपर्ने बताए । 

पत्रकार समाजका अध्यक्ष दिनेश आचार्यले विकासका मुद्दामा सबै पक्ष एकमत भएमात्र नुवाकोटसहित समग्र मुलुक परिवर्तन गर्न सकिने भन्दै त्यसतर्फ लाग्न आग्रह गरे । कार्यक्रममा पछिल्लो पटक निजामती सेवा अधिकृतमा प्रवेश गर्ने नौजनालाई सम्मान गरिएको थियो । 

त्यसैगरी कार्यक्रममा नुवाकोटमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, कलाकार, उद्योगी व्यवसायी, खेलाडी, पत्रकार एवम् विशिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

]]>