देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अग्निपथमा पहिलो पाइला

देशान्तर

हरिहर विरही
हामी जानकी मन्दिरतर्फ लाग्यौं । राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन माइकिङ भइरहेको थियो, रिक्साबाट । ठाउँठाउँमा पोस्टर टाँसिएको थियो । केन्द्रबाट आएका राजा त्रिभुवनको तस्बिरसहितको नगरपालिकाले निकालेको अर्को पोस्टर पनि सहरभरि टाँसिएको थियो । काठमाडौंबाट प्रमुख अतिथिका रूपमा गृह सहायकमन्त्री डिल्लीशेर राईलाई खटाइएको रेडियोले फुकिसकेको थियो । हामी सरकारको यो उत्साह, उमंग र उत्सवलाई विफल पारिदिन चाहन्थ्यौं । हामी चाहन्थ्यौं, प्रजातन्त्र दिवस मनाउँदैमा निरंकुश राजतन्त्रको इज्जत ढाकिँदैन भन्ने कुरा राजासहित सबैले थाहा पाऊन् । सरकारले जतिसुकै कडा कानुन बनाए पनि त्यसलाई तोड्ने, चुनौती दिने र कुनै पनि मूल्य चुकाएर संघर्ष गर्ने मानिस देशमा छन् भन्ने कुरा सार्वजनिक होस् तथा यसको व्यापक प्रचार होस् भन्ने हाम्रो चाहना थियो । हाम्रो यो कार्यक्रम सम्पन्न भएपछि मुलुकमा ठूलो हलचल मच्चिने आशाले हामी दुईजना हावामा उडिरहेका थियौं । 

हामी फेरि थानाअगाडि उभिएर राजाको सालिकतिर हेर्‍यौं । त्यहाँबाट सालिक देखिएन । त्यसैले पुलिसले नदेख्ने कुरामा ढुक्क भयौं । त्यहाँ नजिकै रहेको पुस्तक र स्टेसनरी पसल मजदुर पुस्तक भवनमा गएर एक जिस्ता सेतो कागज र एकबट्टा कालो मसीको चक्की किन्यौं । अनि फटाफट बिहार कुण्डतिर लाग्यौं । 

हाम्रा गतिविधि छात्रावासका गुप्तचरले थाहा नपाऊन् भनेर विद्यालय नजिकैको बिहार कुण्डमा हामीले एउटा कोठा लिएका थियौं । भाडा तिर्नु पर्दैनथ्यो । त्यहाँका मन्दिरमा कोठाहरू रित्तै भएको अवस्थामा जोगीहरू विद्यार्थीलाई सित्तै कोठा दिन्थे । उनीहरूको भण्डाराको समयमा खाने भए ‘प्रसाद’ (शाकाहारी भोज) पनि सित्तै खान पाइन्थ्यो । आफ्नो मन्दिरमा विद्यार्थीहरू बसिदिए कुटी र आफ्नो सुरक्षा हुने तथा ब्राह्मण छात्रलाई भोजन गराए धर्म पनि हुन्छ भन्ने धारणा उनीहरूको थियो । हामीले लिएको कोठा पोखरीको उत्तरतिरको किनारा नजिक थियो । त्यो मन्दिरले दुइटा कोठा विद्यार्थीले मागे भने दिने भनी छुट्याएको थियो, जसमध्ये एउटामा हामी दुईजना र अर्कोमा अरू दुईजना छात्र बस्थे । त्यसदिन जानकी मन्दिरबाट अन्तिम रेकी गरेर फर्कंदा छात्रावासको मेस बन्द भइसक्ने भएकाले ज्ञानकुप नगई बिहार कुण्डमै बस्ने, मन्दिरको ‘प्रसाद’ खाने अनि बाँकी काम तुरुन्तै गरिहाल्ने सल्लाह गर्‍यौं । मन्दिरमा ‘भोग’ लाग्न केही समय बाँकी रहेछ । पल्लो कोठाका विद्यार्थी विद्यालय गएका रहेछन् । 

म पोखरीको घाटतिर लागेँ, मसी धुलो पार्न । केशव गए, मसी हाल्ने भाँडो खोज्न । केही बेरपछि उनी दुइटा बोतल लिएर आए । त्यसबेलासम्म मैले मसीको चक्कीलाई पिठोजस्तो पारिसकेको थिएा । त्यसलाई ढलोटको ठूलो लोटामा हालेर घोल्यौं र दुइटा बोतलमा भर्‍यौं । पोखिएको र बाँकी रहेको मसीले सेतो कागज भिजायौं । पूरै कालो भयो । भिजेको कागजलाई घाममा सुकायौं । र, साथी र शिक्षकहरूले कुनै शंका नगरून् भनेर हामी विद्यालयतिर लाग्यौं । 

अरू साथीभन्दा सीआईडी ठानिने सहपाठी र शिक्षकहरूलाई भ्रममा पार्नु थियो । त्यसैले पुस्तक बोकेर विद्यालयतिर लाग्यौं । कक्षा लागेकै बेला पनि कैयौं विद्यार्थी छात्राबासमै हुन्थे । त्यसैले केशव छात्रावासको कोठाकोठा चहार्दै हिँडे । साथीहरूसँग गफ चुटे । भरे हामी दुईजना सिनेमा हेर्न जान्छौं भने, ताकि राति कसैले नखोजून् ।

विद्यालय बन्द भएपछि बिहार कुण्डको कोठामा आएर रातिको योजना बनायौं । 

मैले केशवको विचार जान्नका लागि सोधें, “यो कुरा कसैलाई भन्ने कि नभन्ने ? एकजना कुनै विश्वासिलो मानिसलाई चाहिँ जानकारी दिने हो कि ?”

उनले भने, “कसलाई जानकारी दिने ? पछि पोल खुल्यो भने सरकारले गोली ठोक्ला । भनेदेखि सरोज दाइलाई भन्नुपर्ने हो, बूढाको कुरा सुनिहालियो । उहाँलाई भन्ने हो भने ‘अहिले नगर’ भन्नुहोला । त्यसैले जे पर्लापर्ला, कसैलाई पनि नभनौं ।” 

मैले थपेँ, “यसो गरौं, ठाकुरलाई चाहिँ भनौं । उनी युनियनका सभापति पनि हुन् । सरोज दाइले पनि उनीसँग सल्लाह गर्न भन्नुभएको छ । पक्राउ परियो भने सुरक्षा पनि हुन्छ । बरू उनलाई पनि मिसाऊँ । 

“तर”, मैले सुझाव दिएँ, “उनलाई पहिले जानकारी नदिई एकैपल्ट कार्यक्रममै लैजाऊँ । उनको डेरा बाटोमै रहेछ, जानकी मन्दिर जाँदा उनलाई पनि लिएरै जाऊँ ।” 

केशवले मेरो प्रस्ताव मञ्जुर गरे । खुसी हुँदै भने, “यो राम्रो आइडिया हो । तर मधेसी हो, डराएर भाग्ने हो कि ? पछि पोल खोल्ने हो कि ?”

मैले थपेँ, “पछि पोल खोलेर त के हुन्छ र, ऊ आफैं पनि फस्छ ।”

पल्लो कोठाका विद्यार्थीहरू आएपछि केशव उनीहरूको कोठामा गए । गफ चुट्दै उनले तिनलाई भने, “आज हामी सिनेमा हेर्न जान्छौं । भोलि ब्रह्मपुरीको पुस्तकालयमा ‘गंगालालको चिता’ नाटक छ । किताबमा लेखेभन्दा राम्रो बनाएका छन् रे । सँगै हेर्न जाऊँला है ?” 

राति हामी पक्राउ पर्‍यौं भने साक्षी सर्जमिनमा बकाउनुपर्दा आफूहरू सिनेमा हेर्न गएको भ्रम पार्नका लागि उनले त्यसो भनेका थिए । कुरा गर्दागर्दै उनको आँखा कोठाको दलिनमा घुसारेर राखेको एउटा थोत्रो छातामाथि परेछ । फागुनमा त्यो थोत्रो छाताको कसैलाई काम थिएन । केशव “यो छाताको कपडा फेरेर म चलाउँछु है” भनेर फुत्त झिके । कनिष्ट विद्यार्थीहरू केही बोलेनन् । केशव खुसीले उफ्रिँदै कोठामा आए । ब्लेडले छाताको कपडालाई डन्डीबाट छुट्यायौं, अनि त्यही कपडामा मसीको बोतल र कालो कागजको मुठा पोको पार्‍यौं । 

साँझ छात्रावासको मेसमै गएर सुरुमै खाना खायौं । खाने बेला केशवले अरूको ध्यान आकर्षित गर्न संस्कृतका केही श्लोक जोडजोडले भट्याए । 

राति आफ्नो कोठामा शान्तसँग बस्यौं, किनभने पल्लो कोठामा भएकाहरूले हामीतिर ध्यान नदिऊन् भन्ने चाहन्थ्यौं । उनीहरू सुते । वातावरण चकमन्न भएपछि हामी पहिले नै ठिक्क पारेर राखेको झोला बोकेर बिस्तारै निस्कियांै, बिरालोको चालले । 

बाह्रबिघा पुगेपछि महन्थ ठाकुरको ढोका ढक्ढक्यायौं । उनी मस्त निदाएका थिए । उनी नीलो बुट्टेदार लुंगी स्याहार्दै निस्किए । बिहान भेट भएको मानिस राति त्यसरी अप्रत्याशित रूपमा आएको देखेर उनी झस्किनु स्वाभाविक थियो । केशवले विस्तारै भने, “प्रजातन्त्र दिवसको सिलसिलामा एउटा काम गर्न लागेको । काम हामी गर्छौं, जानकी मन्दिरसम्म तपाईं पनि साथमा जानुपर्‍यो । सरोज दाजुले तपाईंलाई पनि साथमा लिन भन्नुभएको छ ।”

सरोज कोइरालाको नाम लिएपछि ठाकुरले आनाकानी गर्ने सम्भावनै थिएन । उनले तुरुन्तै लुंगी फुकालेर पाइन्ट लगाए र आँखा मिच्दै चुपचाप हामी सँगसँगै हिँडे । बाटोमा उनले बिस्तारै सोधे, “कार्यक्रमचाहिँ के हो ? कहाँसम्म जाने हो ?”

मैले सबै कुरा बताएँ । उनी अवाक भए । दायाँबायाँ हेरे । अनि लामो मौनतापछि निद्रामै बोलेझैं गरी भने, “ठीकै छ ।” 

हामी पूर्व–उत्तरतिरको बाटोबाट जानकी मन्दिरपरिसरको मुखमा पुगेर उभियौं । वातावरण शान्त, चकमन्न थियो । चालचुल केही थिएन । ठाकुरलाई ‘तपाईं यहीँ बस्नुस्, चारैतिर हेरिरहनुस् र कोही आए भने सिट्टी बजाउनुहोला’ भनेर केशव र म अगाडि बढ्यौं । पहिले म सालिक घेरिएको ग्रिलको बार उक्लेर भित्र पसेँ । केशवले झोला समात्न दिए र आफू पनि पसे । दुवैजना मिलेर बोतलको कालो लेदोजस्तो मसी राजा महेन्द्रको टाउकोबाट खन्याइदियौं । मुख, कान, नाक सबैतिर दल्यौं । मैले राजाको नाकबाट लुछेर चस्मा झिकेँ र गोजीमा हालेँ । सालिकवरिपरि कालो कपडा बेरिदियौं । भुइँमा कालो कागज छर्‍यौं । अनि फुत्त निस्केर पहिले आएकै बाटोबाट भाग्यौं । 

ठाकुरलाई उनको आवासमा छोडेर हामी बडो संयम र साहससाथ बिहार कुण्ड पुग्यौं । मुटु ढुकढुक गरिरहेको थियो । सुटुक्क ढोका खोलेर सुत्यौं । पल्लो कोठाका केटाहरूले थाहा पाएको भए पनि सिनेमा हेरेर आएको भन्ठाने होलान् भनेर ढुक्क हुन खोज्यौं । तर मनमा डर लागिरहेको थियो । बाटोभरि पछिपछि पुलिस त आइरहेको छैन भनी फर्कीफर्की हेथ्र्यौं । डेरामा पुगेपछि पनि किनकिन रातभरि निद्रा लागेन । आफ्नो योजना यसरी सफल भएकोमा मनमा हर्ष उम्लिइरहेको थियो । शरीरमा बेग्लै खालको रगत बगेजस्तो, हरेक रौं ठाडो भएजस्तो लागिरह्यो । मुटुको चाल पनि असाधारण थियो, ढुकढुक–ढुकढुक । लोकतान्त्रिक आन्दोलनको अग्निपथमा त्यो मेरो पहिलो पाइला थियो । 

डेरामा आएपछि मैले सालिकबाट लुछेर ल्याएको चस्मा केशवलाई देखाएँ । उनी चकित भएर अट्टहास गरे । सोधे, “सिसा खोइ त ?” 

त्यो चस्मामा सिसा नै थिएन, फ्रेममात्र थियो । यो देखेर दुवैजना हाँस्यौं । मैले भनेँ, “हेर, भ्रष्टाचारीहरू राजालाई सिसाबिनाकै चस्मा लगाइदिएर झुक्याउँदा रहेछन् ।” 

त्यो चस्माको फ्रेम मैले धेरै दिनसम्म बाकसमा राखेको थिएँ । बाकस खोलेको बेला त्यो हेरेर, आफ्नो बहादुरी सम्झेर दंग पर्थें । पछि, कुनै कारणले शंका लागेर पुलिसले छापा मार्‍यो भने फेला परिएला भन्ने डरले बिहार कुण्डको पोखरीमा फालिदिएँ । 

७ गते बिहान उज्यालो हुनासाथ ज्ञानकुप गयौं । छात्रावास गएर सबैभन्दा पहिले पञ्चायत र प्रशासनपक्षीय सहपाठीलाई भनेँ, “प्रजातन्त्र दिवस मनाउन जाने होइन ?” 

त्यो दिन बिहान प्रभातफेरीको कार्यक्रम थियो, जसमा त्यहाँ अध्ययनरत सबै विद्यार्थी अनिवार्य रूपमा उपस्थित हुनुपथ्र्यो, अन्यथा छात्रवृत्ति काटिन्थ्यो । प्रभातफेरी जानकी मन्दिरबाट सुरु भई त्यहीँ आएर टुंगिन्थ्यो । शिक्षक र साथीहरूको ताँतीमा मिसिएर हामी पनि त्यता लाग्यौं । जानकी मन्दिर परिसरमा मानिसहरू भर्खर जम्मा हुँदै थिए । मुख्य पञ्च, प्रशासक र अतिथि आइपुगेका थिएनन् । प्रहरीहरू बाल्टिनमा पानी ओसारेर बोराले घोटीघोटी राजाको  सालिक सफा गर्दै थिए ।

मानिसहरू छक्क परेर एकले अर्कोलाई हेरिरहेका थिए, कुनै अनहोनी घटना भएझैं । सबैमा कौतुहल देखिन्थ्यो । म र केशव अलि अग्लो ठाउँमा रहेको लादुराम जालानको मिठाई पसलको ढोकै नजिक बसेर चिया खाँदै रमिता हेर्न थाल्यौं । त्यसबेला जानकी मन्दिर परिसरको दक्षिणपट्टि लस्करै मिठाई पसल थिए । त्यसको छेउमा जोडिएको एउटा मेडिकल हल थियो, जसमा टाँसिएको रातो तुलमा ठुल्ठूलो अक्षरमा ‘जमाना बदल गया’ लेखिएको थियो । आज बेलुका त्यही परिसरमा प्रस्तुत हुने परिवार नियोजनको प्रचारको सन्दर्भमा बनाइएको नाटकको नाम रहेछ, जमाना बदल गया । तर त्यहाँ आउने मानिसहरू राजाको सालिकतिर इसारा गर्दै अर्थपूर्ण ढंगले तलको अक्षर जोडले पढ्थे, “जमाना बदल गया ।”
(वरिष्ठ पत्रकार विरहीको संस्मरणात्मक कृति ‘आगो निभेको छैन’बाट)

 

]]>