देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद्को बैठक तीन बजे, नयाँ प्रधानमन्त्री तीन दिनमा

देशान्तर

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै व्यवस्थापिका संसद्ले आजबाट बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि संसदको बैठक दिउसो तीन वजेका लागि बोलाइएको छ । सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आइतबार राति १२ बजेबाट सकिएपछि सोमबार बस्ने संसद् बैठकले बहुमतीय प्रक्रिया सुरु गर्ने भएको हो।

संविधानको धारा २९८ को उपधारा (२) अनुसार दलीय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई पत्र पठाउने छिन्। राष्ट्रपतिको पत्रसँगै सोमबार दिउँसो ३ बजे बस्ने संसद् बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ। नयाँ प्रधानमन्त्री चयनका लागि संसद् सचिवालयले मंगलबार उम्मेदवारी दर्ता र बुधबार प्रस्तावमाथि छलफलसहित निर्वाचन गर्ने आन्तरिक तयारी गरेको छ। कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिसँगको भेटमा शीर्ष नेताहरूले सहमतीय सरकार गठन हुन नसक्ने बताएकाले अब संसद्ले प्रक्रिया सुरु गर्ने बताए।

उनका अनुसार संसद् बैठकले सोमबारै निर्वाचन अधिकृत तय गर्ने, मंगलबार मनोनयन गर्ने र बुधबार प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी कार्यतालिका तय गर्नेछ। पूर्वसहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेससहितका दलको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने छन्। २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका दाहाललाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने आश्वासन दिइसकेका छन्।

 त्यस्तै,  थरुहट तराई पार्टी नेपाल, स्वतन्त्र सांसद चन्देश्वर झा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, अखण्ड नेपाल पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, समाजवादी जनता पार्टीसहितका साना दलको समर्थन रहने कांग्रेस र माओवादीको बुझाइ छ। त्यस्तै, आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दलले प्रधानमन्त्री निर्वाचनमा दाहालको पक्षमा मतदान गर्ने आश्वासन दिइसकेका छन्।

तर, उनीहरूले उठाउँदै आएका मागमा कांग्रेस र सरकारको नेतृत्व गर्न लागेको माओवादीसँग लिखित प्रतिबद्धता खोजेपछि नौ सदस्यीय कार्यदल गठनसहित साझा प्रतिबद्धता जनाउने गृहकार्य सुरु भएको छ। त्यसअघि राष्ट्रपति भण्डारीले साउन १० गते संविधानको धारा ३०५ अनुसार बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश र सोही संविधानको धारा २९८ को उपधारा (२) अनुसार व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई सात दिनभित्र सहमतिको सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकिनेछन् । संसदमा कायम रहेको सांसद संख्याको बहुमत अर्थात २ सय ९८ जना सांसदको समर्थनमा प्रधानमन्त्री निर्वाचित हुनसक्ने अवस्था छ । कांग्रेस, माओवादी, मधेसी मोर्चासहितको गठबन्धन, राप्रपा तथा अन्यसमेत गरी तीन सय पचासभन्दा बढी संख्या नयाँ समिकरणको पक्षमा देखिएको छ । नेकपा एमालेले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा हालसम्म कुनै निर्णय गरिसकेको छैन । सचिवालयले बुधबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचनको कार्यक्रम तय गर्ने तयारी गरेको छ ।

]]>