देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मामा संघाई पक्राउ परेपछि भान्जा अग्रवाल पनि फरार

देशान्तर

काठमाडौं । औषधी उत्पादन गर्ने आवरणमा लागु औषध तस्करी गर्र्दै आएको संघई समूहका नाइकेहरु पक्राउ परेपछि यस्तो कारोवारमा सलग्न अन्य औषधी व्यवसायीहरुको पनि पर्दाफास हुन थालेको छ । औद्योगिक घराना संघाई समूहका मुख्य सञ्चालकले औषधि बनाउन ल्याएको रसायन स्युडोइफ्रिडिन अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीलाई बिक्री गर्ने धन्दामा संलग्न रहेको अनुसन्धानबाट खुलेपछि शनिबार मात्रै प्रहरीले लागु औषध कारोबार गरेको अभियोगमा पसमूहका प्रमुखमध्ये रतनलाल संघाई, फर्मा ल्याबका मार्केटिङ डाइरेक्टर मोहित हलान, सहयोगी दिलीप पण्डित, श्याम तामाङ र बद्री वनलाई पक्राउ गरेको थियो ।

रतनलाख संघाई पक्राउ परेपछि नातामा उनका भान्जा पर्ने एस.आर. ड्रग लेबरोटरी प्रा.लिका संचालक एवं पूर्व सभाषद् मधुसुधन अग्रवाल फरार भएका छन् । २०६४ को पहिलो संविधानसभामा मधेसी जनाधिकार फोरमबाट समानुपातिक सभाषद् बनेका अग्रवालले पनि संघाईले जस्तै कोल्ड ट्याब्लेट बनाउने सरकारसँग अनुमति लिएर उक्त स्युडोइफ्रिडिन रसायन आयात गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

संघाई समूहको लगानी रहेको आर्य फर्मा ल्याब प्रालिले औषधि व्यवस्था विभाग र गृह मन्त्रालयबाट कोडिन, डिकोल्डलगायत औषधि बनाउन अनुमति लिई स्युडोइफ्रिडिन भित्र्याएको थियो । तर, स्थलमार्गबाट भारत हुँदै अन्तर्राष्ट्रिय कारोबारीलाई बिक्री गर्ने गरेको लागूऔषध नियन्त्रण ब्युरोको प्रारम्भिक अनुसन्धान विवरणमा उल्लेख छ ।

त्यही अभियोगमा समूहका प्रमुखमध्ये रतनलाल संघाई, फर्मा ल्याबका मार्केटिङ डाइरेक्टर मोहित हलान, सहयोगी दिलीप पण्डित, श्याम तामाङ र बद्री वनलाई प्रहरीले पक्राउ परेका हुन् । संघाई समूहका प्रमुख पवनकुमार संघाई, आर्य फर्माका सञ्चालक शंकर हलन, एस आर ड्रग लेबरोटरी प्रा.लिका संचालक मधुसुधन अग्रवालसमेत तस्करीमा संलग्न देखिएको र उनीहरू फरार रहेको ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका मोहित मोरङ र अन्य काठमाडौंमा ब्युरोको हिरासतमा छन् । आइतबार जिल्ला अदालतले रतनलाल लगायतलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्ने अनुमति दिइसकेको छ ।

‘प्रारम्भिक अनुसन्धान विवरणअनुसार उनीहरूले औषधि बनाउन प्रयोग गर्ने भन्दै स्विट्जरल्यान्डबाट नेपालमा स्युडोइफ्रिडिन झिकाएर धुलो बनाई काँकडभिट्टा नाका हुँदै भारतको सिक्किमबाट चीन र बर्मा पुर्याउँदै आएका थिए ।

चीन र बर्मामा रहेका लागूऔषधका अन्तर्राष्ट्रिय कारोबारीले स्युडोइफ्रिडिनको प्रयोग गरेर एमफेतामाइन र आइस्ड ड्रग्स बनाएर अस्ट्रेलियालगायत युरोपियन र अमेरिकन मुलुकमा पुर्याएर लागूऔषधको बजारमा फैलाउने गरेको ब्युरोद्वारा सार्वजनिक गरिएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा छ ।

औषधि कम्पनिकै मिलेमतोमा नेपालबाट स्युडोइफ्रिडिन भारतलगायत मुलुकमा तस्करी हुने गरेको सूचनाका आधारमा ब्युरोले बिहीबार आर्य फर्मा ल्याबमा काम गर्ने भारत रक्सौलका दिलीप पण्डितलाई पक्राउ गरेको थियो । पण्डितले पाटन औद्योगिक क्षेत्रभित्र रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा औषधि रहेको बताएपछि ब्युरोले त्यहाँ छापा मार्दा ९ सय ५२ वटा सेतो डिब्बामा ४ सय ७१ किलो ट्याब्लेट फेला पारेको थियो ।

आर्या फर्माको उद्योग बाराको जितपुरमा छ । सहायक रसायन भने ललितपुरमा फेला परेको थियो । विभागका प्राविधिक जीसीका अनुसार औषधिमा प्रयोग गर्न नेपाल भित्रिएका सहायक रसायन औषधि कम्पनीको परिसरभित्र नराखी असम्बन्धित स्थानमा राख्नु, लेबल नगरी, बट्टामा राख्नुले सम्बन्धित कम्पनीले औषधि उत्पादनको बहानामा रसायनको दुरुपयोग गरेको पुष्टि हुने बताए ।

जानकारहरुका अनुसार एक ट्याब्लेटमा ६० प्रतिशत स्युडोइफ्रिडिन हुन्छ । प्रहरीले संघाईको गोदामबाट २९ लाख ७४ हजार ग्राम चक्की फेला पारेको थियो । फेला परेको चक्की र त्यसमा रहेको स्युडोइफ्रिडिनको मात्रा छुटयाउँदा एक सय ७४ किलो परिमाण निस्कन्छ ।

‘फेला परेको चक्की प्रशोधन गरी त्यसमा रहेको स्युडोइफ्रिडिनबाट ७१ किलो एमफेटामाइन वा आइस्डड्रग्स बनाउन सकिन्छ,’ अनुसन्धानमा संलग्न ब्युरोका डीएसपी अपिल बोहोराले भने, ‘लागूऔषध बजारमा त्यति मात्राको एमफेटामाइन पुग्ने हो भने १ अर्ब ३२ करोड रुपैयाँ पर्छ ।’

 

]]>