देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जाँदाजाँदै राज्यकोषबाट लाखौंको भुक्तानी दाबी

देशान्तर

काठमाडौं । खाजा, नास्ता र भोजभतेरमा अति नै रमाउने प्रधानमन्त्रीका रूपमा परिचय बनाएका एमाले अध्यक्ष केपी ओलीले बालुवाटार छोडेर आफ्नो निजी निवास जाँदै गर्दा वालुवाटारको खाजा नास्ता खर्च भन्दै राज्यकोषबाट असुल्नेगरी झन्डै १८ लाखको बिल प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार शपथ लिएसँगै पूर्वप्रधानमन्त्री बनेका ओलीले बुधबारबाट प्रधानमन्त्री निवास बालुवाटार छोडेर आफ्नै निजी निवास बालकोट बसाइँ सरिसकेका छन् । तर ओलीले जाँदाजाँदै बालुवाटारको खाजा, नास्ता खर्च भन्दै राज्यकोषबाट असुल्ने गरी झन्डै १८ लाखको बिल प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

विभिन्न मितिमा प्रधानमन्त्री निवासमा बसेका बैठकको खाजा, नास्ता भन्दै बिहीबार बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रालिले भुक्तानी पाउने गरी दुई लाख ५१ हजार ४८ रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेस भएको छ । उनले यी सबै बिल बिहीबार प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन् ।  त्यसैगरी प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न मितिमा बसेको बैठकहरूको खाना, खाजा, नास्ता खर्च भन्दै अनमोल क्याटरिङ सर्भिस प्रालिले भुक्तानी पाउने गरी आठ लाख चार हजार आठ सय ४२ रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेस भएको छ । त्यस्तै, बालुवाटार बैठककै खाना, खाजा र नास्ता खर्च भन्दै सोल्टी होटेलले भुक्तानी पाउने गरी सात लाख २४ हजार दुई सय ४७ रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेस भएको छ ।

योभन्दा पहिले पनि प्रधानमन्त्री कार्यालयबाट खाना र खाजा खर्च भन्दै लाखांैको बिल राज्यकोषबाट असुल्न थालेपछि प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूले असन्तुष्टि जनाउँदै ओलीको सचिवालयले खाना, नास्ताको बिल बढाएर ल्याई कमिसन खाएको चर्चा चलेको थियो । ओली सरकार अविश्वासको प्रस्ताव पास भएर ढल्ने निश्चित भएपछि राजीनामा दिएका खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहको विभिन्न जिल्ला भ्रमण खर्च भन्दै उनका आफन्त खेमबहादुर सिंहले भुक्तानी पाउने गरी ९३ हजार पाँच सय ९० रुपैयाँको बिल पेस गरेका छन् । सिंहले ओली सरकार ढल्ने निश्चित भएपछि मन्त्री पदबाट राजीनामा दिएर नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमा मतदान गरेका थिए । सिंह समाजवादी जनता दलका एकसिटे सांसद हुन् । निर्वाचन आयोगले सिंह अध्यक्ष रहेको समाजवादी जनता दलको दल दर्ता खारेज गर्दासमेत मन्त्री पदमा बहाल रहेका थिए । त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बलबहादुर महतको जिल्ला भ्रमण खर्च भन्दै उनका आफन्त नृपेन्द्र महतका नाममा भुक्तानी पाउने गरी एक लाख ४९ हजार चार सय ७५ रुपैयाँको बिल पेस भएको छ । महत एमालेका नेता हुन् ।

शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकालको जिल्ला भ्रमण खर्च जितेन्द्र श्रेष्ठले भुक्तानी पाउने गरी एक लाख २९ हजार आठ सय १५ रुपैयाँ बिल पेस गरेका छन् । ढकालको परिवार दलबाट संसद्मा दुई जना सांसद रहेका छन् । ओलीलाई थैली बुझाएर मन्त्री भएको चर्चा चलेका ढकाल पनि मन्त्री भएर राज्यकोषको रकम दुरुपयोग गर्दै देश दर्शन गर्ने मन्त्रीका रूपमा परिचित थिए । 

वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटाको जिल्ला भ्रमण खर्च सहयोगी चिरञ्जीवी कट्टेलले पाउने गरी ६७ हजार दुई सय ५० रुपैयाँ र ओली सरकारका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको चितवन जिल्ला भ्रमण खर्चबापत सहयोगी दामोदर वाग्लेका नाममा भुक्तानी पाउने गरी २६ हजार ६ सय ७० रुपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा बिहीबार पेस भएको छ ।

 

]]>