देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा मन्त्री छान्न हम्मे हम्मे, पौडेलले खोजे सम्मानजनक हैसियत

देशान्तर

काठमाडौं । सरकारमा को को मन्त्री हुने विषयलाई लिएर सत्ताको सहयात्रामा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र दुवै दलमा तीव्र असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रमा आकांक्षी धेरै भएकाले र कांग्रेसमा सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न समूहलाई व्यवस्थापन गर्न नसक्दा दुवै दलमा असन्तुष्टि चुलिएको हो । नेपाली कांग्रेसमा सरकारमा पठाउने नेताहरूका बारेमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै रामचन्द्र पौडेल पक्षधर नेताहरू आक्रोशित बनेका छन् भने सभापति देउवा समूहमा रहेका नेताहरूसमेत असन्तुष्टि जनाउँदै गोप्य बैठक गर्न थालेका छन् । 

देउवा समूहमा रहेका नेताहरूले पनि वरिष्ठता र अवसरको उपलब्धता विचार नगरी सरकारमा पठाइएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । देउवासँग आफू निकटका नेताहरू गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी र बालकृष्ण खाँण लगायतका नेताहरू पनि असन्तुष्ट देखिएका छन् । त्यसैगरी देउवा समूहमा नै रहेका खुमबहादुर खड्कासमेत असन्तुष्ट बनेका छन् । ‘महाधिवेशन र आफूलाई अप्ठ्यारो परेका बेला आऊ, आऊ भन्ने तर अहिले कुनै भूमिका नदिने’, देउवा निकट एक नेताले भने, ‘यसले राम्रो सन्देश गएको छैन ।’ 

देउवा समूहमा सरकारको नेतृत्व गर्दै पठाएका विमलेन्द्र निधिका बारेमा खासै असहमति नभए पनि अर्का मन्त्री रमेश लेखकलाई भौतिक योजना मन्त्रालयको जिम्मेवारी दिइएकोमा अधिकांश नेताहरू असन्तुष्ट भएका छन् । वार्ताका लागि पनि अरू नेतालाई काम दिइएन र तिनै नेतालाई सरकारमा पठाइएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेको बताइएको छ । ‘जसलाई वार्तामा खटाइयो, उसैलाई छानेर सरकारमा पठाइयो’, देउवा समूहका एक नेताले भने– ‘मिलाएर पठाएको भए पनि राम्रो हुन्थ्यो, त्यो पनि हुन सकेन ।’

देउवा समूहका नेताहरूमध्ये श्रेष्ठ, खड्का र केसीले देउवाले आफूहरूमाथि अन्याय गरेको भन्दै पटकपटक गोप्य बैठक गरेका छन् । स्रोतका अनुसार उनीहरू शनिबार साँझ पनि गोप्य बैठकमा थिए । यी तीननेता खुमबहादुर खड्का, बालकृष्ण खाँडलाई समेत समेटेर सभापति देउवासमक्ष दबाब सिर्जना गर्ने तयारीमा रहेका बताइएको छ । सभापति देउवाको टिमबाट १३ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका अर्जुननरसिंह केसीले भनेजस्तो मन्त्रालय नदिएको भन्दै मन्त्री पदको शपथ खानका लागि अस्वीकार गरे । देउवालाई महाधिवेशनमा सहयोग गरेका कुलबहादुर गुरुङसमेत अहिले सभापति देउवासँग असन्तुष्ट बनेका छन् ।

उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूह सरकारमा सहभागिताका विषयमा पार्टीका कुनै पनि निकायमा छलफल नभएको, विगतमा सिनियर नेताहरू बसेर महत्वपुर्ण निर्णय गर्ने पार्टीको परम्परा सभापति देउवाले मिचेको भन्दै असन्तुष्ट बनेका छन् । पौडेल पक्षका कतिपय नेताले दुई सय सात सिट भएको कांग्रेसले तेस्रो दललाई प्रधानमन्त्री र महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा जाँदा पार्टीकै साख गिरेको आरोप कतिपयले लगाएका छन् । पौडेल पक्षधर नेताहरूले सरकारमा जानेबारेमा सभापतिले कुनै छलफल नै नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सभापति देउवाले पार्टीमा विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन नगरेसम्म सरकारमा सहभागी नहुने सभापति देउवालाई जानकारी दिइसकेका छन् । 

त्यसैगरी सरकारमा सहभागिताका लागि पौडेल समूहले महाधिवेशनमा पाएको मतका आधारमा सम्मानजनक रूपमा मन्त्रालय र मन्त्रालयको संख्या नपाएसम्म सरकारमा सहभागी नहुने स्पष्ट सन्देश सभापति देउवालाई दिइसकेको स्रोतले बतायो । पौडेल समूहको सोही रणनीतिअनुसार नेता डा. शेखर कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उनी पहिलो चरणमा सरकारमा नगएका हुन् । पौडेल निकट मानिएका कांग्रेस सांसद बद्री पाण्डेले सरकारमा पठाउनेबारेमा पार्टीमा कुनै छलफल नभएको बताए । ‘सरकारमा सहभागी हुने विषयमा सभापतिले कुनै छलफल नगरेको र पार्टीलाई एक बनाएर सबैलाई मिलाएर नपठाउँदा अलि असन्तुष्टि देखिएको हो’, पाण्डेले भने । पौडेल समूहका नेता डा. रामशरण महतले कांग्रेस आवश्यकताभन्दा बढी कांग्रेस लचक र उदार भएको भन्दै कांग्रेस नेतृत्व पार्टीभित्र अनुदार अरूप्रति चाहिनेभन्दा बढी उदार भएको देशान्तरसँगको कुराकानीमा आरोप लगाए । 

पार्टीभित्र आन्तरिक सहमति भएमा दोस्रो चरणमा पार्टीका तर्फबाट डा. शेखर कोइराला, बालकृष्ण खाँड, नवीन्द्रराज जोशी, प्रकाशशरण महत, दीपक गिरी, अम्बिका बस्नेत, रामकृष्ण यादव, किरण यादव, जीवनबहादुर शाही, शंकर भण्डारी, धनराज गुरुङ, सुधीर शिवाकोटी, पदमनारायण चौधरी मन्त्री बन्नेछन् । त्यसैगरी अर्जुननरसिंह केसीले मन्त्री बन्नका लागि अस्वीकार गरेपछि नुवाकोटमा सभापति जगदीश्वरनरसिंह केसी क्याबिनेट स्तरको राज्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । यीमध्ये राम्रो र जनसम्पर्क बढी हुने मन्त्रालय नपाएमा बालकृष्ण खाँड पनि मन्त्री बन्नका लागि अस्वीकार गर्ने सम्भावना बढेको बताइन्छ । त्यसैगरी राम्रो र कम्तीमा पाँचवटा मन्त्रालय नदिएसम्म वरिष्ठ नेता पौडेल समूह पनि सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको पौडेल निकट एक नेताले देशान्तरलाई बताए । 

]]>